बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष जोशीको खर काट्ने क्रममा भिरबाट लडेर निधन भएको हो ।
बझाङ — बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको निधन भएको छ ।
५० वर्षीय जोशी गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उद्धारको तयारी गर्दागर्दै मृत्यु भएको हो।
उनका आफन्त रामचन्द्र जोशीका अनुसार भिरबाट लडेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको थियो। गम्भीर घाइते भएको खबर पाएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको थियो। यद्यपि, हेलिकोप्टर उड्न नपाउँदै उनको मृत्यु भएको जोशीले बताए।
जोशी दुई कार्यकाल वडाध्यक्ष भएका थिए। २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष जोशीका श्रीमती, दुई छोरा र एक छोरी छन्।
लोकप्रिय जनप्रतिनिधिका रूपमा रहेका जोशीको निधनले स्थानीय शोकमा छन्।
वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।