काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ ।
युइएफए नेसन्स लिग अन्तर्गत शनिबार राती भएको खेलमा पोर्चुगलका खेलाडीहरुले रोनाल्डोको सम्मानमा जर्सी नम्बर ७ लगाएर मैदान प्रवेश गरेका थिए । अनी खेलको सातौं मिनेटमा स्ट्यान्डिङ ओभेएसन पनि दिए ।
तर घरेलु मैदान स्टाडियो मुनिसिपालमा भएको खेलमा भने पोर्चुगल डेनमार्कसँग फराकिलो अन्तरले पराजित यभो ।
रोनाल्डोको सन्यसापछिको पहिलो खेलमा पोर्चुगलको प्रदर्शन बिर्सनलायक रह्यो ।
डेनमार्कका लागि रासमस होएलन्डले ५०औं र ५७औं मिनेटमा गोल गरे । पिएरे एमिल होएवर्गले ४३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस्तै योकिम एन्डरसनले ७५औं मिनेटमा गोल गरे ।
पोर्चुगलका लागि दोस्रो हाफको इन्जुरी टाइममा बर्नार्डो शिल्भाले सान्त्वना गोल फर्काए ।
डेनमार्कसँग पराजित भएपनि लिग ए को ग्रुप फोरमा ५ खेलबाट १२ अंकसहित पोर्चुगल शीर्ष स्थानमै छ र यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।
तेस्रो जितपछि डेनमार्क पनि ९ अंक जोडेर दोस्रो स्थानमा छ र क्वाटरफाइनल नजिक छ । अब समूहको अन्तिम खेलमा डेनमार्कले नर्वेसँग खेल्नेछ ।
नर्वेले पनि वेल्सलाई ३-१ ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । नर्वेका लागि एन्टोनियो नुसा, आन्द्रेस सेल्ड्रुप र एर्लिङ हालान्डले एक-एक गोल गरे । वेल्सका डेभिड ब्रुक्सले एक गोल फर्काए । नर्वेको ५ खेलबाट ६ अंक भएको छ ।