चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना पूजा’ श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। छठ पर्वअन्तर्गत खरनालाई विशेष महत्त्वका साथ लिइन्छ।
यस दिन व्रतालु दिनभर उपवास बस्छन्। साँझ सूर्यदेव र छठी माताको पूजा आराधना गरी प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा छ। खरना पूजापछि व्रतालुले करिब ३६ घण्टे कठोर निर्जला व्रत सुरु गर्छन्। यस अवधिमा पानीसमेत नखाई व्रत बस्ने परम्परा रहेको छ।
काठमाडौंको बाफलमा पुनम रौनियार र चन्दा रौनियारले पनि आज खरना पूजा गरेका छन्। विगत १३ वर्षदेखि छठको व्रत बस्दै आएकी पुनमले परिवारको सुख, शान्ति र समृद्धिको कामनाका लागि व्रत बस्दै आएको बताइन्।
खरनाका दिन विशेषगरी खीर र रोटीलगायतका प्रसाद तयार पारिन्छ। मैथिली भाषामा खीरलाई ‘रसियाव’ भनिन्छ भने रोटीलगायतका परिकारसँगै यसलाई ‘रसियाव–रोटी’का रूपमा पनि चिनिन्छ। प्रसाद तयार गर्दा सरसफाइ, शुद्धता र धार्मिक विधिलाई विशेष ध्यान दिइन्छ।
खरना सम्पन्न भएपछि छठको सबैभन्दा कठोर चरण सुरु हुन्छ। व्रतालुले निराहार र निर्जला व्रत बस्दै सूर्यदेव र छठी माताको आराधना गर्छन्। त्यसैले खरनालाई छठको मुख्य अर्घ्यको महत्वपूर्ण तयारीका रूपमा लिइन्छ।
छठ पर्वको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न भएको थियो। पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ। चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ।
खरना पूजाले परिवार, आफन्त र छिमेकीबीच आत्मीयता तथा सामाजिक सद्भाव बढाउने विश्वास गरिन्छ। विशेषगरी तराई–मधेशमा भव्य रूपमा मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी तथा सहरी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
सूर्यप्रतिको आस्था, प्रकृतिप्रतिको सम्मान, शुद्धता र सामूहिक एकताको सन्देश बोकेको छठ पर्वसँगै अहिले विभिन्न स्थानमा धार्मिक उत्साह र चहलपहल बढ्दै गएको छ।
प्रकाशित: २८ कार्तिक २०८३ २०:०६ शनिबार