समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको र इन्टेरियरको काम बाँकी रहेकाले पुससम्म सबै निर्माण कार्य सकिने सहरी विकास तथा भवन निर्माण विभागको दाबी छ ।
सिंहदरबार परिसरमा संसद् भवन निर्माण थालेको सात वर्ष भयो । यस अवधिमा पटक–पटक गरी ६ पटकसम्म म्याद थपिएको छ । तर काम अझै सकिएको छैन । सरकारले आउँदो हिउँदे अधिवेशन यहाँको नयाँ सभाकक्षबाट चलाउने तयारी गरिरहे पनि निश्चित भने छैन । तर सरकारी अधिकारी भने संसद्को हिउँदे अधिवेशन नयाँ सभाकक्षमा चलाउने दाबी गरिरहेका छन् । नयाँ संसद् भवनको प्रतिनिधिसभाको कक्ष तयार गरिएको विशेष भवन निर्माण आयोजनाले बताएको छ ।
सभाकक्षमा प्राविधिक परीक्षणको काम बाँकी छ । तत्कालका लागि प्रतिनिधिसभा कक्ष मात्र चलाउने गरी काम भएको विशेष भवन निर्माण आयोजनाका प्रमुख रोशन श्रेष्ठले जनाए । ‘प्रतिनिधिसभा कक्षको काम सकिएको छ, राष्ट्रिय सभा कक्षको काम अझै बाँकी छ,’ उनले भने । समग्र भवन निर्माणको काम सकिसकेको छ । त्यसमा फिनिसिङ अर्थात् इन्टेरियरको काम मात्र बाँकी रहेको उनको भनाइ छ ।
‘दसैं–तिहारले काम राम्रोसँग हुन सकेन, इन्टेरियरका कतिपय सामान चीनबाट ल्याउनुपर्ने भए पनि नाका बन्द भएर समस्या भयो,’ प्रमुख श्रेष्ठले भने, ‘जसले गर्दा काममा केही ढिलाइ भएको हो, अहिलेसम्म समग्र निर्माण प्रगति ९५ प्रतिशत छ ।’ बहुउद्देश्यीय हलमा अहिले संसद् बैठक चलाइएको छ । तर साँघुरो भएका कारण बैठक चलाउन असहज भएको संघीय संसद् सचिवालयको भनाइ छ ।
प्रतिनिधिसभा कक्ष तयार भएको जानकारी पाए पनि त्यहाँ प्राविधिक पक्षको परीक्षण गर्न बाँकी नै रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए । ‘सभाको बैठक चल्दा प्रत्यक्ष प्रसारण हुन्छ । त्यसका लागि अडियो, भिडियो कन्फ्रेन्स प्रणालीको परीक्षण गर्नै छ,’ उनले भने, ‘त्यसमा समस्या आउँछ/आउँदैन पहिल्यै हेर्नुपर्छ ।’ सभाकक्ष तयार भएर हस्तान्तरण भइनसकेकाले प्राविधिक परीक्षण हुन नसकेको हो ।
सभाकक्ष संसद् सचिवालयलाई हस्तान्तरण भइनसकेकाले हिउँदे अधिवेशन यहाँ सञ्चालन हुनेमा संसद् सचिवालय आश्वस्त भने छैन । नयाँ कक्षबाटै हिउँदे अधिवेशन सञ्चालन गर्ने लक्ष्य रहेको गिरीको भनाइ छ । ‘तर सभाकक्ष प्रवेश गर्ने ठाउँमा अझै पनि काम भइरहेको छ, जसले गर्दा समग्र संसद् भवनको काम सकिन समय लाग्ने देखिन्छ,’ गिरीले भने, ‘मंसिर दोस्रो साताबाट बैठक चलाउन संसद् सचिवालय तयार छ ।’ नयाँ सभाकक्ष प्राप्त भए त्यसको परीक्षण गरेर संसद् बैठक चलाउन समस्या नहुने उनले जनाए ।
