केही दिनअघि मात्रै अमेरिकी अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि समस्याहरू देखिएका थिए । बिहीबार माइक्रोसफ्टका सेवाहरु प्रभावित भएका थिए भने शुक्रबार देशको हवाइ ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको समस्या पूर्ण रुपमा समाधान हुन आइतबारसम्म लागेको थियो
न्युयोर्क — अमेरिकामा सोमबार हजारौं प्रयोगकर्ताहरुले आफ्नो बैंकको अनलाइन खातामा सञ्चालन गर्न कठिनाई व्यहोर्नुपर्को गुनासो गरेका छन् । मनी ट्रान्सफर सेवा जेली र धेरैवटा प्रमुख बैंकका ग्राहकहरुले यस्तो गुनासो गरेका हुन् ।
एटिएममा पनि अवरोध देखिएको गुनासो केही ग्राहकहरुले गरेका छन् ।
अमेरिकी बैंक जेपी मोर्गन चेजले आफ्नो सर्भरमा देखिएको प्राविधिक गडबडीका कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ । यो समस्या साइबर आक्रमणका कारण नभएको दाबी पनि गरेको छ । बैंकले सोमबार रातिसम्म बैंकिङ सेवाहरूलाई पूर्ण रूपमा सुचारू गर्नेगरी काम भइरहेको बताएको छ।
बैंकका प्रवक्ता जो इभान्जेलिस्टीले भने, 'जेपिएमर्ग चेजमा अन-प्रिमाइसेस हार्डवेयर प्रणालीभित्रको सफ्टवेयर बगसँग सम्बन्धित अस्थायी समस्या हो । यो साइबरसँग जोडिएको छैन।'
यो अवरोध आउनु भन्दा केही दिन अघि मात्रै अमेरिकी अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि समस्याहरू देखिएका थिए । बिहीबार माइक्रोसफ्टमा आएको ठूलो आउटेजले आउटलुक, टिम्स र एआई सहायक कोपाइलट जस्ता सेवाहरू प्रभावित पारेको थियो ।
त्यस्तै, शुक्रबार देशको हवाइ ट्राफिक नियन्त्रण प्रणालीमा आएको समस्याले गर्दा केही घण्टाका लागि सबै अमेरिकी उडानहरू रोकिएका थिए । यसले शनिबार र आइतबार पनि देशैभर हवाई यात्रामा अवरोध पुगेको थियो।
जसकारण स्थानीयहरुले शृंखलावद्ध साइबर आक्रमण भएको हुनसक्ने शंका गरेका छन् । इभान्जेलिस्टी भन्छन्, 'यो प्राविधिक समस्यामात्रै हो । कुनै प्रणालीगत समस्या वा आक्रमण होइन । हामीसँग कुनै न कुनै रुपमा जोडिएका बैंकहरु मात्रै यसबाट प्रभावित भएका हुन् ।'
सोमबारको प्राविधिक समस्या मुख्यतया चेजका आफ्ना ग्राहकहरू र चेजसँग कारोबार गर्न खोज्ने अन्य बैंकका ग्राहकहरूमा मात्र केन्द्रित रहेको देखिन्थ्यो । बैंक अफ अमेरिका र सिटी ग्रुपलगायतका अन्य बैंकहरूको आफ्नै बैंकिङ सेवाहरूमा भने कुनै समस्या आएको थिएन।
यू.एस. बैंकका प्रवक्ताले उनीहरूको प्रणालीमा प्रत्यक्ष प्रभाव नपरेको बताए । तर, मनि ट्रान्सफर जेलीमार्फत पैसा पठाउन वा प्राप्त गर्न खोज्ने ग्राहकहरुले कारोबारमा केही ढिलाइ महसुस गर्न सक्ने जानकारी दिए ।
जेली पियर-टु-पियर भुक्तानी प्रणाली हो । अमेरिकामा आफ्ना साथीभाई वा परिवारलाई तुरुन्तै पैसा पठाउनुपरेमा यसको प्रयोग गरिन्छ । जेलेको स्वामित्व एरिजोनास्थित अर्ली वार्निङ सर्भिसेजसँग छ ।
अनि, अर्ली वार्निङ सर्भिसेजको स्वामित्व जेपी मोर्गन चेज, बैंक अफ अमेरिका, क्यापिटल वन,पीएनसी बैंक, ट्रुइस्ट, यू.एस. बैंक र वेल्स फार्गो जस्ता वित्तीय संस्थाहरूसँग छ ।
अर्ली वार्निङ सर्भिसेजका प्रवक्ताले जेले नेटवर्क पूर्ण रूपमा सञ्चालनमा रहेको दाबी गरेका छन् । प्रवक्ताले भने, 'वित्तीय संस्थाहरूमा देखिएको समस्याका कारण केही ग्राहकहरूको जेले भुक्तानीमा ढिलाइ भएको हुन सक्छ। तर यो सञ्चालनमै छ ।'
सोमबार जेपी मोर्गन चेजका केही ग्राहकहरुले यस्तो सन्देश प्राप्त गरेका थिए, 'केही सेवाहरू उपलब्ध छैनन्। हामी यसमा काम गरिरहेछौं। कृपया पछि फेरि प्रयास गर्नुहोस्।'