१ सय ३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको निर्वाचन समितिको भनाइ, मधेशमा आठ जिल्लामध्ये धनुषामा मात्र क्षेत्रीय अधिवेशन भयो, मधेशबाहेक मनाङ, मुस्ताङ र रसुवामा पनि अधिवेशन बाँकी
काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूह वडा, पालिका, क्षेत्र, जिल्लापछि प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । देउवा समूहले पहिले ४ मंसिरमा सातवटै प्रदेशको अधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो तर अब ५ मंसिरबाट प्रदेश अधिवेशन हुने भएको छ ।
२१–२४ मंसिरमा समानान्तर केन्द्रीय महाधिवेशन खुलामञ्चमा हुने, देउवाले उद्घाटन गर्ने ४ मंसिरमा हरिबोधनी एकादशी परेकाले ५ मंसिरबाट प्रदेश अधिवेशन गर्ने कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिका संयोजक एकराज पोखरेलले जानकारी दिए । उनका अनुसार ५ र ६ मंसिरमा गण्डकीमा, १७ र १८ मंसिरमा कोशी, १५ र १६ मा सुदूरपश्चिम र कर्णालीमा, ७ र ८ मा लुम्बिनी र १० र ११ मंसिरमा बागमतीमा प्रदेश अधिवेशन हुनेछ ।
मधेशको क्षेत्रीय अधिवेशनै गर्न बाँकी रहेकाले त्यहाँ प्रदेश अधिवेशनको मिति तय भएको छैन । ‘तोकिएको मितिमै अधिवेशन गर्ने योजना छ । अन्तिम बेलासम्ममा एकदुई दिन तलमाथि हुन सक्छ तर १८ मंसिरसम्ममा सबै प्रदेशका अधिवेशन सकेर प्रतिनिधिहरू काठमाडौं आउने तयारीमा जुट्नेछन्,’ पोखरेलले भने, ‘बाँकी रहेका क्षेत्रीय अधिवेशन पनि केही दिनभित्रै सकिन्छन् ।’
उनका अनुसार १ सय ३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको छ । मधेशमा आठ जिल्लामध्ये धनुषाका चार निर्वाचन क्षेत्रको मात्रै अधिवेशन सम्पन्न भएको छ । सात जिल्लाको क्षेत्रीय अधिवेशन बाँकी छ । मनाङ, मुस्ताङ र रसुवाको पनि अधिवेशन बाँकी छ ।
मधेशमा केन्द्रीय प्रतिनिधि र जिल्ला संयोजक तोक्न ढिलाइ भएका कारण क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको निर्वाचन समिति संयोजक पोखरेलले बताए । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट तोकिने महाधिवेशन प्रतिनिधिहरू नै केन्द्रीय मतदाता रहने भएकाले जिल्ला र प्रदेशभन्दा केन्द्रीय महाधिवेशनका लागि क्षेत्रीय अधिवेशन नै बढी महत्त्वपूर्ण छ । २१–२४ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तालिका छ ।
देउवा पक्षले पनि समानान्तर महाधिवेशनको उद्घाटन खुलामञ्चमा नै गर्ने भएको छ । यसअघि संस्थापन पक्षले महाधिवेशन गर्दा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले सार्वजनिक कार्यक्रम गर्न नदिने भनेको थियो । १८–२३ असोजमा कांग्रेस संस्थापनले पनि खुलामञ्जमा महाधिवेशन गरेको थियो ।
देउवा पक्षले अन्य ठाउँमा विकल्प नभएको भन्दै खुलामञ्च आफूहरूले नै सफा गर्ने प्रतिबद्धता गरेपछि महानगरले उद्घाटन कार्यक्रमका लागि अनुमति दिएको एक नेताले बताए । ‘अब उद्घाटन खुलामञ्चमा गर्ने, बन्दसत्रका सबै सेसन भृकुटीमण्डपमा गर्ने र निर्वाचनका कार्यक्रम राष्ट्रिय सभागृहमा गर्ने तय भइसकेको छ,’ उनले भने ।
महाधिवेशनमा ८ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् । क्षेत्रबाट निर्वाचित भएर आउने र पदेन प्रतिनिधि हुनेको संख्या नै आठ हजार बढी छ । विदेशस्थित जनसम्पर्क समिति र भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व सुनिश्चित गर्न बाँकी छ ।