पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचबाट खुलेको सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएका व्यक्ति र थुनामा रहेका व्यापारीसम्म रहेका छन् । संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा उनीमाथि अनुसन्धान चल्दै छ ।
काठमाडौँ — ११ असोजअघिसम्म ईनम सापकोटा सार्वजनिक वृत्तमा सुनिएको नाम थिएन । नीति, निर्णय, ठेक्कापट्टालगायतमा ‘फिक्सिङ’ गराउनेहरूको लामो सूचीमा पनि सापकोटा कतै आउँदैनथे ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय लगेर मोबाइल जाँच गरेपछि भने अनुसन्धान अधिकृतहरूले सापकोटाको खोजी सुरु गरे । न नातामा केही पर्ने हो न अरू केही सम्बन्ध तर पनि पूर्वप्रधानन्यायाधीश जबरासँग उनको पटक–पटक फोन सम्पर्क भएको फेला पर्यो ।
पूरै मोबाइल हेरिसक्दा जबरा मात्र होइन, सुरक्षाकर्मी र राजनीतिज्ञसँग समेत सापकोटाको सम्बन्ध रहेको सूचना मिल्यो । ‘त्यसपछि खोजीका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्युरो परिचालित गरियो । सापकोटाको मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सक्रिय देखिएको थियो,’ एक प्रहरी अधिकृतले भने, ‘सादा पोसाकको टोलीले केही बुझ्नु छ भन्दै विमानस्थलबाट लिएर हिँड्दा उनी अक्क न बक्क भए ।’ उनले पेट दुखेर जँचाउन दिल्ली जान लागेको प्रहरीलाई बताएका थिए ।
प्रहरीकहाँ लैजाने क्रममा ३० वर्षीय सापकोटालाई पक्राउ पर्न सक्ने कुनै छनक थिएन । उनीविरुद्ध कुनै उजुरी वा मुद्दा दर्तासमेत भएको थिएन ।
अपरेसनबारे जानकार एक उच्च अधिकृतका अनुसार उच्च गोपनीयता कायम होस् भनेर प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहने प्रतिआतंकवाद र अन्तरदेशीय अपराध अनुसन्धानमा खटिने प्रहरीको विशिष्टीकृत निकाय विशेष ब्युरोलाई प्रयोग गरिएको थियो । प्रहरी प्रधान कार्यालयबाहिर पनि ब्युरोका केही यस्ता गोप्य कार्यालय छन्, जसबारे धेरै अधिकृतलाई समेत जानकारी छैन । त्यसलाई ‘सेफ हाउस’ भनिन्छ । ‘सुरुमा केरकार गर्दा सापकोटाले लामो समय मुखै खोलेनन्,’ ती अधिकृतले भने, ‘तर चोलेन्द्रशमशेरको मोबाइलबाट धेरै सूचना आइसकेका कारण उनी मौन रहिरहन सक्ने अवस्था थिएन ।’
अर्कातर्फ उनको साथमा भएका दुई वटा मोबाइलको जाँचसमेत सुरु भइसकेको थियो । सामान्य ठानिएका सापकोटाको ह्वाट्सएपमा नेपाल प्रहरीकै उच्च अधिकारीहरू, केही न्यायाधीश, पूर्वन्यायाधीश, राजनीतिक व्यक्तिहरू र केही कानुन व्यवसायीसँग कुराकानी भएको भेटियो । ‘मेसेजहरू हेर्दा हाकिम सा’बहरूले बढुवामा सहयोग मागेको, मुद्दामामिलामा परेकाहरूले अदालतमा मिलाइदिनुहुन्छ कि भन्ने हिसाबले सम्पर्क गरेको जस्तो देखिन्छ,’ एक अधिकृतले भने, ‘बढुवा हुने लाइनमा भएका अधिकांशले उनीसँग सहयोग मागेको देखिन्छ । मुद्दामामिला हुनेहरूलाई अदालतमा मिलाइदिन्छु भनेको देखिन्छ । जुन कुरा ईनमले बयानमा समेत स्विकारेका छन् ।’
ईनमले ‘मेसेज’ मा आश्वासन दिएअनुसार काम भयो कि भएन भन्नेबारे स्पष्ट भएको छैन । प्रहरीले अनुसन्धान त्यतैतिर विस्तार गरेको छ । एक उच्च सुरक्षा अधिकारीले ईनम ‘एक दूतावासको डाक्टरका रूपमा चिनिन आएको’ बताए । त्यसपछि केही पटक कुराकानी भएको उनको भनाइ थियो । ईनमले प्रहरीको लत्ता, कपडा खरिदबारे समेत चासो देखाउने गरेको उनको ह्वाट्सएप विवरणको विश्लेषणले देखाउँछ । उनले एक कनिष्ठ अधिकृतसँग लत्ता–कपडाको ठेक्कापट्टाबारे कुराकानी गरेको पाइएको छ ।
