Trending
Prev Story
Next Story

सरायको लयमा रमाउँदै अर्घाखाँची

Ekantipur •
October 23, 2026 • 03:30 PM
1
1 reads 0 reactions

दसैंको टीकापछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका शक्तिपीठमा सराय नाच्ने, हेर्ने र आफन्तसँग भेटघाट गर्नेको रौनक छाएको छ ।

सरायको लयमा रमाउँदै अर्घाखाँची

दसैंको टीकापछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका शक्तिपीठमा सराय नाच्ने, हेर्ने र आफन्तसँग भेटघाट गर्नेको रौनक छाएको छ ।

अर्घाखाँची — दसैं मनाउन सहर र विदेशबाट जन्मथलो आएकाहरू परिवारका सदस्यसहित शक्तिपीठका मन्दिरमा धाउन थालेका छन् । त्यहाँ पुगेर हातमा तरबार, खुँडा र भाला लिन्छन् । बाजा र झेलीको तालमा बालबालिकादेखि युवा, प्रौढ र वृद्धसम्म गोलाकार घुम्दै नाचिरहेको दृश्यले युद्ध जितेर विजय उत्सव मनाएको झल्को दिन्छ । कतै हतियार नचाउँदै सराय खेल्नेको उत्साह, कतै तिनको नाच हेर्ने दर्शकको भीड र छेउमा जुलबी पकाउनेको भ्याइनभ्याइ छ । आफन्त र साथीभाइसँगको भेटघाट अनि दसैंको उल्लाससँगै अर्घाखाँचीका दुर्गाभगवती मन्दिरका शक्तिपीठमा यतिबेला सराय उत्सवको रौनक छ ।

दसैंको टीका लगाएपछि सुरु हुने सराय नाच एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका विभिन्न शक्तिपीठमा सञ्चालन हुन्छ । धार्मिक आस्था, ऐतिहासिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको सरायमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुन्छन् । महिला र पुरुष दुवै हतियार नचाउँदै नाचिरहेका छन् । कोही बाजा बजाउँदै छन् त कोही सरायका दृश्य तस्बिर र भिडियोमा कैद गरेर सामाजिक सञ्जालमा साझा गरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालका लागि सराय बाल्यकालदेखिकै रुचि हो । सानैदेखि बाजा बजाउने, भाला र तरबार नचाउँदै सराय खेल्ने गरेका उनी अहिले सांसद बनेपछि पनि अर्घाखाँचीका शक्तिपीठमा धाएका छन् ।

‘मलाई सानैदेखि सराय नाच्न मन पर्छ । भ्याएसम्म एकादशीदेखि पूर्णिमासम्म दैनिक शक्तिपीठका मन्दिरमा पुगेर सराय खेल्छु,’ भुसालले भने, ‘बाजा बजाउँदै भाला, खुँडा र तरबार समातेर नाच्दा बेग्लै आनन्द आउँछ ।’

उनका लागि सराय मनोरञ्जनमा मात्र सीमित छैन । यो पुर्खाले हस्तान्तरण गरेको संस्कृति र आफ्नो क्षेत्रको पहिचान पनि हो । सरायमा सहभागी हुँदा बाल्यकालका दौंतरी, पुराना साथीभाइ, छिमेकी र नयाँ परिचितसँग भेटघाट हुने भएकाले पनि यसप्रतिको लगाव झन् बढेको उनले बताए ।

‘ऐतिहासिक महत्व बोकेको सराय हाम्रो संस्कृति र पहिचान हो । बुढापाका पुस्ताबाट सिक्दै यसको संरक्षण गर्नुपर्छ,’ भुसालले भने ।

वैदेशिक रोजगारीबाट फर्केर काठमाडौंमा व्यवसाय गर्दै आएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका प्रकाश बेल्वासे दसैं मनाउन आफ्नो जन्मथलो फर्किए । मान्यजनबाट टीका लगाएपछि उनको समय सरायमै बित्न थाल्यो । उनी दुर्गाभगवती मन्दिरमा पुगेर पूजापाठ गर्ने, सरायको व्यवस्थापनमा सघाउने तथा भाला, खुँडा, बाजा, आलम र भगवतीको मूर्ति मन्दिरबाट बाहिर निकाल्न सहयोग गर्ने काममा जुटेका छन् । त्यसपछि आफैँ हातमा हतियार लिएर सरायमा नाच्न अगाडि सर्छन् ।

‘म टीकालाई भन्दा सरायलाई बढी महत्व दिन्छु । हाम्रो परम्परा र संस्कृति जोगाउन भ्याएसम्म दैनिक तीन/चारवटा मन्दिरमा पुगेर सराय नाच्छु,’ बेल्वासेले भने ।

सरायप्रतिको उनको लगाव मन्दिरमा नाच्नमा मात्र सीमित छैन । गाउँमा उपस्थित हुन नसकेका आफन्त र साथीभाइले पनि आफ्नो संस्कृति देख्न सकून् भन्ने उद्देश्यले सरायका तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्छन् ।

‘घरमा आउन नपाएकाले भिडियो हेरेर हाम्रो संस्कृति बुझून् र अर्को वर्ष दसैं मनाउन गाउँ फर्किऊन् भन्ने उद्देश्य हो,’ उनले भने, ‘म सरायप्रेमी हुँ । यसको संरक्षण गर्नुपर्छ । भविष्यका पुस्ताका लागि पनि यो संस्कृति अध्ययनको विषय बन्न सक्छ ।’

