अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आईएमएफले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा यस्तो देखिएको हो ।
उक्त प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षमा ४ प्रतिशतभन्दा तल रहनेछ । यद्यपि सन् २०२६ को तुलनामा सन् २०२७ मा वृद्धिदर सामान्य सुधार हुने अनुमान गरिएको छ । सन् २०२७ मा नेपालको अर्थतन्त्र ३.७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । आईएमएफको प्रतिवेदनले नेपालमा महँगी पनि आगामी वर्ष बढ्ने देखाएको छ । सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यसले सन् २०२६ मा महँगीको दबाब केही कम भए पनि त्यसपछिको वर्ष उपभोक्ताले पुनः मूल्यवृद्धिको सामना गर्नुपर्ने जोखिम रहेको संकेत गर्छ। विशेषगरी पेट्रोलियम पदार्थको मूल्यमा हुने वृद्धि र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा देखिने अवरोधले नेपालजस्ता आयातमा निर्भर अर्थतन्त्रलाई प्रभावित पार्न सक्छ।
त्यसतै,आईएमएफका अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यो सन् २०२५ मा अनुमान गरिएको ३.५ प्रतिशतको वृद्धिभन्दा कम हो। सन् २०२७ मा भने विश्व आर्थिक वृद्धिदर पुनः बढेर ३.४ प्रतिशत पुग्ने अनुमान छ। भूराजनीतिक तनाव र युद्धका कारण विश्व अर्थतन्त्रमा अवरोध उत्पन्न भए पनि प्रविधि क्षेत्रमा भइरहेको लगानी, आर्थिक धक्का सामना गर्न अपनाइएका उपाय र बदलिँदो परिस्थितिअनुसार अर्थतन्त्रले गरेको अनुकूलनले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्न सहयोग गरेको आईएमएफले जनाएको छ।
विशेषगरी कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व आर्थिक वृद्धिलाई टेवा दिएको छ। एआईका लागि आवश्यक पूर्वाधार, उपकरण र प्रविधिमा भइरहेको खर्चले केही प्रमुख अर्थतन्त्रमा आर्थिक गतिविधि बढाएको छ। तर, यो लाभ सबै देशमा समान रूपमा नपुगेको आईएमएफको विश्लेषण छ। विश्व आर्थिक वृद्धिको सम्भावना कायम रहे पनि आगामी दिनमा भूराजनीतिक द्वन्द्व, व्यापार तनाव, ऊर्जा मूल्य र वित्तीय जोखिमले वृद्धिमा थप दबाब पार्न सक्ने कोषले चेतावनी दिएको छ।