Trending
Prev Story
Next Story

घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

Ekantipur •
November 11, 2026 • 07:01 AM
1
1 reads 0 reactions

२० वर्षअघिसम्म घरायसी परिकार रहेको झिनियाँ रोटी अहिले पाल्पाका महिलाको नियमित आम्दानी हुने व्यवसाय बनेको छ, जसबाट वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान छ।

घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

२० वर्षअघिसम्म घरायसी परिकार रहेको झिनियाँ रोटी अहिले पाल्पाका महिलाको नियमित आम्दानी हुने व्यवसाय बनेको छ, जसबाट वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान छ।

पाल्पा — २० वर्षअघिसम्म चामलबाट बनाइने झिनियाँ रोटी घरघरमा आफ्ना लागि मात्र बनाइन्थ्यो । बिस्तारै यो महिलाको आम्दानीको मुख्य स्रोत बन्दै व्यावसायिक रूप लिन थालेको छ । दसैं, तिहार मात्र नभई अन्य चाडपर्वमा समेत यसको प्रयोग हुन थालेपछि बजारमा जहिल्यै बिक्रीका लागि राखिन थालेको छ । हुन त झिनियाँ रोटी तिहारको विशेष परिकार मानिन्थ्यो । ‘पहिले बजारमा किन्न कहाँ पाइन्थ्यो र ?’ तानसेन नगरपालिका–११ की ७८ वर्षीया ज्ञानुकुमारी रानाभाटले भनिन्, ‘अहिले घरमा बनाउन अल्छी लाग्छ । यही बजारबाटै किनेर लैजाने गरेकी छु ।’

दसैं–तिहारजस्ता चाडपर्वमा मात्र बिक्री हुने यो रोटी अहिले वर्षभरि नै बजारमा पाइने भएकाले विवाह, व्रतबन्ध र अन्य चाडपर्वमा समेत प्रयोग हुन थालेको उनले बताइन् । रामपुर, तानसेन, रम्भा, माथागढी र निस्दी गाउँपालिकाका महिलाहरू अहिले झिनियाँ रोटीका व्यावसायिक उत्पादक बनेका छन् । जिल्ला विकास समितिले २० वर्षअघि सञ्चालन गरेको तालिमले महिलाहरूलाई व्यावसायिक बन्न सघाएको हो ।

दसैं–तिहारमा पाल्पाका घरघरमा झिनियाँ रोटी बनाउने चटारो हुन्छ । यति मात्र होइन, मागअनुसार जहिल्यै रोटी बनाउने गरेको तानसेन नगरपालिका–३, टक्सारकी ६५ वर्षीया नारायणीदेवी बज्राचार्यले बताइन् । उनका अनुसार रातो, पहेँलो, हरियो र सेतो गरी विभिन्न रंगका रोटी बनाउने गरिन्छ ।

‘चाडपर्वमा भने धेरै महिलाले झिनियाँ रोटी बिक्री गर्छन्,’ उनले भनिन्, ‘पहिले थोरैले मात्र बनाउने गर्थे । अहिले धेरैलाई व्यावसायिक बनाएको छ ।’ मागअनुसार उत्पादन गर्नुपर्ने भएकाले यो रोटी बनाउने महिलाको संख्या तीन सयभन्दा बढी भइसकेको छ । तर यसको यकिन तथ्यांक भने कसैसँग छैन ।

तिहारमा अन्य समयभन्दा बढी बिक्री हुने भएकाले तयार भएका रोटी बजार तथा बाहिरी जिल्लामा पठाउने हतारो हुन्छ । दिदीबहिनीले भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा दिने झिनियाँ रोटीको माग बढेपछि व्यापार पनि राम्रो भएको बज्राचार्यले बताइन् । तिहारको समयमा अरू बेलाभन्दा बढी कमाइ हुने गर्छ । घरमा छोराछोरी र बुहारीको सहयोगमा रोटी उत्पादन तथा बिक्री गर्ने गरेको उनले बताइन् । चाडपर्वका बेला मात्रै उनको कारोबार पाँच लाख रुपैयाँभन्दा बढी पुग्ने गरेको छ ।

