मृतकका परिवारले क्षतिपूर्तिबापतको रकम प्राप्त गर्न हेटौंडासम्म धाउनुपर्ने बाध्यता हटाउन मकवानपुर प्रशासनले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्राचार गरेको हो।
मकवानपुर — मकवानपुरको भीमफेदीमा भएको माइक्रो बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया सहज बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले पहल थालेको छ।
मृतकका परिवारले क्षतिपूर्तिबापतको रकम प्राप्त गर्न हेटौंडासम्म धाउनुपर्ने बाध्यता हटाउन मकवानपुर प्रशासनले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्राचार गरेको हो। पत्रमार्फत मृतकका हकवालाको पहिचान गरी उनीहरूको बैंक खाता नम्बर उपलब्ध गराइदिन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले मृतकका हकवालाको विवरण र बैंक खाता नम्बर उपलब्ध गराएपछि सरकारी बीमाबापतको क्षतिपूर्ति रकम सम्बन्धित परिवारकै खातामा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियामा थप सहजता होस् र रकम बुझ्नकै लागि अर्को जिल्ला धाउनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको अधिकारीले बताए।
कात्तिक २६ गते बिहीबार बिहान चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।