दसैंको अवसरमा जुटेको समुदायले पुस्तक, कम्प्युटर र सहयोग संकलन गर्दै विद्यालयमा लाइब्रेरी स्थापना अभियानलाई थप बल दिएको छ।
खोटाङ — खोटाङको रावाबेसी गाउँपालिका–३ स्थित तिर्पामा लाइब्रेरी स्थापनाका लागि दसैंको उपलक्ष्यमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार राति अबेरसम्म चलेको कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै हास्यव्यंग्य पनि देखाइएको थियो ।
स्थानीय गुप्तेश्वर आधारभूत विद्यालयमा कर्ण लाइब्रेरी स्थापनार्थ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गायक पदम राई र अनिल कोयी राईले गीतमार्फत दर्शकलाई मनोरञ्जन दिलाए । यस्तै, जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ ले जादु र विनोद पुरी ‘पुरी बा’ ले अभिनयमार्फत दर्शकलाई मनोरञ्जन दिलाए । मोडल निरुता लामाले नृत्यमार्फत माहोल तताइन् ।
तिर्पा सेवा समाजले आयोजना गरेको कार्यक्रममा नृत्य प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता पनि गरिएको थियो । नृत्य प्रतियोगितामा निलम मगर पहिलो, निर्जला श्रेष्ठ दोस्रो र धना मगर तेस्रो भए । डोरी तान्ने प्रतियोगितामा मुकेश मगरको समूह पहिलो र रोजन केसीको समूह दोस्रो भए । विजेता सबैलाई नगद पुरस्कार दिइएको थियो ।
शिक्षक उर्मिला दाहालले स्वर्गीय भाइ प्रकाश खतिवडाको स्मृतिमा गुप्तेश्वर आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरिन् । यस्तै, समाजसेवी मैया केसी, राधा खतिवडा, समिता केसी, महेन्द्र घर्ती, अमेरिकामा रहेका अर्जुन केसी, सुजाता शर्मा, राधादेवी खतिवडा, बद्री केसी र तेज आले मगरले कर्ण लाइब्रेरीका लागि पुस्तक उपलब्ध गराएको आयोजकले जनाएको छ। कार्यक्रमकै अवसरमा हलेसी भजन संग्रहलाई भजन सामग्री पनि हस्तान्तरण गरिएको थियो ।
विगतका वर्षमा पनि दसैंमा यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा सबैको साथ र सहयोगमा गाउँको विकास गर्ने योजना अघि सारेर कार्यक्रम गरिने तिर्पा सेवा समाजका संस्थापक अनोज रिजालले बताए ।
‘दसैं सबैलाई भेट गराउने चाड हो,’ उनले भने, ‘त्यही मौकामा सबैलाई जमघट गराउनु पनि कार्यक्रमको उद्देश्य हो ।’ यसपटक गाउँकै विद्यालयमा लाइब्रेरी स्थापना गरेर पढ्ने संस्कृतिको विकास गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको उनले सुनाए ।
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।