Trending
Prev Story
Next Story

विचार | छठ सम्झना : मामाले ल्याउने ठेकुवा र भुसुवा

Ekantipur •
November 15, 2026 • 12:32 PM
3
3 reads 0 reactions

जब जब छठ आउँछ, सन्ध्याकालीन घाटको रौनकभन्दा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मामाघर सिरहाबाट सप्तरीतर्फ पैदल नै आउने मामाको याद मलाई धेरै आउँछ ।

विचार | छठ सम्झना : मामाले ल्याउने ठेकुवा र भुसुवा

जब जब छठ आउँछ, सन्ध्याकालीन घाटको रौनकभन्दा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मामाघर सिरहाबाट सप्तरीतर्फ पैदल नै आउने मामाको याद मलाई धेरै आउँछ ।

छठ तराई–मधेसको सांस्कृतिक पर्व मात्र होइन्, सन्तान प्राप्ति, सन्तानको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने जीवन्त लोकसंस्कृतिमा आधारित पर्व हो । सूर्य र जलको उपासना, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र सामूहिकताको प्रतीक यस पर्वले पुस्तौंदेखि भावनात्मक सम्बन्ध, सांस्कृतिक निरन्तरता र प्रकृति संरक्षणको चेतनालाई हस्तान्तरण गर्दै आएको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यो पर्वमा पोखरी, नदी र जलाशयका घाटहरू लोकआस्थाले भरिन्छन् । पूजामा बाँसका ढकिया, छिट्टा, सुपा, बेना, कोनियाँ, माटाका भाँडामा चिर्खा, हात्ती, केराका घरी, उखु, नरिवल, भोगटेलगायत नयाँ मौसमी फलफूलको प्रयोग गरिन्छ । जसले सजिएको छठ घाटमा तराई मधेसको मौलिक संस्कृति र जीवनशैली झल्किन्छ । छठका गीतमा आमाहरूको आस्था गुञ्जिन्छ र गाउँघरमा पारिवारिक भेटघाटको रौनक पनि हुन्छ । घाटमा श्रद्धालुहरूको ओइरो हुन्छ ।

तर मेरो बाल्यकालमा छठ पर्वको एउटा छुट्टै विशेषता थियो । त्यसको सम्झना आउँदा आज पनि भावुक हुन्छु । किनभने हाम्रा लागि छठको प्रसादभन्दा पनि मामाले ल्याउने ठेकुवा, भुसुवा, नरिवल, उखुलगायतका कोसेलीको प्रतीक्षा महत्त्वपूर्ण हुन्थ्यो । छठ आउनुअघि नै मनमा उत्सुकता जाग्थ्यो- यसपालि मामा आउनुहोला कि नआउनुहोला ? आउँदा के–के कोसेली  लिएर आउनुहुन्छ ? ठेकुवा, भुसुवा लड्‌डु, केरा, उखु, नरिवल, भोगटे वा अरू केही ल्याउनुहोला भनेर मनमा कुरा खेलिरहन्थ्यो । हामी आमालाई यसबारे सोधिरहन्थ्यौँ । किनभने मामाले ल्याउने कोसेलीमा खानेकुरा मात्र हुँदैनथ्यो, हाम्रो बाल्यकालको खुसी, मामाको माया र मावलीसँग जोडिएको आत्मीयता पनि हुन्थ्यो ।

हाम्रो मावली घर सिरहाको भोरकटैया हो । छठको बेला मामा सिरहाबाट हिँडेरै सप्तरीको गरुराहामा हामीलाई कोसेली पुर्‍याउन आउनुहुन्थ्यो । त्यसबेला आजको जस्तो बाटोघाटो र यातायातको सुविधा थिएन । वर्षायाममा हिलाम्मे अरु बेला धुलाम्मे हुन्थ्यो बाटो । त्यो परिस्थितिमा टाढा रहेका नातागोताबीच भेटघाट गर्न र सम्बन्ध जीवित राख्न निकै गाह्रो थियो । तर त्यो कोसौंको दूरी, हिलाम्मे र धुलाम्मे बाटोको असहजताले पनि मामाको मायालाई कहिल्यै रोक्न सकेन । उहाँ बिहानै काँधमा सनेश (कोसेली) को भारी बोकेर हाम्रो घर आइपुग्नुहुन्थ्यो ।

