२९ कात्तिक, सिरहा । आस्थाको महापर्व छठको तेस्रो दिन आज सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका पोखरी, नदी तथा जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन् ।
यसैक्रममा सिरहाको गोलबजार नगरपालिका–१० स्थित कुर्मीटोलको पोखरीमा पनि व्रतालुहरूले श्रद्धा र भक्तिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।
छठको मुख्य दिनका रूपमा रहेको आज साँझ व्रतालुहरू जलाशयमा पुगेर सूर्यदेवको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।
छठपर्वलाई लक्षित गर्दै सिरहामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पर्वलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहित १ हजार १५० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार जिल्लाभर करिब ५ सय ३१ वटा छठघाट रहेका छन् । ती सबै घाटमा सुरक्षा निगरानी बढाइएको छ।
छठपर्वको चौथो तथा अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्यअर्पण गरेपछि चारदिने छठपर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।