Trending
Prev Story
Next Story

डेढ महिनापछि खुल्यो आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक

Ekantipur •
November 15, 2026 • 06:32 AM
3
3 reads 0 reactions

रिङ्दीमा सडक भासिएपछि सडक पूर्वाधार विकास कार्यालयले माथिल्लो भेगबाट नयाँ ट्रयाक खोलेर यातायात पुनः सञ्चालन गरेको हो।

डेढ महिनापछि खुल्यो आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक

रिङ्दीमा सडक भासिएपछि सडक पूर्वाधार विकास कार्यालयले माथिल्लो भेगबाट नयाँ ट्रयाक खोलेर यातायात पुनः सञ्चालन गरेको हो।

पाल्पा — डेढ महिनादेखि अवरुद्ध आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक सञ्चालनमा आएको छ । निस्दी गाउँपालिका–५, गल्धाको रिङ्दीमा सडक भासिएपछि अवरुद्ध भएको खण्डमा नयाँ ट्रयाक खोलेर यातायात सञ्चालन गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको पूर्वी भेगलाई सदरमुकाम तानसेनसँग जोड्ने यो सडक गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण रिङ्दीमा जगैदेखि भासिएपछि सवारी आवागमन ठप्प भएको थियो । सडकको २०० मिटरभन्दा बढी भाग पाँच मिटरभन्दा तल भासिएकाले तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन कठिन भएको थियो ।

सडक पूर्वाधार विकास कार्यालयले भासिएको स्थानको विकल्पमा माथिल्लो भेगबाट नयाँ ट्रयाक खोलेपछि यातायात सञ्चालनमा आएको सूचना अधिकारी तेजप्रसाद अधिकारीले बताए । यहाँ झन्डै ३०० मिटर सडक चर्कनुका साथै २०० मिटर पक्की सडक पूरै भासिएको थियो । भासिएको सडकमा नयाँ ट्रयाक खोल्नसमेत ढिलाइ भएकामा स्थानीय आक्रोशित थिए ।

सडक भासिएर सवारीसाधन सञ्चालन हुन नसक्दा निस्दी गाउँपालिकाका पाँचवटा वडा तथा रामपुर नगरपालिकाका विभिन्न क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । दैनिक आवतजावत, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी र अत्यावश्यक सेवाका लागि समेत समस्या भएको थियो । लामो समयपछि सडक सञ्चालनमा आएपछि स्थानीयलाई राहत मिलेको छ ।

सडक भासिएको स्थानको भौगर्भिक अवस्था जटिल देखिएकाले दीर्घकालीन समाधानका लागि भूगर्भविद्बाट अध्ययन गर्नुपर्ने सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । सडकको ठूलो भाग चर्किएको र पहाडसमेत धसिएको देखिएकाले सामान्य मर्मतबाट समस्या समाधान नहुने कार्यालयको भनाइ छ ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख सागर मरासिनीले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन आवश्यक रहेको बताए । तत्कालका लागि माथिल्लो भेगबाट नयाँ ट्रयाक खोल्ने योजना अघि बढाएर सडक सञ्चालनमा ल्याउन सम्भव भएको उनले बताए ।

सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङबाट जब्गादी, बेलडाँडा हुँदै रामपुर पुग्ने ४९ किलोमिटर लामो यो सडक पूर्वी पाल्पाको महत्त्वपूर्ण मार्ग हो । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा समेटेको भए पनि स्तरोन्नति र मर्मतसम्भारमा पर्याप्त बजेट विनियोजन हुन नसकेको स्थानीयको गुनासो रहँदै आएको छ ।

सडक खुले पनि भासिएको खण्डको दीर्घकालीन समाधान, स्तरोन्नति र सुरक्षित आवागमनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने स्थानीय निस्दी गाउँपालिका–५, गल्धाका तिलक सोमै मगरले बताए । उनका अनुसार ट्रयाक नखुल्दा चार किलोमिटर साँघुरो र कच्ची सडक भएर सवारीसाधन सञ्चालन गर्नुपरेको थियो । यहाँ पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप राना, प्रदेशसभा सदस्य राजु श्रेष्ठ, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु र सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मरासिनीलगायतले अध्ययन गरेर मात्र सडकको स्तरोन्नति गर्नुपर्ने बताएका थिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
22h ago
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दी – धौलागिरि क्षेत्रका चार जिल्ला कार्यक्षेत्र हुने गरि म्याग्दीको सदरमुकाम बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ।

#पूर्वाधार #विकास
Compare →

Related Stories

National (Nepal)
Build #2612