पहिरोका कारण पाछाका करिब आधा दर्जन घर प्रत्यक्ष जोखिममा परेका छन् भने तलपट्टि रहेका गोथलीबाङ र बासिनाको बस्तीसमेत प्रभावित हुने देखिन्छ ।
रुकुम पश्चिम — रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७, साख नजिकै पाछा गाउँमा गएको सुक्खा पहिरोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ । दुई वर्षअघि जान सुरु भएको यो पहिरो बीचमा रोकिएको भए पनि अहिले फेरि जान थालेपछि स्थानीय त्रसित बनेका छन् ।
२०७८ को बर्खामा पहिलोपटक पहिरो झरेको बताउँदै वडाध्यक्ष एक्कबहादुर पाण्डेले बीचमा पहिरो जान रोकिएको र गत भदौ २० यता फेरि जान थालेको बताए । ‘भदौ २० यता सानो–सानो गरेर झर्न थालेको थियो। त्यसबेला खासै ठूलो नहोला भनेर वास्ता गरिएन। तर झरी नै सकिएपछि गत बिहीबारदेखि ठूलो स्केलमा झर्न थालेपछि जोखिम बढेको छ,’ उनले भने ।
पहिरोका कारण पाछाका करिब आधा दर्जन घर प्रत्यक्ष जोखिममा परेका छन् भने तलपट्टि रहेका गोथलीबाङ र बासिनाको बस्तीसमेत प्रभावित हुने देखिन्छ । पहिरो दिनानुदिन बढिरहेको र झर्ने क्रम अहिले पनि जारी छ। पहिरोको माथि रहेको पाछा गाउँसम्म जमिन चिरा परेको छ ।
दिनदिनै पहिरो बढिरहेका कारण आफूहरू घरबाट विस्थापित भएर छिमेकीको घरमा बसिरहेको स्थानीय उर्मिला ओलीले बताइन् । ‘हेर्दाहेर्दै पहिरो घरसम्म आइपुग्न लाग्यो । हामी त घर छोडेर बसेका छौं । यत्रो खेतबारी र घर सबै पहिरोले लैजाने भयो,’ उनले दुःखेसो गर्दै भनिन् ।
पहिरोको जोखिम दिनानुदिन बढिरहेकाले स्थानीयलाई सचेत रहन अनुरोध गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले बताए । शुक्रबार स्थलगत अनुगमनमा पुगेका प्रजिअ गौतमले जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट पीडित परिवारलाई तत्काल केही राहत सामग्री प्रदान गर्ने र मानिसको जीउधनको रक्षा गर्ने कुरामा आफूहरू तत्काल केन्द्रित भएको जानकारी दिए ।
वडाध्यक्ष पाण्डेले यसको तत्कालीन र दीर्घकालीन समाधानका लागि सरोकारवाला सबैसँग सहकार्य र समन्वय गरिरहेको जनाएका छन् ।
महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।