चामलको पिठो, घिउ, चिनी, नरिवल र विभिन्न मसलाबाट तयार हुने रोटको माग बढेपछि स्थानीय व्यवसायी व्यस्त भएका छन्।
बागलुङ — बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनका लागि रोट रोजाइमा पर्न थालेको छ । मनोकांक्षा पूरा हुने विश्वास र भाकलअनुसार रोट चढाउने प्रचलन बढ्दै जाँदा मन्दिरमा दैनिक झन्डै एक सय रोट चढाउने गरिएको छ ।
मन्दिरमा पूजा गर्न रोट उपयुक्त लागेपछि खरिद गरेर चढाएको पोखराकी सोस्तिका पाण्डेले बताइन् । ‘पहिला पहिला मन्दिरमा पूजा गर्न आउँदा फूल, नरिवललगायतका सामग्री ल्याउने गर्थें । अहिले मन्दिरको गेटमै रोट पाइने भएकाले त्यहीँबाट किनेर चढाएँ,’ उनले भनिन् ।
कालिका भगवती मन्दिरमा रोटको माग बढेपछि व्यवसायीहरू रोट पकाएर बिक्री गर्न व्यस्त छन् । भक्तजनले दैनिक करिब एक सय रोट खरिद गरेर मन्दिरमा चढाउने गरेको व्यवसायी डम्बर मल्लले बताए । उनका अनुसार एक माना चामलको पिठोबाट एउटा रोट तयार गरिन्छ ।
रोट बनाउन चामलको पिठोमा चिनी, नरिवल, बदाम, काजु, किसमिस, छोकडा, मरिच, ल्वाङ र सुकमेलजस्ता मसला मिसाइन्छ । त्यसपछि घिउमा पकाएर रोट तयार गरिने मल्लले बताए । एउटा रोटको मूल्य चार सय रुपैयाँ पर्छ ।
रोट पकाउन दाउराको प्रयोग गरिने अर्का व्यवसायी सन्दिप थापाले बताए । मन्दिरको गेटमा रहेको भाडाको सटरमा उनी बिहान ६ बजेदेखि रोट पकाउने काममा खटिन्छन् । कालिका भगवती मन्दिरमा रोट चढाउने क्रम बढ्दै गएको उनले बताए । धार्मिक मान्यताअनुसार कालिका भगवती मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ । भक्तजनले मन्दिरमा रोटसँगै नरिवल र फलफूलसमेत चढाउने गर्छन् ।