युवालाई दुर्व्यसनबाट टाढा रहन र नियमित व्यायाम गर्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले नेपाल–भारत सीमा क्षेत्रबाट यात्रा थालेका हुन्।
नवलपुर — ‘दैनिक साइकल यात्रा, स्वस्थ जीवनशैली’ भन्ने नारासहित कावासोती साइक्लिङ ग्रुपका तीन जना युवाले मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का नारायण पङ्गेनी, सूर्य काफ्ले र रमेश पौडेलले शनिबार बिहान पश्चिम कञ्चनपुरस्थित गड्डाचौकीबाट साइकल यात्रा सुरु गरेका हुन् ।
युवामा बढ्दो कुलत तथा दुर्व्यसन न्यूनीकरण गर्न र नियमित व्यायामको महत्त्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा सुरु गरिएको यात्री सूर्य काफ्लेले बताए ।
तीनै जना साइकल यात्रीले करिब १ हजार २८ किलोमिटर दूरी पाँच दिनभित्र पूरा गर्ने लक्ष्य राखेका छन् । उनीहरूले शनिबार बिहान गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रको ८०५ नम्बरको पिल्लरबाट यात्रा सुरु गरेका हुन् । पश्चिम कञ्चनपुरस्थित महाकाली क्षेत्रमा पुगेर यात्रा समापन गर्ने लक्ष्य रहेको छ ।
साइकल यात्रामार्फत युवालाई स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न र दुर्व्यसनबाट टाढा रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।