घाइते सञ्जय यादवका अनुसार चालकले गाडी अगाडि बढाउने क्रममा एकैचोटि हुत्तिएर भीरबाट खसेको थियो । चालक निदाएकै कारण गाडी दुर्घटना भएको हुन सक्ने उनको अनुमान छ ।
हेटौंडा — छठ पर्व मनाउन काठमाडौंबाट सर्लाहीस्थित घर फर्किंदै थिए सञ्जय यादव । बिहीबार बिहान ३ बजे माइक्रोबसमा चढेका उनीसँगै एउटै वडा र बस्तीका छिमेकी तथा आफन्त पनि थिए ।
जब उनीहरू चढेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढी पुग्दै थियो, अचानक भीरबाट खस्यो । बिहीबार बिहान ५:४५ तिर सडकबाट करिब ७ सय मिटर तल गाडी खस्दा अधिकांश यात्रु निदाइरहेका थिए ।
यादव पातलो निद्रामा थिए । 'चिसापानीगढीमा गाडी रोकिएको थियो । चालकले गाडी अगाडि बढाउने क्रममा एकैचोटि हुत्तिएर गाडी भीरबाट खस्यो । म पनि गाडीसँगै भीरबाट खसेँ,' उनले भने, 'गाडी भीरबाट खस्ने क्रममा म कसो गरी अलि माथि नै खसेका कारण चोटपटक लागे पनि बाँचेको छु । अरू धेरै जना मरेजस्तो लाग्छ ।' गाडी खस्दै गर्दा उनी बीचमै उछिट्टिएर बाहिर परेका थिए ।
गाडी पल्टेर निकै तल पुगेको पछि मात्रै थाहा पाएको उनले बताए । यादवसहित घाइते पाँच जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
उनी सर्लाहीको चन्द्रघट्टा गाउँपालिका–४ का हुन् । मृतक सबै १० जना सोही ठाउँका परेका छन् । छठ मनाउने उत्साहका साथ घर फर्केका यादवले एउटै गाउँका छिमेकी र आफन्तहरू मिलेर फोनमार्फत गाडीको सिट रिजर्भ गरेका थिए । एउटै गाउँ र बस्तीका भएकाले गाडीमा रहेका सबैलाई आफूले चिन्ने उनको भनाइ छ ।
'चालक पनि चिनजानकै भएकाले त्यही गाडी रिजर्भ गरेका थियौं,' उनले भने, 'तर यसपटकको यात्रा भने कहिल्यै नबिर्सिने खालको भयो ।' चालक निदाएकै कारण गाडी दुर्घटना भएको उनको अनुमान छ । प्रहरीले पनि चालक निदाएकै कारण गाडी दुर्घटना भएको प्रारम्भिक अनुमान गरिसकेको छ ।
'चिसापानीगढीदेखि देउरालीसम्म यसरी गाडी दुर्घटना भएको थिएन,' देउरालीका होटल सञ्चालक सञ्जीव श्रेष्ठले भने, 'चिसापानीगढी हुँदै जुरीखेतसम्मको सडकखण्डमा सवारी दुर्घटना धेरै हुने गरेको थियो, तर यो खण्डमा दुर्घटना भएको अहिले नै हो ।'
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।