राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी प्रविधिमा गम्भीर कमजोरी औँल्याएपछि आवश्यक सुरक्षा अद्यावधिक नहुँदासम्म सेवा रोकिएको विभागले जनाएको छ।
काठमाडौँ — राजस्व अनुसन्धान विभागले आफ्नो भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रणाली अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले प्रविधिमा गम्भीर कमजोरी देखाउँदै सुरक्षा एडभाइजरी जारी गरेपछि विभागले यो निर्णय लिएको भन्दै सूचना जारी गरेको छ ।
साइबर सुरक्षा केन्द्रले पीएचपी तथा सोसँग सम्बन्धित प्रविधिमा गम्भीर जोखिम देखिएको जनाएको थियो । उक्त प्रविधिको दुरुपयोग हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सोही प्रविधिमा आधारित भीसीटीएस सेवा बन्द गरिएको विभागले जनाएको हो x
प्रणालीमा आवश्यक सुरक्षा अद्यावधिक गरी सुरक्षित भएपछि सेवा पुनः सञ्चालनमा ल्याइने विभागले जानकारी दिएको छ । ‘हाललाई नियमानुसार जारी भएका बिलबिजक लगायतका सम्बन्धित कागजातहरू साथमा राखी सवारीसाधन सञ्चालन गर्न सकिने साथै प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले यथाशीघ्र ढुवानीको भीसीटीएस नियमानुसार जारी गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।