संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक तथा व्यवस्थापकीय अवस्था अत्यन्त नाजुक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपाल एयरलाइन्स निजी कम्पनी भएको भए अहिलेको अवस्थामा लिक्विडेसनमा गइसक्ने अवस्था रहेको बताए ।
उनले नेपाल एयरलाइन्स नाफा कमाउने संस्था मात्र नभई राष्ट्रिय ध्वजावाहक भएकाले यसको संरक्षण र सुधारका लागि कठोर निर्णय लिनुपर्ने समय आएको बताए । पर्यटन प्रवद्र्धन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग समेत निगम जोडिएकाले यसको पुनर्संरचना आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री पौडेलले निगमको ऋणको भार घटाउने, इक्विटी बढाउने तथा अत्यधिक ब्याजदर पुनरावलोकन गर्नुपर्ने बताए । उनले जहाज थप्ने, लिजमा लिने तथा फ्लीट आधुनिकीकरण गर्नुपर्ने आवश्यकता पनि औंल्याए । कोभिड–१९ को समयमा निगमको ब्याजलाई पुँजीकरण गरिएको विषयमा समेत मन्त्री पौडेलले असन्तुष्टि जनाए । उनले त्यसरी ब्याज पुँजीकरण गर्दा निगममाथि थप आर्थिक भार परेको भन्दै त्यसलाई ‘मिटरब्याज’ सरहको व्यवहार भएको टिप्पणी गरे । निगमको व्यवस्थापकीय कमजोरीप्रति पनि मन्त्री पौडेलले प्रश्न उठाए । उनका अनुसार निगममा प्रभावकारी जनशक्ति योजना, मार्केटिङ रणनीति तथा सञ्चालन योजना कमजोर छन् । वाइडबडी जहाजको ओभरहल तथा मर्मतसम्भारका लागि आवश्यक अर्बौं रुपैयाँसमेत व्यवस्थापन गर्न नसक्नुले निगमको वित्तीय अवस्था कमजोर रहेको देखाउने उनको भनाइ थियो ।
मन्त्री पौडेलले भने, ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त गम्भीर छ । निजी कम्पनी भएको भए यो अवस्थामा लिक्विडेसनमा जाने अवस्था आउन सक्थ्यो । तर यो नाफा कमाउन मात्र स्थापना भएको संस्था होइन । राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको संस्था हो । त्यसैले निगममा मेजर रिफर्म र पुनर्संरचना आवश्यक छ । निगममा वित्तीय, मानव संसाधन, मार्केटिङ र अपरेसनल योजना कमजोर छन्। वाइडबडी जहाजको ओभरहलका लागि आगामी केही महिनामै ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको वित्तीय योजना तत्काल बनाउनुपर्छ । यस अवस्थामा सरकारको निर्णय मात्र पर्याप्त हुँदैन । निगमलाई पीपीपी वा निजी क्षेत्रको साझेदारी मोडलमा लैजाने विषयमा समेत व्यापक सार्वजनिक बहस आवश्यक छ । राष्ट्रिय ध्वजावाहकलाई दीर्घकालीन रूपमा सक्षम र आत्मनिर्भर बनाउने गरी छिट्टै ठोस निर्णय लिनुपर्छ ।'
निगमको दीर्घकालीन सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने सरकारको नीति रहेको मन्त्री पौडेलले स्पष्ट पारे । निगमलाई पीपीपी वा निजी क्षेत्रको साझेदारी मोडलमा लैजाने विषयमा व्यापक सार्वजनिक बहस आवश्यक रहेको उनको भनाइ थियो । पर्यटन प्रवद्र्धन र राष्ट्रिय आत्मविश्वासका लागि राष्ट्रिय ध्वजावाहकको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री पौडेलले सरकार निगमको पुनरुत्थानका लागि प्रतिबद्ध रहेको बताए । समितिले अगाडि बढाएको छलफलले नेपाल एयरलाइन्सलाई जोगाउन र दीर्घकालीन रूपमा सक्षम बनाउन ठोस मार्गचित्र तयार गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।