संसदीय सुनुवाईबाट अनुमोदन हुँदै राष्ट्रपतिबाट नियुक्ती पाएका ४ न्यायाधीशले मंगलबार इजलासमा बसेर मुद्दाको सुनुवाई गरेसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको छ ।
काठमाडौं — सर्वोच्च अदालतमा थपिएका ४ न्यायाधीशले मंगलबारदेखि काम सुरु गरेका छन् । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्त गरेका थिए ।
लामो समयपछि सर्वोच्च अदालत २० न्यायाधीश भएका छन् । संसदीय सुनुवाईबाट अनुमोदन हुँदै राष्ट्रपतिबाट नियुक्ती पाएका ४ न्यायाधीशले मंगलबार इजलासमा बसेर मुद्दाको सुनुवाई गरेसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको हो ।
अझै पनि सर्वोच्चमा एक पद रिक्त छ । विनोद शर्माले कात्तिकको पहिलो साता अवकाश पाएका थिए । सर्वोच्चमा लामो समयदेखि ४ न्यायाधीशको पद रिक्त थियो ।
मंगलबार नयाँ न्यायाधीशसहित १० वटा इजलास तोकिएको थियो । गोलाबाट तोकिएको इजलासमा ३९५ थान मुद्दा पेसी तोकिएको थियो । गोलाबाट तोकिएको पेसीमा नवनियुक्त र पुराना न्यायाधीशहरू मिश्रित इजलास गठन भएको थियो । त्यस्तै 'फिक्सर' इनम सापकोटासँगको विवादपछि बिदामा बसेका न्यायाधीश हरिप्रसाद फुयाँल पनि मंगलबारदेखि नियमित काममा फर्केका छन् । फुयाँल र गोकर्ण डाँगीको इजलास गठन भएको थियो । त्यस्तै प्रधानन्यायाधीश मनोजकुमार शर्माले पनि इजलास लिएका छन् । शर्मा र रत्नबहादुर बागचन्दको इजलास गठन भएको थियो ।
सर्वोच्च अदालतका करिब २९ हजार मुद्दा विचाराधीन छन् । दर्ता हुने क्रम दैनिक रुपमा बढिरहेकाले जनताका मुद्दा धेरै 'व्याकलग' भएको सर्वोच्च आफैले स्वीकार गर्दै आएको छ ।