अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने सङ्केत दिएका छन्।
सोमबार फिलिपिन्स र चीनको पूर्वी एसियाली भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा पत्रकारहरूसँग बोल्दै ट्रम्पले उक्त घोषणा गरेका हुन् । जसले उनको एसिया भ्रमणको कूटनीतिक समीकरणलाई नाटकीय रूपमा बदल्न सक्ने देखिएको छ।
यद्यपि, उत्तर कोरियाली नेता चीन आउने वा नआउने भन्ने अन्तिम निर्णय चिनियाँ राष्ट्रपति सी चिनफिङको हातमा रहेको ट्रम्पले स्पष्ट पारेका छन्।
उनले भने, ‘हामी किम जोङ उनसँग पनि भेट्न सक्छौँ। त्यसैले त्यो राम्रो हुनेछ। हामीसँग धेरै उपलब्धि हासिल गर्ने अवसर छ।’
किमको उपस्थितिको सम्भावनाबारे सोध्दा ट्रम्पले थपे, ‘उनी आउन सक्छन्। मलाई थाहा छैन। त्यो राष्ट्रपति सीको निर्णयमा भर पर्छ।’
चीनको प्रविधि सहर सेन्जेनमा नोभेम्बर १८ र १९ मा आयोजना हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा ट्रम्प, सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच ऐतिहासिक त्रिपक्षीय शिखर भेटवार्ता तय भएको छ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले सोमबार पुटिन, ट्रम्प र सीबिचको योजनाबद्ध बैठकले विश्व मामिलामा ठूलो प्रभाव पार्ने बताएको छ। रुसी समाचार एजेन्सी ‘इन्टरफ्याक्स’ का अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यदि किम जोङ उन चीन आएमा राष्ट्रपति पुटिनले पनि उनीसँग भेटवार्ता गर्न सक्ने बताएका छन्।
ट्रम्पले सी र पुटिनसँग आणविक निशस्त्रीकरण, इरान र युक्रेन युद्धका साथै व्यापार र अर्थतन्त्रका विषयमा छलफल गर्ने बताएका छन्। यद्यपि, अमेरिकी अधिकारी र विश्लेषकहरूले भने उक्त बैठकबाट कुनै ठोस सम्झौता निस्कने सम्भावनालाई कम आकलन गरेका छन्।
ट्रम्पको टिप्पणीबारे संयुक्त राष्ट्रसङ्घस्थित उत्तर कोरियाली नियोगले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। प्योङयाङले हालैका साताहरूमा अमेरिकासँग तत्काल वार्ताको आवश्यकता नरहेको बताउँदै अमेरिकी नीतिहरूको आलोचना गर्दै आएको थियो।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किम जोङ उनसँग तीनपटक ऐतिहासिक प्रत्यक्ष भेटवार्ता गरेका थिए। तर, उत्तर कोरियाको आणविक हतियार कार्यक्रम र आर्थिक प्रतिबन्ध फुकुवा गर्ने विषयमा सहमति जुट्न नसक्दा सात वर्षअघिको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो।
त्यसयताका सात वर्षमा उत्तर कोरियाली प्रायद्वीप र विश्व भूराजनीतिमा ठूलो परिवर्तन आइसकेको छ। सन् २०१९ मा सीमित परीक्षण र वार्ताको चरणमा रहेको उत्तर कोरियाले हाल दर्जनौँ आणविक वारहेड र अन्तरमहादेशीय क्षेप्यास्त्रहरूको क्षमता तीव्र रूपमा विस्तार गरिसकेको छ।
यसैगरी, सन् २०१९ मा रुससँग सामान्य कूटनीतिक सम्बन्ध मात्र राखेको प्योङयाङले अहिले मस्कोसँग गहिरो सैन्य साझेदारी कायम गरेको छ। सन् २०२४ यता युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले करिब १४ हजार देखि १५ हजार सैनिकहरू परिचालन गरिसकेको छ।
विगतमा अमेरिकाले उत्तर कोरियालाई आणविक राष्ट्रका रूपमा अस्वीकार गर्दै आएको थियो । तर पछिल्लो समय मा पछिल्लो समय ट्रम्प स्वयम्ले उत्तर कोरियालाई ‘आणविक शक्ति’ भनी उल्लेख गरेपछि दक्षिण कोरिया र जापान लगायतका क्षेत्रीय सहयोगी राष्ट्रहरू सशङ्कित बनेका छन्।