अनुसन्धानका क्रममा अझ रोचक ‘नेक्सस’ त्यतिबेला खुल्यो, जब उनको मोबाइलमा ललितपुरस्थित नक्खु कारागारबाट समेत सम्पर्क भइरहेको थियो । ‘ईनम सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा थुनामा रहेका दीपक भट्ट, उनको परिवारका अर्का एक सदस्य र सुलभ अग्रवालको समूहसँग समेत सम्पर्कमा रहेको प्रमाण फेला पर्यो,’ ती अधिकृतले भने, ‘त्यसपछि माथिल्लो तहबाट आएको सूचना जोडिने कडी उनी नै हुन् भन्ने निष्कर्षमा पुग्यौं ।’
स्रोतका अनुसार केही महिनापछि सर्वोच्च अदालतसहित अन्यत्र न्यायिक काम, कारबाहीमा चलखेल र सेटिङ भइरहेको र त्यसमा दीपक भट्ट, पूर्वप्रधानन्यायाधीश जबरासहितको समूह जोडिएको भन्दै एउटा बेनामे उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको थियो । ‘त्यो उजुरी कसले दिएको थियो, थाहा छैन । तर गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालय, रानीपोखरी हुँदै उपत्यका अपराध अनुसन्धान कार्यालयसम्म उजुरी पुगेको थियो,’ ती अधिकृतले भने, ‘तर अनुसन्धान अघि बढेको थिएन, उजुरी अलपत्र जस्तै थियो ।’
त्यहीबीचमा जेन–जी आन्दोलनअघि पुराना राजनीतिक दलको नेतृत्वका सरकारमा सबैभन्दा शक्तिशाली बिचौलियाका रूपमा चिनिएका दीपक भट्टका बुबा चतुर्भुजले ७ असोजमा सर्वोच्च अदालतमा एउटा निवेदन दिए । विशेष अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध उनले त्यो निवेदन दिएका थिए । बैंकिङ कसुरमा ४२ करोड १८ लाख ८८ हजार ८ सय ७ रुपैयाँ र सम्पत्ति शुद्धीकरणको कसुरमा २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो दाबी भएको मुद्दामा उनलाई थुनामा पठाउने आदेश भएको थियो ।
पुर्पक्षका लागि थुनामा पुगेको तीन महिनापछि एकाएक भट्टका तर्फबाट सर्वोच्च अदालतमा निवेदन परेपछि उच्च सरकारी अधिकारीहरूलाई शंका लाग्यो । ‘केहीले दीपक भट्ट दसैंअघि नै छुट्दै गरेको समेत बताइरहेका थिए । त्यसपछि के रहेछ भनेर छानबिन गर्दै जाँदा पूर्वप्रधानन्यायाधीश जबरासम्म पुगियो,’ जानकार स्रोतले भन्यो, ‘जबराबाट सापकोटासम्म पुग्ने वातावरण पनि बन्यो । त्यसरी नियन्त्रणमा लिनु सही वा गलत भन्ने अर्को ठाउँमा होला, तर यो अदालतमा हुने सेटिङ भत्काउनेतर्फको एउटा पाइला हो ।’
मोबाइलबाट फेला परेको तथ्य अनि सापकोटाले दिएको बयानपछि अधिकृतहरूको निष्कर्ष छ, ‘भट्ट र जबराबीच सम्पर्क र सूचना आदानप्रदान गराउने माध्यमका रूपमा उनले भूमिका खेलेका रहेछन् ।’ त्यति मात्र होइन, उनले भीआईपीको सम्पत्तिसमेत व्यवस्थापन गरिदिएको हुन सक्ने आधार भेटिएपछि प्रहरीले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइदिएको छ । ‘सापकोटाको सिंगापुरमा एउटा कम्पनी देखिएको छ । दुबईमा अपार्टमेन्ट देखिएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘उनी नेपालभन्दा बढी विदेशमै बस्थे । नेपालमा हुने लेनदेनको रकम विदेशमा उनले व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुमान छ ।’
अनुसन्धानका क्रममा ईनमको मेसेजका स्क्रिनसटहरू हेरेको स्रोतको भनाइमा उनको सम्पर्क कारागारमा पुगेका अधिकांश भीआईपीसँग भएको देखिन्छ, केही समयमा उनीहरू छुटेका पनि छन् । ‘उनकै कारणले छुटेका हुन् वा संयोग मात्र भन्ने अर्को छानबिनको विषय हो । केही मुद्दा फैसला भएको र ईनमका नाममा जग्गासमेत प्राप्त भएको तिथिमिति मिलेको छ । ईनमले मुद्दा मिलाएर जग्गा लिए कि अन्य स्रोत उपयोग गरे भन्नेबारेमा अनुसन्धान भइरहेको छ । यस्ता शंकास्पद धेरै विषय देखिन्छन्,’ ती अधिकृतले दाबी गरे, ‘सापकोटाको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, सम्पत्ति शुद्धीकरणको कसुर गरेको आरोप लागेका पूर्वमन्त्री दीपक खड्का, कांग्रेस नेता उमेश श्रेष्ठलगायतसँग समेत कुराकानी हुने गरेको विवरण फेला परेका छन् ।’
कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा अदालतमा भएका बेला शेरबहादुर देउवा पक्षका नेताले अदालतबाट आफूहरूको पक्षमा आदेश आउने दाबी सुनाइरहेको पृष्ठभूमिमा देउवानिकट नेताहरूसँग समेत ईनमको कुराकानी भएको देखिएको ती अधिकृतको दाबी छ ।
कांग्रेसको विवादसम्बन्धी फैसला पुनरावलोकनका लागि खड्काले अग्रसरता लिएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने फैसला सर्वोच्च अदालतले गत ४ वैशाखमा गरेको थियो । त्यसमा पुनरावलोकन हुने निस्सा गत २१ साउनमा सर्वोच्चले खड्काले पार्टीमा ‘अदालतभित्र सबै मिलाइसकेकाले आधिकारिकता पाउने’ दाबीसमेत गरेका थिए । पार्टीभित्र यो चर्चा चलेपछि कांग्रेसका तत्कालीन सांसद कुसुम थापामगरले सार्वजनिक रूपमै आपत्ति जनाएकी थिइन् । ‘केही समययता तपाईंले पहिला म जेलमा भएको बेला परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्दाजस्तै सेटिङ गर्थें, अब योपालि त्यस्तो हुन नदिन मिलाइसकें, फलानी–फलानो श्रीमान्लाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकें, स्टे अर्डर पनि आउँछ, आधिकारिकता पनि आउँछ भन्नुभएको रहेछ’ भन्दै सञ्जालमा लेखेकी थिइन् ।
त्यसको प्रतिवाद गर्दै खड्काले त्यही दिन आपत्ति जनाएका थिए । ‘न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा अदालत सेटिङ गरेको भन्दै मेरोसमेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले विज्ञप्तिमार्फत भनेका थिए ।
यो आरोपप्रत्यारोप र खड्का तथा सापकोटाबीच भएको संवादलाई जोडेर पनि अनुसन्धान गरिरहेको एक प्रहरी अधिकारीले बताए । ‘अदालतसँग सम्बन्ध छ कि छैन, त्यो बेग्लै जाँचको विषय हो, तर अदालतमा मुद्दा विचाराधीन भएका अधिकांश हाई–प्रोफाइलसँग सापकोटाको सम्पर्क देखिन्छ । पूर्वप्रधानन्यायाधीश जबरासँग उनको नियमित कुराकानी भएको देखिन्छ ।’
ईनमको पूर्वन्यायाधीश नवराज थपलिया, अदालतका बिचौलिया भनेर चिनिने दीपक तिमिल्सिना, पूर्वप्रधानन्यायाधीशका भाइ प्रभुशमशेर जबरा र व्यवसायी नवीनराज बस्नेतसँग पनि कुराकानी हुने गरेको विवरण फेला परेको छ ।
गत २२ असोजमा उनीहरू सबैको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारी डिभाइस र कागजात नियन्त्रणमा लिएको छ । ‘प्रहरीले छापा मारेका सबै व्यक्ति ईनम र पूर्वप्रधानन्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने । उनका अनुसार कतिपयसँग च्याट र कतिपयसँग ‘ह्वाट्सएप कल’ देखिन्छ । ‘जबरासँग मेसेजमा कुराकानी हुँदैन थियो, ह्वाट्सएप कलमै कुराकानी भएको देखिन्छ,’ ती अधिकारीले भने ।
जबरासँग सापकोटा कसरी यति निकट बन्न पुगे ? अनुसन्धान अधिकृतहरूले ईनमको बयान उद्धृत गर्दै बताएअनुसार जबराका छोरा सचिन्द्रशमशेर जबरा र उनी कुनै बेला एउटै स्कुलमा पढेका थिए । ‘ललितपुरस्थित उमेश श्रेष्ठले सञ्चालन गरेको लिटल एञ्जेल्स (एलए) मा दाइ मेरो सिनियर हुनुहुन्थ्यो, त्यही सम्बन्धबाट उहाँसँग मेरो चिनजान भएको हो,’ अधिकृतहरूको अनौपचारिक सोधपुछमा सापकोटाको दाबी छ, ‘विस्तारै कुराकानी हुँदै गयो र उहाँमार्फत नै मेरो अरूसँग पनि चिनजान हुँदै गएको हो ।’