२०७९ को निर्वाचनबाट गठन हुने प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने लक्ष्यसाथ १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का लगाइएको थियो । तर २०८२ को चुनावबाट नयाँ प्रतिनिधिसभा गठन हुँदासम्म पनि भवन तयार नभएपछि बहुउद्देश्यीय हललाई हतार–हतार गरेर बैठक सञ्चालन गरिएको हो । राष्ट्रिय सभा बैठक पनि नयाँ सभाकक्ष तयार नहुँदा कृषि समितिको पुरानो हलमा चलाइएको छ ।
राष्ट्रिय सभाअन्तर्गत चार वटा, प्रतिनिधिसभाअन्तर्गत १० र दुई वटा संयुक्त समिति छन् । अहिले हल पर्याप्त नहुँदा समितिको बैठक चलाउन समस्या हुने गरेको थियो । संसद् भवन निर्माण ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा सक्ने गरी तुन्दी–सेक जेभीले ठेक्का लिएको हो । सुरुको म्याद १६ असोज २०७९ सम्म थियो । काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । दोस्रो पटक १९ असोज २०८० सम्म, तेस्रो पटक १९ चैत २०८०, चौथो पटक १८ चैत २०८१ र पाँचौं पटक १६ पुस २०८२ सम्म म्याद थपियो । यो बेला पनि काम नसकिएपछि आगामी फागुनसम्म म्याद थप गरिएको छ ।
‘इन्टेरियर’ को ठेक्का केसी–श्यामसुन्दर–बानियाँ जेभीले लिएको हो । यसको ठेक्का रकम २ अर्ब ३४ करोड ५४ लाख छ । असार २०८१ भित्र सक्ने गरी १७ असार २०८० मा यसको सम्झौता भएको थियो । तर काम नसकिएर १६ चैत २०८१ सम्म म्याद पुर्याइयो । फेरि पनि काम नसकिएपछि दोस्रो पटक १६ पुस २०८२ सम्म म्याद थपियो । यस अवधिमा पनि काम नसकिएपछि तेस्रो पटक वैशाख २०८३ सम्म म्याद थपियो । अहिले चौथो पटक वैशाख २०८४ सम्म म्याद थप गरिएको छ ।
सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण गरिएको हो । नयाँ भवन पाँच तलासम्मका छन् । त्यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय र संग्रहालय तयार गरिराखिएको छ । संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसद् सचिवालय भवन, चमेना गृह, प्रेस र छपाइ भवन छुट्टै बनाइएका छन् । ४ सय ७६ वटा चारपांग्रे र आठ सय वटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्ने गरी पूर्वाधार तयार भइसकेको छ । सुरक्षाकर्मी बस्ने भवन पनि तयार गरिएको छ ।
‘रुफिङ’ को छुट्टै ठेक्का चेनलिंक इन्जिनियरिङ कम्पनीले ३ करोड ७९ लाख रुपैयाँमा लिएको थियो । २७ फागुन २०८० मा ठेक्का भए पनि अहिलेसम्म काम सकिएको छैन । काम नसकिएपछि यसको पनि वैशाख २०८४ सम्म म्याद थपिएको छ । हिउँदे अधिवेशन सञ्चालन गर्न प्रतिनिधिसभा कक्ष तयार पार्न सभामुख डोलप्रसाद अर्यालबाट निर्देशन भइसकेको र निर्माणको कामलाई पनि थप तीव्रता दिइएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारीको दाबी छ ।
‘आउँदो पुससम्म भवनको सबै काम सक्ने योजना छ,’ भण्डारीले भने, ‘अहिले इन्टेरियरको कामसँगै सुरक्षा प्रणालीको काम पनि भइरहेको छ ।’ इन्टेरियरको ठेक्का पछि लगाइएकाले काम सक्न केही ढिलाइ भएको उनले सुनाए ।
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।