पूर्वसभापति देउवा पक्षले शनिबार आयोजना गरेको ललितपुर जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीको इतिहास, विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे धारणा राखेका थिए ।
काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कसैले चाहँदैमा कांग्रेसलाई ‘हाइज्याक’ गर्न नसक्ने बताएका छन् । सहिदहरूको लामो त्याग, तपस्या र बलिदानबाट पार्टी निर्माण भएको बताउँदै उनले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।
पूर्वसभापति देउवा पक्षले शनिबार आयोजना गरेको ललितपुर जिल्लाको अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीको इतिहास, विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवादबारे धारणा राखेका थिए ।
२०१४ सालमा सभापति सुवर्णशमशेरले विशेष महाधिवेशन बोलाएर बीपीलाई नेतृत्व सुम्पेको स्मरण गर्दै देउवाले यस पटक भने आफूलाई जानकारी नै नदिई विशेष महाधिवेशन गरिएको दाबी गरे । ‘मैले गगनजीलाई नियमित महाधिवेशन गराउँछु भनेको थिएँ । ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर भए विशेष महाधिवेशन गर्न सकिने व्यवस्था विधानमा छ । त्यस्तो हस्ताक्षरको प्रमाणीकरण नभई कसरी हुन्छ भनेर सोधें । तर, एकाएक विशेष महाधिवेशन गराएर सभापति भए,’ उनले भने ।
कांग्रेस बीपी कोइरालाले निर्माण गरेको पार्टी भएको उल्लेख गर्दै उनले यसको इतिहास र योगदानलाई कसैले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न नसक्ने जनाए । बीपीका छोरा शशांक, गणेशमान सिंहका छोरा प्रकाशमान तथा महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र आफूहरूसँगै रहेको उल्लेख गर्दै उनले पार्टीको ऐतिहासिक विरासत आफ्नो पक्षमा रहेको समेत बताए ।
‘अब मलाई केही चाहिएको छैन । तर, नमरुञ्जेलसम्म प्रजातन्त्रका लागि लड्ने कर्तव्य मेरो हो । पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीलाई मैले ज्यान दिन पनि तयार हुनुपर्छ,’ देउवाले भने, ‘कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । लामो त्याग, तपस्या र बलिदानले बनाएको पार्टीमा प्रतिनिधिहरूले बाहेक अरू कसैले हाइज्याक गर्न सक्दैनन् ।’
कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।