सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मंगलबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ। कालोसूचीमा पर्ने कम्पनीहरूमा बराहा डेभलपर्स प्रालि, दिपक निर्माण सेवा, अभियन्ता कन्स्ट्रक्सन प्रालि, फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रालि र प्रिन्स कन्स्ट्रक्सन रहेका छन् ।
कार्यालयले बराहा डेभलपर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको उक्त कम्पनीका मुख्य व्यक्ति भीमबहादुर साउँद हुन् । कम्पनी यसअघि राजेन्द्र निर्माण सेवा प्रालिका नामबाट समेत परिचित थियो । कमलबजार नगरपालिकाको सिफारिसका आधारमा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । अन्य चार कम्पनीलाई भने दुई–दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ मा रहेको दिपक निर्माण सेवाका मुख्य व्यक्ति सोमन्त यादव हुन् । हरिनगर गाउँपालिकाको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो । त्यसैगरी, रुपन्देहीको बुटवल–९ स्थित अभियन्ता कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति सजल नेपाल हुन् । भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा उक्त कम्पनीमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा रहेको फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रालिका मुख्य व्यक्ति रामकुमार श्रेष्ठ हुन् । पशु रोग अन्वेषण प्रयोगशाला, पोखराको सिफारिसमा कम्पनीलाई कालोसूचीमा राखिएको हो । यसैगरी, पर्साको कालिकामाई गाउँपालिका–२, भेडीहारीमा रहेको प्रिन्स कन्स्ट्रक्सनका मुख्य व्यक्ति अरविन्द चौरसिया हुन् । प्रसौनी बहुप्राविधिक शिक्षालय, बाराको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।