हाम्रो घरमा छठ मनाइँदैनथ्यो । त्यसैले मामाको मनमा एउटा चिन्ता हुन्थ्यो- गाउँका अरू केटाकेटीले छठको प्रसाद खाँदा मेरा भान्जा–भान्जीले अरूको मुख ताकेर बस्न नपरोस् । उनीहरूले पनि आफ्नै मावलीबाट आएको कोसेली खाऊन्, रमाऊन् र खुसी होऊन् । सायद यही भावनाले उहाँलाई लामो बाटो पैदल हिँड्न प्रेरित गर्थ्यो । मामा आउनुहुन्छ भन्ने थाहा हुन्थ्यो तर कति बेला आइपुग्नुहुन्छ भन्ने ठेगान हुँदैनथ्यो ।

कहिलेकाहीँ छठका अवसरमा गाउँमा हुने सांस्कृतिक नाचगान र नाटक हेर्दाहेर्दै रात बित्थ्यो । हामी बिहान अबेरसम्म उठ्थ्यौं । हामी ओछ्यानबाट उठ्न नपाउँदै मामा आइसक्नुभएको हुन्थ्यो । कुनै वर्ष मामाको आगमन ढिलो हुँदा हाम्रो धैर्यको बाँध टुट्थ्यो । हामी दाजुभाइ घरको पश्चिमतिर रहेको बनरझुला चौरीको धानखेतको आलीमा पुग्थ्यौँ । त्यहाँ उभिएर सिरहातिरबाट आउने मामाको बाटो कुरेर बस्थ्यौं । टाढाबाट काँधमा भारी बोकेर कोही आइरहेको देख्दा मन नाच्थ्यो, लाग्थ्यो- कतै हाम्रै मामा त होइन ? तर नजिक आइपुग्दा अर्कै मान्छे हुन्थ्यो । हाम्रो प्रतीक्षा फेरि लम्बिन्थ्यो । अन्ततः जब आफ्नै मामा आइपुग्नुहुन्थ्यो, त्यसपछि हामी एकअर्कालाई हेर्दै जोडजोडले कराउँथ्यौँ, ‘मामा आउनुभो...!’

खुशीले खेतको आलीमै उफ्रिन्थ्यौँ । उहाँको घोकरी र कोरा चढ्न (काँधेकुरी/काख)हतार गर्थ्यौँ । काँधमा भारी हुँदाहुँदै पनि मामाले हाम्रो रहर पूरा गर्नुहुन्थ्यो । त्यसपछि हिडेर उहाँसँगै घर फर्कन्थ्यौं । त्यतिबेला मामा आइपुग्नु नै संसारको सबैभन्दा ठूलो खुसी लाग्थ्यो । न खेलौना चाहिन्थ्यो, न पैसा । मामाको खल्तीबाट पाइने ग्लुकोज बिस्कुट र चकलेटसमेत हाम्रा लागि विशेष उपहार हुन्थ्यो ।

उता घरमा आमाको पनि आफ्नै तयारी हुन्थ्यो । मामा लामो बाटो हिँडेर आउँदा भोक र थकाइ लाग्यो होला भनेर उहाँ बिहानै चुलो बाल्नुहुन्थ्यो । तरुवा, बगरुवालगायतका परिकार पकाउनुहुन्थ्यो । मामा घर आइपुग्दा आत्मीय आतिथ्य महसुस होस् र थकाइ मेटाउन पाइयोस् भन्ने आमाको चाहना हुन्थ्यो । मेरो एउटै मामा हुनुहुन्थ्यो र मामाको एउटै बहिनी मेरी आमा । मामाघरबाट मामा कोसेली बोकेर आइपुग्दा यता घरमा मामाका लागि आमाले खाना तयार पारिसक्नुहुन्थ्यो । हामी भान्जा चाहिँ खेतको आलीमा मामाकै प्रतीक्षामा हुन्थ्यौं । यी सबै दृश्यलाई जोड्ने एउटै नाता सम्बन्धको धागो थियो- मावलीको माया ।