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वन्यायाधीश थपलिया र सापकोटाबीच पटक–पटक कुराकानी भएको देखिन्छ । थपलिया पूर्वप्रधानन्यायाधीश जबरानिकट मानिन्छन् । छोटो वकालत अवधिमै न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश जबराले चैत २०७५ मा थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरेका थिए । उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहेकै समयमा थपलिया सर्वोच्च अदालत काजमा तानिएका थिए । न्यायपरिषद्मा परेको उजुरीमा थपलियाले झगडियासँग कुराकानी गरेको, रकमको मोलाहिजा गरेको र फैसला प्रभावित बनाएको उल्लेख थियो । उनीमाथि तत्कालीन प्रधानन्यायाधीश जबरासँग निकट रही झगडियासँग भेटघाट गरी रकम लिएर उनीहरूकै पक्षमा मुद्दामा फैसला गराइएको आरोप थियो । ती उजुरीसँगै केही अडियो प्रमाण तथा कल डिटेल्स पनि समावेश गरिएको परिषद् स्रोतको दाबी थियो ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयोजकत्वमा भएको छानबिनले उनलाई कारबाहीको सिफारिस गरेको थियो । १३ फागुन २०८० मा उनलाई न्यायपरिषद्ले पदमुक्त गरेको थियो । त्यसपछि पनि थपलिया र जबरानिकट रही न्यायिक क्षेत्रमा सक्रिय थिए । ‘थपलियामाथि अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने, ‘केही न्यायाधीशसँग पनि सापकोटाको च्याट देखिएको छ । अनुसन्धान गरिरहेका छौं ।’
ईनमसँगको सूचना आदानप्रदान गरेको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन् । छानबिन प्रतिवेदन आएपछि उनलाई बर्खास्त गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएका बेलासमेत दाहाल राति नै भेट्न पुगेका थिए । ११ असोजको बिहान करिब ३ बजे जबरालाई भेट्न उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका उनी ५ बजे फर्किएका थिए । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई समेत त्यसबारे कुनै खबर थिएन । सिधै प्रहरी कार्यालय पुगेर आफू सशस्त्र प्रहरीको एआईजी भएको बताएपछि दाहालले प्रवेश पाएका थिए । भेटेर फर्किएपछि उनले आईजीपी पौडेललाई भेटबारे जानकारी गराए ।
जबरालाई भेट्न दाहाल त्यस्तो बेला पुगेका थिए, जतिबेला उनको पदावधि एक वर्ष थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गर्दै थियो । तर, त्यही बेला ईनम सापकोटाको मोबाइलमा फेला परेको विवरणले सबै कुरा उल्ट्याइदियो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार कहिले आधा घण्टा, कहिले एक घण्टा र १५ मिनेट ह्वाट्सएपमा कुराकानीसम्म सामान्य नै ठानिएको थियो, तर दुई पटक प्रधानमन्त्री वालेन्द्र शाह बालुवाटारस्थित सरकारी निवासबाट निस्किएको र बाहिरिएको सूचना नै मेसेजमा पठाएको देखियो ।
गृह मन्त्रालयले दाहालका विषयमा जाँचबुझ गर्न सशस्त्र प्रहरी बलका अर्का एक एआईजी अञ्जनीकुमार पोखरेललाई निर्देशन दियो । पोखरेलले एआईजी दाहाललाई कारबाही गर्न सिफारिस गर्दै बिहीबार मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । छानबिनमा बयान दिने क्रममा दाहालले सापकोटासँग कुराकानी हुने गरेको स्वीकार गरेको दाबी स्रोतको छ । ‘विशिष्ट श्रेणीकै अरू अधिकारीहरूसँग पनि कुराकानी भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने, ‘कुराकानी हुनुलाई नै कुनै कसुरमा संलग्न भएको मान्न त सकिएन, तर ईनमले कुनै काम नपरी सम्पर्क नगर्ने, ईनमलाई कुनै काम गराइदिन सम्पर्क गर्ने विवरणहरूले थप अनुसन्धान माग गरेको छ । हामीले अनुसन्धान विस्तार गरेका छौं ।’
यसैबीच सापकोटालाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती कविता पाण्डेले १६ असोजमा सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज भएको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको इजलासले शुक्रबार निवेदन खारेज हुने फैसला सुनाएको हो ।
गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।