महिलाको तल्लो पेट अचानक ठूलो देखिनु सधैँ तौल बढेकै कारण हुँदैन । महिनावारीका बेला हुने हार्मोनल परिवर्तन, ग्यास्ट्रिक, कब्जियतदेखि पाठेघरमा फाइब्राइड वा अण्डाशयमा सिस्ट पलाउँदासम्मले पेटको तल्लो भाग फुल्न सक्छ ।
कहिलेकाहीँ यो अण्डाशयको क्यान्सरको संकेत पनि हुन सक्छ ।
महिलामा पेटको तल्लो भाग अर्थात् नाइटोमुनिको क्षेत्र केही समयदेखि ठूलो देखिने वा अचानक फुल्ने समस्या हुन सक्छ । कतिपयले यसलाई मोटोपन ठान्छन् भने कतिपयले सामान्य ग्यास्ट्रिकको समस्या सम्झेर बेवास्ता गर्छन् ।
तर, पेटको तल्लो भाग बढ्नुको कारण सधैँ बोसो जम्नु वा तौल बढ्नु मात्र हुँदैन । शरीरमा हुने हार्मोनल परिवर्तनदेखि प्रजनन् अंगमा देखिने विभिन्न समस्याले पनि यस्तो हुन सक्छ ।
त्यसैले, पेटको तल्लो भाग किन फुलिरहेको छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ ।
के कारणले महिलाको तल्लो पेट अचानक ठूलो देखिन्छ ?
महिनावारी हुनुअघि र महिनावारीका बेला महिलाको शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको स्तरमा उतारचढाव हुन्छ । यस्तो परिवर्तनले शरीरमा पानी जम्मा हुने प्रक्रिया अर्थात् ‘वाटर रिटेन्सन’ गराउन सक्छ ।
जसका कारण पेटको तल्लो भाग फुलेको वा भारी भएको महसुस हुन्छ ।
हार्मोनल परिवर्तनले पाचन प्रक्रियामा समेत असर पार्न सक्छ । त्यसैले, महिनावारीको आसपास पेट फुल्ने, ग्यास हुने वा पेट भारी महसुस हुने समस्या देखिन सक्छ ।
२. अण्डाशयमा सिस्ट वा पाठेघरमा फाइब्राइड
महिलाको तल्लो पेट ठूलो देखिनुको अर्को कारण अण्डाशयमा सिस्ट वा पाठेघरमा फाइब्राइड हुनु हो ।
अण्डाशयमा तरल पदार्थ भरिएको थैलीजस्तो संरचना बन्नुलाई ‘ओभेरियन सिस्ट’ भनिन्छ । अधिकांश सिस्ट हानिकारक हुँदैनन् र आफैँ हराउन पनि सक्छन् ।
तर, सिस्टको आकार ठूलो भएमा पेट फुल्ने, तल्लो पेटमा भारीपन हुने र असहज महसुस हुने समस्या हुन सक्छ ।
त्यस्तै, पाठेघरमा बन्ने क्यान्सररहित गाँठोलाई फाइब्राइड भनिन्छ । यसको आकार ठूलो भएमा पेटको तल्लो भाग बाहिर निस्किएजस्तो देखिन सक्छ ।
यसका साथै अत्यधिक महिनावारी हुने, अनियमित रक्तस्राव हुने र पेल्भिक क्षेत्रमा दबाब महसुस हुने समस्या पनि देखिन सक्छ ।
३. ग्यास्ट्रिक, कब्जियत र पाचनसम्बन्धी समस्या
पेटमा अत्यधिक ग्यास जम्मा हुनु, कब्जियत हुनु वा केही खानेकुरा पचाउन नसक्नुले पनि तल्लो पेट फुल्न सक्छ ।
छिटोछिटो खाना खाने, प्रशोधित खानेकुरा बढी खाने, पर्याप्त पानी नपिउने र खानामा रेसादार खानेकुराको कमी हुँदा पाचनसम्बन्धी समस्या हुन सक्छ ।
यस्तो अवस्थामा पेट कहिले बढी फुल्ने त कहिले सामान्य अवस्थामा फर्किने हुन्छ । विशेषगरी बिहानको तुलनामा साँझ पेट बढी फुलेको महसुस हुन सक्छ ।
इन्डोमेट्रियोसिस महिलामा देखिने प्रजनन स्वास्थ्यसम्बन्धी समस्या हो । यस अवस्थामा पाठेघरको भित्री तहमा हुने तन्तुजस्तै तन्तु पाठेघरबाहिरका अन्य भागमा पनि बढ्न थाल्छन् ।
यसले तल्लो पेट तथा पेल्भिक क्षेत्रमा दुखाइ, महिनावारी हुँदा अत्यधिक पीडा र पेट फुल्ने समस्या निम्त्याउन सक्छ । कतिपय महिलामा यस्तो समस्याका कारण पेट असामान्य रूपमा फुलेको देखिन्छ । यसलाई ‘इन्डो बेली’ पनि भनिन्छ ।
यस्ता लक्षण बारम्बार देखिएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
यससम्बन्धि केहि अध्ययन पनि भएका छन् । सन् २०१२ मा आइएसआरएन अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजीमा प्रकाशित एक अध्ययनले पेट फुल्ने समस्याका विभिन्न कारण औँल्याएको छ ।
अध्ययनअनुसार पेटको मांसपेशी र डायाफ्रामबीचको तालमेल बिग्रिनु, आन्द्रामा तरल पदार्थ जम्मा हुनु, कब्जियत र आन्द्राको गति सुस्त हुनु पेट फुल्ने कारण हुन सक्छन् ।
त्यस्तै, महिनावारीअघि हुने हार्मोनल परिवर्तन, पेट वरिपरि बोसो जम्नु र पेटका मांसपेशी कमजोर हुनुले पनि पेट बाहिर निस्किएको जस्तो देखिन सक्छ ।
पेट फुल्नु सामान्य समस्या पनि हुन सक्छ । तर, तल्लो पेट अचानक ठूलो देखिन थालेको छ वा लामो समयसम्म फुलिरहन्छ भने त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन ।
विशेषगरी पेट फुल्नेसँगै निम्न लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ :
– पेल्भिक अर्थात् तल्लो पेटमा लगातार दुखाइ वा भारीपन हुनु ।
– थोरै खाना खाँदा पनि पेट भरिएको महसुस हुनु ।
– महिनावारीबाहेक अन्य समयमा योनीबाट रक्तस्राव हुनु ।
यी लक्षण अण्डाशयको क्यान्सरसहित अन्य स्वास्थ्य समस्यामा पनि देखिन सक्छन् । तर, यस्ता लक्षण हुँदैमा क्यान्सर नै भएको भन्ने हुँदैन ।
पेट फुल्नुको कारण पत्ता लगाउन चिकित्सकले लक्षण र स्वास्थ्य अवस्थाका आधारमा पेल्भिक परीक्षण, अल्ट्रासाउन्ड तथा आवश्यक अन्य जाँच गर्न सल्लाह दिन सक्छन् ।
त्यसैले, पेटको तल्लो भाग अचानक बढ्दै गएको छ भने त्यसलाई मोटोपन वा ग्यास्ट्रिकको समस्या मात्रै ठानेर बस्नु हुँदैन ।
विशेषगरी समस्या निरन्तर रहिरहेमा वा अन्य असामान्य लक्षण पनि देखिएमा समयमै स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।