काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जनमा पनि उल्लेख्य वृद्धि भएको छ। कम्पनीले पहिलो तीन महिनामा १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन ८२ करोड २१ लाख रुपैयाँ थियो। यस आधारमा कम्पनीको कुल बीमाशुल्क आर्जन करिब ४२.८३ प्रतिशतले बढेको छ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १७ करोड ५७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन बढेर यस वर्ष २१ करोड १० लाख रुपैयाँ पुगेको छ। यो करिब २०.०९ प्रतिशतको वृद्धि हो।
कम्पनीको चुक्तापूँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड १२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६३ लाख रुपैयाँ रहेको छ।
त्यस्तै कम्पनीको सञ्चित नाफा २ करोड १ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो रकम १ करोड १७ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ५० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।
बीमाशुल्क आर्जनमा भएको विस्तारसँगै कम्पनीको वित्तीय प्रदर्शनमा सुधार देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा घाटामा रहेको कम्पनीले यस वर्ष नाफा आर्जन गर्न सफल भएको हो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।