घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष घाटको अनुमानित खर्च २६ लाख २१ हजार रुपैयाँ रहनेछ ।
पर्सा — वीरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले यस वर्ष छठ घाटको व्यवस्थापनमा मात्र २६ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ ।
समितिले शनिबार घाटमै पत्रकार सम्मेलन गरेर यस वर्षको व्यवस्थापन खर्चबारे जानकारी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राकेश साह कानुले खर्चको व्यवस्थापन टिकट बिक्री, विज्ञापन, व्यक्तिगत सहयोग तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगबाट हुने बताए ।
समितिका अनुसार यस वर्ष घाटको अनुमानित खर्च २६ लाख २१ हजार रुपैयाँ रहनेछ । टेन्ट, पण्डाल, सजावट, बत्ती, साउन्ड, फूलमाला तथा कार्पेट व्यवस्थापनमा सबैभन्दा बढी १२ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
त्यसैगरी पुरस्कार वितरण, अतिथि सत्कार, सरसफाइ, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, भिडियोग्राफी तथा अन्य व्यवस्थापनसम्बन्धी शीर्षकमा पनि बजेट विनियोजन गरिएको समितिले जनाएको छ । अनुमानित आय र खर्चको आधारमा ८४ हजार ९ सय ६० रुपैयाँ बचत रहने समितिको प्रक्षेपण छ ।
घडिअर्वा स्पोर्ट्स क्लब वीरगन्जको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छठ पूजा व्यवस्थापन समितिले यस वर्ष पनि पर्वलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेको साहले बताए ।
घडिअर्वा छठ घाटको छठ पूजा देशकै सर्वाधिक चर्चित हुने गरेको छ ।
यस वर्ष आइतबार साँझ सझिया घाट र सोमबार बिहान बिहनिया घाट परेको छ । दुवै साँझ र बिहान गरी करिब १० लाख व्रतालु तथा भक्तजन यो घाटमा आइपुग्ने अनुमान गरिएको छ ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।