चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था निकै कमजोर बन्न पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीको खुद नाफा १ अर्ब भन्दा बढीले ऋणात्मक अवस्थामा पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही सुधार भए पनि निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्थामा सुधार हुन नसकेको देखिएको हो । चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार १४ निर्जीवन बीमा कम्पनीको खुद नोक्सानी १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूको कुल खुद घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो । पछिल्ला वर्षहरुमा लगातार रुपमा भएका ठूला प्राकृतिक विपत्ती तथा मानविय ध्वशंका कारण निर्जीवन बीमा कम्पनीको नाफामा ठूलो असर परेको छ । १४ वटा कम्पनीहरु मध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा ८ वटा कम्पनी नोक्सानीमा रहेका छन् भने अरु ६ वटा कम्पनीमध्ये पाँचवटा घाटाबाट नाफामा पुगेका छन् भने एउटाको नाफा घटे पनि धनात्मक अवस्था छ ।
गत वर्षको जेनजी युवा आन्दोलनका कारण उत्पन्न चुनौतीबाट उठ्न नपाउँदै भदौ १० गते भोटेकोशी बाढीको मार खेपेका निर्जीवन बीमा कम्पनीहरु अवस्था थप चुनौतिपूर्ण बन्दै गएको हो । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा कम्पनीगत रुपमा हेर्दा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी ९ करोड ९५ लाख ९ हजार रुपैयाँले घाटामा रहेको थियो । यो कम्पनी चालु आर्थिक वर्षको तीन महिनामा उल्लेख्य सुधार गरेर घाटाबाट नाफामा जान सफल भएको छ ।
त्यस्तै, समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सले ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनी ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफामा रहेको थियो । समीक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनी पनि घाटाबाट नाफामा फकिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिसम्ममा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यो कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँले घाटामा रहेको थियो । यसैगरी, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यस्तै यो अवधिमा नेशनल इन्स्योरेन्सको नाफामा भने भारी गिरावट आएको छ । गत वर्षको असोजसम्म ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । अर्कोतर्फ, ८ कम्पनीको नाफा ऋणात्मक रहेको छ । युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ, नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख ५६ हजार, नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख २ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २० करोड ९८ लाख ३२ हजार रुपैयाँले घाटामा रहेका छन् ।
सानिमा जिआईसी इन्स्योरेन्सको घाटा बढेर २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनी २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा थियो । त्यसैगरी, द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ । सबैभन्दा कमजोर वित्तीय अवस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सको देखिएको छ । गत वर्षको असोजसम्म १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ ।