यू-१९ एसिया कपको फाइनलमा भारतले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै नवौँ पटक उपाधि जितेको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार सम्पन्न रोमाञ्चक खेलमा भारतले अन्तिम बलमा लक्ष्य पूरा गर्दै उपाधि जितेको हो।
पाकिस्तानले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम बलमा जितका लागि ३ रन आवश्यक थियो। अहमद हुसेनले फालेको अन्तिम बलमा मोहित उल्वाले चौका प्रहार गर्दै भारतलाई जित दिलाए। भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रन बनायो।
भारत एक समय ४१.३ ओभरमा २५२ रन बनाउँदा ८ विकेट गुमाएर दबाबमा थियो। यस्तो अवस्थामा मोहित उल्वा र मनल चौहानले नवौँ विकेटका लागि ५७ रनको महत्त्वपूर्ण साझेदारी गरे। मनलले ३२ बलमा ४७ रन बनाएर आउट भए।
त्यसपछि मोहित र चिगुरुपति वेंकटाले अन्तिम विकेटका लागि ३० रनको अविजित साझेदारी गर्दै भारतलाई जित दिलाए। मोहित २६ बलमा ४९ रन बनाएर अविजित रहे। उनले आफ्नो पारीमा ५ चौका र ३ छक्का प्रहार गरे। वेंकटाले ८ बलमा अविजित ११ रन बनाए।
भारतका लागि कप्तान लक्ष्य रैचन्दानीले सर्वाधिक ८० रन बनाए। त्यस्तै, आर्यवीर सहवागले ६१ बलमा ५८ रनको योगदान दिए। विकेटकिपर अन्वय द्रविडले १९ र भीके विनिथले २४ रन बनाए। पाकिस्तानका रिजवानउल्लाहले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो। पाकिस्तानका उस्मान खानले १११ बलमा १०७ रनको शतकीय पारी खेले। अब्दुल कादिरले ५४ बलमा ८० र कप्तान फरहान युसुफले ६० बलमा ६३ रन बनाए।
भारतका लागि काव्या पटेलले ४ विकेट लिए भने चिगुरुपति वेंकटाले ३ विकेट हात पारे।
प्रकाशित: २९ कार्तिक २०८३ ०९:३१ आइतबार