असोज ९ र १० गतेको बाढीले अवरुद्ध पारेको माथिल्लो मनाङतर्फको सडक तीन सातापछि मंगलबार साँझदेखि सञ्चालनमा आएको छ ।
लमजुङ — मनाङ सदरमुकाम चामेमा आएको बाढीले मर्स्याङ्दी नदी थुनिएर बनेको तालमा डुबेको मोटरेबल पुलमाथि काठ राखेर अस्थायी पुल बनाइएको छ ।
असोज ९ र १० गतेको बाढीले अवरुद्ध पारेको माथिल्लो मनाङतर्फको सडक तीन सातापछि मंगलबार साँझदेखि सञ्चालनमा आएको छ ।
घट्टेखोलामा आएको बाढीपहिरोले मर्स्याङ्दी नदीको बहाव थुनिएपछि बनेको तालमा ढुंगा, गिट्टी, बालुवासहित गेग्रान थुप्रिएर माथिल्लो मनाङ जोड्ने सडकको ट्रस ब्रिज डुबेको थियो । नदीमा थुप्रिएको गेग्रान हटाएर पुलमुनिबाट पानीको बहाव खुलाउन प्रशासन, सुरक्षा निकाय, स्थानीय सरकार तथा अन्य सरकारी र गैरसरकारी निकायले तीन सातासम्म प्रयास गरे पनि सफल हुन सकेनन् । त्यसपछि पुलको फलामे बिममाथि काठ राखेर वैकल्पिक पुल निर्माण गरिएको हो ।
चामे गाउँपालिकाको नेतृत्वमा स्थानीय तहले काठको व्यवस्थापन गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ३५ मिटर लामो पुलको माथिल्लो बिममाथि काठ राखेर अस्थायी संरचना बनाइएको मनाङ प्रशासनले जनाएको छ । काठेपुल बनेपछि तीन सातादेखि माथिल्लो मनाङमा रोकिएका जिप र मोटरसाइकलले मर्स्याङ्दी नदीमाथिको पुल तरेका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले पुलमुनिबाट पानीको बहाव खुलाउन नसकिएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वैकल्पिक पुल बनाइएको बताए । उनका अनुसार काठेपुलबाट जिप, मोटरसाइकललगायत हलुका सवारीसाधन सञ्चालन गर्न दिइएको छ । ठूला सवारीसाधनलाई भने आवतजावत गर्न दिइने छैन ।
‘पुलमुनिबाट पानी बगाउन सकिएन । अस्थायी रूपमा पुलमा रहेको फलाममाथि काठ राखेर काठेपुल बनाइएको हो,’ उनले भने, ‘दसैं नसकिएसम्म यही व्यवस्था रहन्छ । त्यसपछि फेरि पानीको बहाव खुलाउने प्रयास गर्छौं ।’ चाडपर्व र पर्यटकको आवागमन बढ्ने समय भएकाले तत्कालका लागि माथिल्लो मनाङसँग काठेपुलबाटै सडक सम्पर्क जोडिएको उनले बताए ।
उनका अनुसार सुरुमा विस्फोटक पदार्थ प्रयोग गरेर तालको पानी बगाउने विषयमा छलफल भएको थियो । पछि ताल नरहेको र गेग्रान मात्रै रहेको तथा विस्फोटक पदार्थ प्रयोग गर्दा वरपरका घरहरूमा समेत असर पर्ने देखिएपछि त्यसका लागि गरिएको तयारीसमेत एकाएक रोकिएको थियो । प्राविधिक दृष्टिले सम्भव नदेखिएपछि दैनिक चारवटासम्म मेसिन प्रयोग गरेर गेग्रान हटाउने प्रयास गरिएको थियो । पुलको माथिल्लो भागसम्मै ढुंगा, गिट्टी, बालुवासहित गेग्रान थुप्रिएकाले पानीको बहाव खुलाउन नसकिएको प्रजिअ खनालले बताए ।
चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पुल अवरुद्ध भएपछि माथिल्लो मनाङमा रोकिएका सवारीसाधन र केही पर्यटक काठेपुल बनेपछि फर्किएको बताए । पुल सञ्चालनमा नआउँदा कतिपय कर्मचारीसमेत कार्यालय आउन सकेका थिएनन् । माथिल्लो मनाङमा खाद्यान्नलगायत सामग्रीको ढुवानी ठप्प थियो । स्थानीय तथा पर्यटक जोखिम मोलेर पुलको फलामे बिमबाट वारपार गर्न थालेपछि अस्थायी पुल निर्माण गरिएको उनले बताए ।
‘पुल बन्द भएपछि मानिसहरू जोखिम मोलेर बिममा चढेर वारपार गर्न थालेका थिए । नागरिक र पर्यटकको सुरक्षामा समस्या देखिएपछि काठ राखेर वैकल्पिक पुल बनाइएको हो,’ घलेले भने, ‘प्राविधिक रूपमा पुल डुबानमा परे पनि संरचनामा ठूलो क्षति नपुगेको निष्कर्षपछि माथिबाटै काठ राखेर आवागमन खुलाइएको हो ।’
चामेको यही पुल २०७८ सालको बाढीमा पनि डुबानमा परेको थियो । त्यतिबेला चामे बजारको वारि र पारि जोड्ने झोलुंगे पुलसमेत बगाएको थियो । मर्स्याङ्दी नदीलाई साविककै धारमा फर्काउन करिब एक महिना प्रयास गर्नुपरेको अध्यक्ष घलेले बताए ।
‘त्यतिबेला पनि पुल डुबेको थियो । नदीको बहाव परिवर्तन हुँदा पारिपट्टिका घरहरू डुबेका थिए र केही संरचना बगाएको थियो,’ उनले भने, ‘यसपटक ठाडो खोलाले पहिरोसहितको गेग्रान ल्याएर मर्स्याङ्दी नै थुनिएपछि समस्या जटिल बनेको हो ।’
मोटरेबल पुलबाट वारपार गर्न नसकिएपछि यसअघि माडा हुँदै नेपाली सेनाको ब्यारेक पछाडिबाट मर्स्याङ्दी नदीको झोलुंगे पुल तरेर तलेखु निस्कने वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको थियो । उक्त बाटोसमेत जोखिमपूर्ण भएपछि स्थानीय र पर्यटक फलामे पुलको माथिल्लो बिमबाटै वारपार गर्न थालेका थिए ।
चामेमा अस्थायी पुल बनेसँगै बेसीसहरदेखि माथिल्लो मनाङसम्म सवारी आवागमन पुनः सञ्चालनमा आएको मनाङ प्रशासनले जनाएको छ । चामे आसपासका ठाडा खोलाले सडक बगाएका ठाउँमा पनि काठ र बिजुलीका खम्बा प्रयोग गरेर अस्थायी पुल बनाइएको छ । खोलामा पानीको बहाव घट्दै गएपछि केही स्थानमा ठूला सवारीसाधन खोलाबाटै वारपार गरिरहेका छन् ।
यसअघि चामे–भ्राताङ सडकखण्ड सञ्चालनमा आए पनि चामेमा मर्स्याङ्दी नदी वारपार गर्न नसक्दा माथिल्लो मनाङसँगको सडक सम्पर्क विच्छेद भएको थियो । अहिले बेसीसहर–चामे सडकको करिब ६१ दशमलव ५ किलोमिटर र चामे–मनाङ–खाङ्सार सडकको करिब ३६ किलोमिटर खण्डमा सवारी आवागमन सुचारु भएको मनाङ प्रशासनले जनाएको छ ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।