‘पहिले घरमा खानका लागि महिलाले मात्र रोटी बनाउँथे,’ उनले भनिन्, ‘बजारमा बिक्री गर्ने गरी व्यवसाय सुरु गर्ने म नै हुँ ।’ उनले ३० वर्षअघि १२ गोटा रोटी पाँच रुपैयाँमा बेच्थिन् । अहिले आकार, गुणस्तर र डिजाइनअनुसार १२ गोटाको ८० रुपैयाँदेखि आठ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताइन् ।

चामलको पिठो पकाएर त्यसमा आवश्यकताअनुसार झिनियाँ रोटीमा प्रयोग हुने रंग मिसाइन्छ । त्यसपछि फलामको साँचोबाट विभिन्न आकारमा रोटी बनाउने गरिन्छ । पहिले कोरेसोबाट पनि रोटी बनाउने गरेको सम्झना छ । बनाएका रोटी घाममा सुकाएपछि बिक्रीका लागि तयार हुन्छन् । रंगीबिरंगी देखिने भएकाले तिहारमा यसको माग अझ बढी हुने रामपुर नगरपालिका–५ का व्यवसायी रुद्रप्रसाद श्रेष्ठले बताए । घरमै बसेर थोरै लगानीमा आम्दानी गर्न सकिने भएकाले यो व्यवसायमा श्रीमती र छोराछोरीको साथ रहेको उनले बताए ।

जिल्लाका रामपुर, कसेनी, पोखराथोक, गल्धा, वीरकोट, ताहुँ, हुमिनलगायत स्थानमा पनि महिलाले झिनियाँ रोटी बनाएर बिक्री गर्छन् । जिल्लाभर तीन सयभन्दा बढी महिला यस व्यवसायमा संलग्न रहेको उत्पादक बताउँछन् । कसैले घरमै रोटी बनाएर बजार पठाउँछन् भने कसैले आफैं बिक्रीको जिम्मा लिएका छन् ।

व्यवसायी श्रेष्ठका अनुसार तिहारका लागि रोटीको माग धान्न मुस्किल पर्न थालेको छ । ‘हामीले उत्पादन गरेको रोटी नै पुर्‍याउन सकिँदैन,’ उनले भने, ‘विभिन्न ठाउँबाट माग आउँछ । आफैंले उत्पादन गरेको नपुगेपछि अरू महिलाले बनाएको रोटीसमेत किनेर पठाउनुपर्ने बाध्यता छ ।’ बजारको समस्या नभएपछि हरेक वर्ष रोटी बनाउने महिला थपिँदै गएको उनले बताए ।

रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठका अनुसार गाउँपालिकाले महिलालाई झिनियाँ रोटी बनाउने तालिम दिएको थियो । तालिम लिएर व्यवसाय सुरु गरेका महिलाले अहिले राम्रो आम्दानी गरिरहेका छन् । तिहारको सिजनमा मात्रै ३० हजारदेखि आठ लाख रुपैयाँसम्मको कारोबार गर्ने महिला गाउँपालिकामा रहेको उनले बताइन् ।

उत्पादन र डिजाइनअनुसार मूल्य फरक हुने भएकाले महिलाले आफ्नो क्षमता र बजारअनुसार रोटी बनाउने गरेका छन् । रोटी बिक्री हुन थालेपछि आम्दानीको राम्रो स्रोत बनेको कसेनीकी दिलीसरा थापाले बताइन् । ‘पहिले बनाएर बिक्री नहोला कि भन्ने चिन्ता हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले एउटै सिजनमा पनि राम्रो कमाइ हुने गरेको छ । अन्य समयमा पनि बिक्री हुन थालेको छ ।’

