तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ ।
काठमाडौँ — कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा ६९ जना महिलाको उपस्थिति भएको छ । तीन जना पदाधिकारी तथा ६६ जना केन्द्रीय सदस्यमा महिला निर्वाचित भएका छन् । केन्द्रीय समितिमा आरक्षित गरिएका सिटबाट मात्रै महिला निर्वाचित भएर आएका छन् । प्रतिनिधित्व बढे पनि आरक्षण कोटाबाट मात्रै त्यो सम्भव भएको छ ।
२ सय ३१ पदका लागि निर्वाचन भएको थियो । त्यसमा निर्वाचित भएका महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत देखिएको छ । नेतृत्व तहमा महिलाको उपस्थिति गराउन पार्टीले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा एक–एक सिट महिलाका लागि आरक्षित गरेको छ । ती पदमा क्रमशः पुष्पा भुसाल, डिला संग्रौला (पन्त) र प्रतिमा गौतम निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा पहिलो पटक महिला महामन्त्री निर्वाचित भएकी छन् ।
१५औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय समितिको तस्बिर समावेशी देखिएको छ । विभिन्न जातजाति, समुदाय, महिला तथा पेसागत समूहलाई समेटेर पार्टीले समावेशी उपस्थितिको दायरालाई यसपटक फराकिलो बनाएको छ । तर, आरक्षित गरिएका पद तथा तोकिएका सिटबाहेकका स्थानमा महिला निर्वाचित भएर आउन नसक्दा निर्वाचित हुने महिलाको संख्या एक तिहाइ पुग्न सकेको छैन ।
पदाधिकारीबाहेक केन्द्रीय सदस्यको निर्वाचनका लागि छुट्याइएको खुला तथा समावेशी समूहको हरेक ‘क्लस्टर’ मा महिलाका लागि निश्चित पद छुट्याइएको थियो । त्यसबाट ६६ जना महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महिलाका लागि छुट्याइएको खुला सिटबाहेक खसआर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारू, मुस्लिमसहितका जातिगत क्लस्टरबाट केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व भएको छ । त्यस्तै, सातवटै प्रदेश, काठमाडौं उपत्यका, ३५ वर्षमुनिका युवा, पिछडिएको क्षेत्र, प्रवासी जनसम्पर्क समिति, पेसागत समूह र श्रमिक प्रतिनिधिबाट समेत गगन थापा नेतृत्वको कांग्रेसमा महिलाको उपस्थिति भएको छ ।
केन्द्रीय सदस्य (महिला खुला) बाट १५, आदिवासी जनजातिबाट आठ, खसआर्यबाट आठ तथा मधेशी र दलित समुदायबाट पाँच–पाँच जना महिलाको प्रतिनिधित्व भएको छ । त्यस्तै, थारू र मुस्लिम समुदायबाट दुई–दुई जना आएका छन् । पेसागत समूहबाट दुई, जनसम्पर्क समितिबाट दुई तथा श्रमिक, पिछडिएको क्षेत्र र काठमाडौं उपत्यकाबाट एक–एक जना महिलाको प्रतिनिधित्व केन्द्रीय समितिमा भएको छ । सातवटै प्रदेशबाट ३५ वर्षमुनिका युवा समूहका सात जना तथा प्रदेशगत रूपमा छुट्याइएको महिला खुला समूहबाट सात जना निर्वाचित भएका छन् ।
१८–२३ असोजमा काठमाडौंमा भएको महाधिवेशनले थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । आरक्षित गरिएका बाहेकका पदमा १२ जना महिलाको उम्मेदवारी परेको थियो । केन्द्रीय समिति २ सय ९७ सदस्यीय बनाइएको छ । त्यसमा २ सय ३१ जना निर्वाचनबाट तथा ६६ जना सभापतिले मनोनीत गर्ने प्रावधान छ । पार्टीको विधानमा सबै तहका कार्यसमितिमा एक तिहाइ महिला रहने सुनिश्चित गरिएको छ । निर्वाचनबाट आउन नसके सभापतिले मनोनयन गरेर उक्त संख्या पुर्याउनुपर्नेछ । २ सय ९७ सदस्यीय केन्द्रीय समितिमा महिलाको संख्या ९९ जना भए मात्र एक तिहाइ पुग्नेछ । ६९ जना निर्वाचित भएर आएकाले महिलाको संख्या कम्तीमा एक तिहाइ पुर्याउन थप ३० जना मनोनीत गर्नुपर्ने हुन्छ ।
नवनिर्वाचित महामन्त्री डिला संग्रौलाले विगतको तुलनामा पार्टीको नेतृत्व तहमा महिलाको सम्मानजनक उपस्थिति भएको बताएकी छन् । ‘पदाधिकारीको शीर्ष तहदेखि हरेक समुदायबाट महिलाको उपस्थिति हुनु आफैँमा सकारात्मक पक्ष हो,’ उनले भनिन्, ‘पार्टीको केन्द्रीय समितिमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बाध्यकारी व्यवस्था छ । निर्वाचनबाट उक्त संख्या पुग्दैन भने सभापतिले मनोनीत गरेर ल्याउने बाटो अझै बाँकी छ ।’
राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कूटनीति, निर्वाचन प्रणाली र संघीयताका विषयमा लेख्छन् ।