घरमा मा आइपुगेपछि हाम्रो ध्यान उहाँले ल्याउनुभएको कोसेलीतिर जान्थ्यो । कुन पोकोमा ठेकुवा र केरा छ, उखु कति ठूलो छ, नरिवल र भोगटे कस्ता छन्, भुसुवा लड्‌डु कति छन्- सबै हेर्न हतार हुन्थ्यो । कहिलेकाहीँ मलाई मन पर्ने भुसुवा लड्डु चोरेर खाइदिन्थें । आमाले गाली गर्दा मामाले नै बचाउनुहुन्थ्यो । त्यतिबेला कोसेलीको मूल्य पैसामा थिएन । बजारमा पाइने वस्तुको ब्रान्ड, गुणस्तर र मूल्यको हिसाब हुँदैनथ्यो । मामाले ल्याउनुभएको एउटा केरा पनि विशेष हुन्थ्यो, एउटा ठेकुवा पनि प्रिय हुन्थ्यो । किनभने ती वस्तु सिरहाबाट सप्तरीसम्म पैदल हिँडेर ल्याइएका हुन्थे । प्रत्येक वस्तुमा मामाको पसिना, यात्राको थकान र हामीप्रतिको माया मिसिएको हुन्थ्यो ।

तर त्यो खुसी लामो समय टिक्दैनथ्यो । मामालाई आफ्नै घरको कामकाजले पर्खिरहेको हुन्थ्यो । केही बेर बसेर, खाना खाएर र कोसेली पुर्‍याएर उहाँ फर्किनुहुन्थ्यो । हामीलाई उहाँसँग अझै बस्न र खेल्न मन लाग्थ्यो । तर मामामाथि आफ्नै घरव्यवहारको जिम्मेवारी पनि उत्तिकै थियो । उहाँलाई बिदाइ गर्न हामी आमासँग फेरि त्यही बनरझुलाको चौरीमा पुग्थ्यौं, जहाँ उहाँको आगमन पर्खेर बसेका हुन्थ्यौं । बिदाइको क्षणमा आमा मामालाई छिट्टै फर्केर आउन आग्रह गर्दै रुनुहुन्थ्यो, मामा पनि भावुक हुँदै फेरि कोसेली लिएर आउने वाचा गर्नुहुन्थ्यो । हामी पनि मामाको काँधेकुरी र काख छोड्न मान्दैनथ्यौं । अन्ततः आमा र मामाले छिट्टै भेट्ने र कोसेली ल्याइदिने आश्वासन दिएर हामीलाई फकाउँदै घर फर्काउनुहुन्थ्यो ।

त्यो चौरी केवल बिदाइको ठाउँ थिएन, माया, बिछोड र पुनर्मिलनको आशा गाँसिएको हाम्रो बाल्यकालको भावुक स्मृति पनि थियो । आज सम्झँदा लाग्छ, त्यो छठको प्रसाद मात्र थिएन । त्यो मधेसको मावली संस्कृतिमा चेलीबेटीको घर सम्झिने, भान्जा–भान्जीलाई माया गर्ने र आफन्तबीच खुसी बाँड्ने र सम्बन्ध जोड्ने परम्पराको जीवन्त उदाहरण थियो । मामा केवल आमाको दाजुभाइ वा भाइ होइन, भान्जा–भान्जीको बाल्यकालमा विशेष स्नेह र अपनत्व बोकेर आउने आत्मीय पात्र पनि थिए ।

आज बनरझुला चौरीको त्यो धानखेतको आली बदलिएको छ । खेत र त्यो आली विस्तारै बस्ती र बाटोमा परिणत भएको छ । तर चाडपर्वका बेला त्यहाँ पुग्दा मामाको बाटो हेरेर बसेको बाल्यकालको त्यो दृश्य अझै सेलाएको छैन । ‘मामा आउनुभयो !’ भन्दै खुसीले उफ्रिएका ती दिन र क्षण भने समयसँगै बितिसकेको छ । आज बजारमा छठका लागि चाहिने सामग्री सहजै पाउन सकिन्छ । यातायातको सुविधा छ । फोनको सुविधा छ । एक कलको भरमा आफन्तको हालखबर क्षणभरमै बुझ्न सकिन्छ । सूचना-प्रविधिले भावनात्मक सम्बन्धको दूरी जति छोटो बनाएको छ, उति नै प्रत्यक्ष भावनात्मक सम्बन्धको दूरी पनि घटाएको छ । जसलेगर्दा नातागोता र आफन्तका लागि समय निकाल्ने, उनीहरूको बाटो हेर्ने र पर्खने बानी कमजोर हुँदै गएको छ ।