बेल्वासेका अनुसार सराय गाउँघरमा छरिएर रहेका आफन्त, इष्टमित्र र साथीभाइलाई भेट्ने अवसर पनि हो । रोजगारी, व्यवसाय र अध्ययनका लागि गाउँबाहिर पुगेकाहरू दसैंमा फर्कंदा बाल्यकालका साथीभाइसँग भेट हुन्छ । कतिपयसँग लामो समयपछि भेट हुने भएकाले सरायले पुराना सम्बन्धलाई पुनः जोड्ने काम गर्ने उनले बताए ।

पहिले गाउँघरमा सराय हेर्न र नाच्न जाँदा घरको ढोका लगाएरै जाने चलन रहेको उनी सम्झन्छन् । अहिले युवा पुस्तामा सरायप्रतिको आकर्षण झन् बढेको उनले बताए । दसैंको टीकाले परिवार र मान्यजनसँगको सम्बन्धलाई जोड्छ भने सरायले गाउँसमाजका आफन्त र साथीभाइलाई एकै ठाउँमा भेला गराउँछ । ‘सरायमा सहभागी हुनु धर्म र संस्कृतिको जगेर्ना गर्नु मात्रै होइन, मनलाई आनन्दित बनाउने र ताजा महसुस गराउने माध्यम पनि हो,’ उनले भने ।

सन्धिखर्क नगरपालिका–१० अर्घाका स्थानीय कृष्ण आचार्य पनि हरेक वर्ष सरायमा सहभागी हुन्छन् । शक्तिपीठमा पुगेर पुजारीबाट निधारमा टीका, कानमा जमरा र घाँटीमा धजा बाँधेपछि हातमा तरबारलगायतका हतियार लिएर नाच्दा मनमा छुट्टै ऊर्जा सञ्चार हुने उनको अनुभव छ ।

‘म सधैँ सरायमा नाच्छु । त्यो बेला मनमा आनन्द, ऊर्जा र शान्ति मिल्छ,’ आचार्यले भने, ‘अरू बेला जागिर, घरको काम र साथीभाइसँगको भेटघाटमै दैनिकी बित्छ । वर्षदिनमा आउने दसैंमा सराय नाचेर मनलाई ताजा बनाउनुपर्छ ।’

अर्घाखाँचीको सराय परम्परामा अर्घादरबारस्थित कालिका भगवती मन्दिरको विशेष महत्व छ । कोजाग्रत पूर्णिमाका दिन यहाँ भव्य सराय जात्रा लाग्छ । स्थानीय किंवदन्तीअनुसार सराय नाचको सुरुवात अर्घाकोट र खाँचीकोटबाट भएको मानिन्छ । जिल्लाका विभिन्न दुर्गाभगवती मन्दिरमा सराय नाच्दै मनाइने दसैंलाई पूर्णिमाका दिन अर्घामा हुने जात्रासँगै बिदाइ गर्ने परम्परा छ ।

पहिले गाउँगाउँमा मोटरबाटो र यातायातको सुविधा नहुँदा श्रद्धालु घण्टौँ पैदल हिँडेर अर्घाकोटस्थित मन्दिर पुग्थे । भगवतीको दर्शन गर्ने, भाकल पूरा गर्ने, परेवा चढाउने, सराय नाच्ने र हेर्ने उद्देश्यले उनीहरू मन्दिरमा भेला हुन्थे । अहिले यातायातको सुविधा बढेसँगै गाडी रिजर्भ गरेरै सयौँ भक्तजन पूर्णिमाका दिन अर्घा आउने गरेका छन् ।

आचार्यका अनुसार सञ्चार सुविधा विकसित हुनुअघि अर्घाकोट र खाँचीकोटमा दसैंको टीकाको साइतमा ठूलो स्वरमा घण्टी बजाउने र गाउँमा टीका लगाउने चलन थियो ।

अर्घादरबारमा पूर्णिमाका दिन दिनभर सराय नाच्ने, भगवतीको दर्शन गर्ने र दसैंलाई बिदाइ गर्ने परम्परा कायम छ ।

‘पूर्णिमाका दिन अर्घामा दिनभर सराय खेल्छु । टीका लगाएपछि मन्दिर परिसरमा हुने सरायमा पनि सहभागी हुन्छु,’ आचार्यले भने ।

उनका अनुसार सरायले पुराना चिनजानसँग भेटघाट गर्ने र नयाँ व्यक्तिसँग परिचित हुने अवसर पनि हो ।

सरायमा महिला पनि हतियार समातेरै नाचिरहेका छन् । टोलैपिच्छेका दुर्गाभगवती मन्दिरका शक्तिपीठमा यतिबेला बालबालिकादेखि वृद्धसम्मका नागरिक सरायमा नाच्ने, हेर्ने तथा भिडियो र तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै रमाइरहेका छन्, उत्सव मनाइरहेका छन् ।

यतिबेला युवायुवती शक्तिपीठका मन्दिरसँगै रमणीय डाँडाकाँडामा पनि धाइरहेका छन् । पर्यटकीय गन्तव्य भएका ठाउँमा घुमफिर गरेर रमाइरहेका छन् ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

२६ कात्तिक, प्युठान । ढोल–मादलको तालमा तरबार उचाल्दै गाउँलेहरू ‘वाख्यै... वाख्यै...’ भन्दै नाचिरहेका थिए । कसैको गलामा फूलको माला थियो, कसैको हातमा तरबार । भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा देखिएको यो दृश्य पुस्तौँ पुरानो ‘डल्ले सराय …

#सराय
Compare →

Related Stories

World News
Build #2611