चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हो ।
चालुगत शीर्षकमा यस आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको २७.२९ प्रतिशत अर्थात् ३ खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख बराबर विनियोजन भएको ७.५३ प्रतिशतअर्थात् ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा यस वर्ष ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा २७.७६ प्रतिशत अर्थात् १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ ।
सरकारले यस वर्ष १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा वार्षिक लक्ष्यको २३.३९ प्रतिशत अर्थात् ३ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ प्राप्ति गरेको छ । कूल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकसम्ममा २३.५८ प्रतिशत अर्थात् ३ खर्ब ७२ अर्ब ७१ करोड ८० लाख बराबर राजस्व उठाउन सफल भएको छ ।
वैदेशिक अनुदानतर्फ यस वर्ष ६१ अर्ब ७४ करोड ५४ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा १४.५ प्रतिशत अर्थात् ८ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिएको छ ।