परिस्थितिसँगै समय र जीवनशैली बदलिनु स्वाभाविक हो । तर परिवर्तनसँगै सम्बन्धको न्यानोपन हराउँदै जानु चिन्ताको विषय हो । आज वस्तुहरू सहजै उपलब्ध छन्, तर तिनले दिने खुसी पहिलाझैं गहिरो छैन । किनभने खुसीको अर्थ वस्तुमा मात्र हुँदैन्, त्यससँग जोडिएको सम्बन्ध र भावनामा पनि हुन्छ । छठको सुन्दरता महँगो प्रसादी, सजिसजाउ घाट र ठूलो उत्सवमा मात्र छैन । यसको वास्तविक महत्त्व प्रकृतिप्रतिको कृतज्ञता, श्रमको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सद्भावमा छ । आज पनि गाउँदेहातमा कतिपय मानिस टाढाको बाटो हिँडेर आफ्ना भान्जा–भान्जीका लागि कोसेली बोकेर आउँछन्, जहाँ आजको सूचना-प्रविधि पुग्न सकेको छैन । यस्ता परम्पराले छठलाई धार्मिक आस्थासँगै सामाजिक सम्बन्धको जीवन्त संस्कृति बनाइरहेका छन् ।

आज बाल्यकाल सम्झँदा मामाले ल्याउने ठकुवा, भुसुवा लड्डु, केरा, उखु, नरिवल र भोगटेको स्वादभन्दा बढी उहाँको काँधेकुरी सम्झन्छु । त्यो काँध कोसेलीको भारी मात्र थिएन, हामीले रमाउने काँधेकुरी पनि थियो । आमाको चुलोमा पाक्ने तरुवा–बगरुवाभन्दा बढी उहाँको मन सम्झन्छु, जहाँ टाढाबाट थाकेर आउने मामाका लागि सम्मान र आत्मीयता थियो । बनरझुला चौरीको आलीमा उभिएर बाटो हेर्ने ती आँखा सम्झन्छु, जसले सानो कुराभित्र पनि ठूलो खुसी भेट्न सिकाएका थिए । आज आफ्नै घरमा छठ मनाइन्छ । तर मामा र आमालाई यसको खबर छैन । किनभने उहाँहरु बित्नुभएको करिब पाँच वर्ष भइसकेको छ । बुढेसकालमा समेत कुप्रो परेको शरीर र लट्ठीको सहारामा मामा छठको कोसेली बोकेर आउनुहुन्थ्यो । उमेरले शरीर कमजोर थियो । तर भान्जा–भान्जीप्रतिको माया कमजोर थिएन ।

आज त मामा छैन । तर उहाँको सम्झना ताजै छ । उहाँले ल्याउने ठेकुवाको स्वाद, भुसुवा प्रसाद र कोसेलीहरू खाएर सकियो । तर ती कोसेली बोकेर आउनुभएको माया र त्यसले दिएको खुशी जीवनभर मेटिने छैन । सायद त्यसैले छठ आउँदा मलाई अस्ताउँदो सूर्यलाई अर्घ्य दिने घाटको रौनकभन्दा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सिरहाबाट सप्तरीतर्फ पैदल हिँडेर आउने मामाको सम्झना धेरै आउँछ । खेतको आलीमा उभिएर उहाँको प्रतीक्षामा बसेका हामी दाजुभाइको दृश्य आज पनि आँखाअगाडि नाच्छन् । यसरी आज छठको रौनक फेरिएको छ, गाउँको बाटो फेरिएको छ र जीवनको लय पनि बदलिएको छ । तर मेरो बाल्यकालको छठ अझै त्यहीँ छ- बनरझुला चौरीको आलीमा, मामाको प्रतीक्षामा । फरक यति हो, पहिले मामा आउनुहुन्थ्यो, आमाले खाना पकाउनुहुन्थ्यो । तर आज उहाँहरूको याद आउँछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख...

#सूर्य #पर्व #अर्घ्य
Compare →
Nagarik News
8h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस् : अध्यक्ष ओली

उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।

#सूर्य #पर्व #उदाउँदो
Compare →
Bizshala
12h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#सूर्य #पर्व #अर्घ्य
Compare →
Onlinekhabar
20m ago
छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु (तस्वीरहरू)

छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु (तस्वीरहरू)

२९ कात्तिक, सिरहा । आस्थाको महापर्व छठको तेस्रो दिन आज सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका पोखरी, नदी तथा जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन् । यसैक्रममा सिरहाको गोलबजार नगरपालिका–१० स्थित कुर्मीटोलको पोखरीमा पनि व्रतालुहरूले …

#सूर्य #अर्घ्य
Compare →

Related Stories

World News
Build #2612