प्रधानमन्त्रीको सचिवालयका पाँच जना सदस्यलाई सहसचिव सरहको सेवासुविधासहित विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसचिव सरहको सेवा सुविधासहित उपसंयोजक तोकिएको छ ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले सचिवालय सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । सहसचिव सरहका सचिवालय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
पाँच जनालाई विभिन्न क्षेत्रका संयोजक र पाँच जनालाई उपसंयोजक तोकिएको छ । यसअघि भने संयोजक र उपसंयोजक तोकिएको थिएन ।
सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई विकास परियोजना हेर्ने जिम्मेवारी दिइएको थियो ।
सन्तोष गिरीलाई अन्तर निकाय समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई कार्यक्रम तथा भ्रमण संयोजकको जिम्मेवारी दिइएको थियो ।
विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । उनको सचिवालयमा बढुवा भएको हो । यसअघि उपसचिव सरहको सचिवालय सदस्यका रूपमा कार्यरत उनलाई सहसचिव सरहको सचिवालय सदस्य बनाएर संयोजकको जिम्मेवगारी दिइएको हो ।
दिपा दाहाललाई मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी तोकिएको छ । यसअघि प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारी पाएकी दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको हो । यसपटक अनुसन्धान विज्ञ कसैलाई तोकिएको छैन भने दाहाललाई पनि उक्त जिम्मेवारी दिइएको छैन ।
विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि उनले प्रधानमन्त्रीको सचिवालयमा सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका थिए ।
पाँच जनालाई उपसचिव सरहको सेवा सुविधा पाउने गरी विभिन्न क्षेत्रका उपसंयोजकको जिम्मेवारी तोकिएको छ । सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारी सामाजिक विकास समन्वय, प्रकृति ढकाल स्वास्थ्य समन्वय, विनय शाक्य संस्कृति तथा सम्पदा समन्वय र दिपकप्रसाद ओली नीति मस्यौदा अध्ययन उपसंयोजक बनेका छन् ।
यसअघि सूचना प्रविधि विज्ञका रूपमा सहसचिव सरहको सेवा सुविधा पाउने गरी नियुक्त गरिएका सचिवालय सदस्य माधव खनाललाई भने हटाइएको छ । उनको नाम प्रधानमन्त्रीको सचिवालय सदस्यको सूचीमा छैन ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार हालसम्मको कामको समीक्षा गरेर जिम्मेवारी हेरफेर गरिएको हो । 'प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएयताको सचिवालयका सदस्यहरूको पर्फर्मेन्सको आधारमा नयाँ जिम्मेवारी तोकिएको हो । यसमा ठूलो परिवर्तन छैन, केहीलाई जिम्मेवारी थपेर बढुवा गरिएको छ भने केहीलाई बढी भएको जिम्मेवारीबाट मुक्त गरिएको छ,' ती सदस्यले भने, 'सचिवालयमा कामका आधारमा जिम्मेवारी हेरफेर सामान्य हो ।'
प्रधानमन्त्रीको मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन) नै कायम छन् । उनी मन्त्री सहरको सल्लाहकार भए पनि अवैतनिक हुन् । राजनीतिक सल्लाहकारमा असिम शाह यथावत छन् । त्यस्तै, मन्त्री सरहकै स्वास्थ्य सल्लाहकारमा प्राडा जगदीशप्रसाद अग्रवाल कार्यरत छन् । उनी पनि अवैतनिक हुन् ।
राज्यमन्त्रीसरहको सल्लाहकारमा सुदीप ढकाल र विवेक मिश्र रहेका छन् । उनीहरू क्रमशः नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार हुन् । प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र स्वकीय सचिवमा नवीन भण्डारी यथावत छन् ।
चार जनालाई सचिवालयमा अधिकृत सरहको पदमा राखिएको छ । जसमा सुरेन्द्र बजगाईं प्रेस सहजकर्ता, रोशन तामाङ ग्राफिक्स डिजाइनर, बेदानन्द जोशी मिडिया व्यवस्थापन र हेमनारायण चौधरीलाई कृषि क्षेत्र समन्वयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्रीको सचिवालयमा नायब सुब्बा सरहको जिम्मेवारीमा अनुप थापामगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की रहेका छन् ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार प्रधानमन्त्रीले सचिवालयमा ४८ जनासम्म नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ । तर हाल प्रधानमन्त्री शाहको सचिवालयमा २६ जना मात्र कार्यरत छन् ।
जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।