पाल्पामा उत्पादित झिनियाँ रोटी नवलपुर, नवलपरासी, बुटवल, भैरहवा, गुल्मी, नेपालगन्ज, पोखरा, काठमाडौं र नारायणगढसम्म पुग्छन् । लामो समयसम्म सुरक्षित राख्न सकिने र सजिलै ओसारपसार गर्न मिल्ने भएकाले बाहिरी जिल्लाबाट समेत माग आउने गरेको उत्पादक बताउँछन् ।

मागअनुसार उत्पादन हुन नसक्दा बजारमा रोटीको अभाव हुने गरेको उपभोक्ताको गुनासो छ । मागअनुसार रोटी नपाउने समस्या पनि हुने गरेको छ । बजारमा रोटी पाउनै छाडेपछि महँगो मूल्य तिरेर किन्नुपरेको उपभोक्ताको गुनासो छ । रामपुर नगरपालिका–४ की तारा रानामगरका अनुसार माग बढेको समयमा व्यापारीले दोब्बर मूल्यसम्म लिने गरेका छन् ।

पछिल्लो समय हातैले बनाउने परम्परागत तरिकासँगै मेसिनबाट पनि झिनियाँ रोटी उत्पादन हुन थालेपछि व्यवसायीलाई सहज भएको छ । यसले उत्पादन बढाउन सहयोग गरे पनि गुणस्तर र बजार मूल्यमा एकरूपता ल्याउनुपर्ने उपभोक्ताको सुझाव छ ।

झिनियाँ रोटी पाल्पाका महिलाका लागि चाडपर्वको आम्दानी मात्र नभई नियमित व्यवसायको माध्यमसमेत बन्दै गएको छ । उत्पादकका अनुसार जिल्लाबाट वार्षिक पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान छ । तर यसको उत्पादन, व्यवसायीको संख्या र कारोबारको आधिकारिक तथ्यांक भने छैन ।

तानसेनकी व्यवसायी नारायणी बज्राचार्यका अनुसार विभिन्न ठाउँबाट रोटी बाहिर पठाइने गरे पनि यसको व्यवस्थित अभिलेख राखिएको छैन । साविकको जिल्ला विकास समिति, गाउँपालिका, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयलगायत विभिन्न गैरसरकारी संस्थाले तालिम दिएका महिलाले पनि रोटी उत्पादन गर्दै आएका छन् । तर कुनै पनि कार्यालयले यसको उत्पादन र कारोबारको छुट्टै विवरण राखेका छैनन् ।

पहिले नेवारी समुदायमा बढी प्रचलनमा रहेको झिनियाँ रोटी अहिले सबै समुदायको चाडपर्वको परिकार बनेको छ । भाइटीकामा दाजुभाइलाई सगुन दिने चलनसँगै यसको माग र बजार पनि विस्तार भएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
11h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#व्यवसाय
Compare →
Nagarik News
2d ago
घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

घटनामा संलग्न सुमन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#घरायसी
Compare →
Hamro Patro News
3d ago
ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका

ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका

काठमाडौं । पछिल्लो समय डिजिटल माध्यमबाट आफ्नो व्यवसाय, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने क्रम बढ्दो छ । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालसँगै ह्वाट्सएप पनि व्यवसाय प्रवर्द्धनको प...

#व्यवसाय
Compare →
Arthasansar
1w ago
निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १५ अर्ब माथि पुगेको छ । नेपाल बीमा...

#व्यवसाय
Compare →
Bizshala
1w ago
तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब प्रिमियम, सलिको अगाडि हुँदा एनएलजीको व्यवसाय सबैभन्दा तीव्र

तीन महिनामै निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब प्रिमियम, सलिको अगाडि हुँदा एनएलजीको व्यवसाय सबैभन्दा तीव्र

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ।...

#व्यवसाय
Compare →

Related Stories

Business & Economy
Build #2611