यो राष्ट्रिय भेलाको मुख्य उद्देश्य देशैभरका संगठनहरूलाई स्थानीय र प्रदेश निर्वाचनमा केन्द्रित गर्नु रहेको छ।
काठमाडौँ — फागुन २१ को निर्वाचनपछि ठूलो हार बेहोरेको एमालेले बुधबारदेखि दुईदिने राष्ट्रिय भेला गर्दैछ। यो राष्ट्रिय भेलाको मुख्य उद्देश्य देशैभरका संगठनहरूलाई स्थानीय र प्रदेश निर्वाचनमा केन्द्रित गर्नु रहेको छ।
यही विषयलाई केन्द्रित गरी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्या भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा बादल र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरी आगामी कार्ययोजना बनाउने तय भएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार यो भेलाले विशेषगरी पार्टीभित्रको अन्तरसंघर्षलाई थाती राखेर स्थानीय र प्रदेश निर्वाचनमा केन्द्रित हुने कार्ययोजना बनाउनेछ। उनका अनुसार यो राष्ट्रिय भेलाको मुख्य उद्देश्य पार्टीको संगठन सुदृढीकरण गरेर स्थानीय र प्रदेश निर्वाचनमा केन्द्रित हुनु हो।
त्यस्तै, एमालेले स्थानीय र प्रदेश निर्वाचनलाई केन्द्रित गरेर भेलामा सहभागी प्रतिनिधिबाट लिखित सुझाव र कार्ययोजना माग गरेको छ।
सरकारले स्थानीय र प्रदेश निर्वाचनको घोषणा गर्न गइरहेको बेला एमालेले राष्ट्रिय भेला गरी निर्वाचनको रणनीति तय गर्न लागेको हो। भेलामा केन्द्रीय कमिटी, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू लगायत वर्गीय संगठनहरूका करिब ३ हजार ४ सय नेता सहभागी हुनेछन्।
गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।