भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको स्तरोन्नतिका लागि बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन् ।
सुर्खेत — कर्णाली करिडोरअन्तर्गत खुलालु-सलिसल्ला सडकखण्डको ४१ किलोमिटर स्तरोन्नति तथा निर्माणका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता भएको छ । बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृत नहुँदा रोकिएको यस खण्डको काम अघि बढाउन हालै ठेक्का सम्झौता गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको स्तरोन्नतिका लागि बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन् । उनका अनुसार खुलालु सलिसल्ला सडकखण्डलाई ३ भागमा विभाजन गरेर निर्माण तथा स्तरोन्नति गरिनेछ ।
ठेक्का सम्झौताअनुसार तुम्चादेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति हुनेछ । मन्त्री लम्सालले कर्णाली प्रदेशको महत्त्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा रहेको कर्णाली करिडोरको निर्माण तथा स्तरोन्नतिलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।