अरू त अरू, हर्क साम्पाङको समेत पारो तताइदिएको थियो फिल्म ‘ककाकिकी’ले । ट्रेलर रिलिजको सिलसिलामा गरिएको नियोजित नाटकले धेरैलाई ‘अप्रिल फुल’ मनाइदियो ।
त्यही भिडमा थिए हर्क, साम्पाङ पनि ।
पहिले त उनी कलाकारको बचाउमा उत्रिए । र, कलाकारलाई दिनदहाडै हतकडी लगाएकोमा आपत्ति जनाए ।
तर, साँझतिर उनले थाहा पाए, यो केवल प्रचार फन्डा थियो । त्यसपछि बालेन सरकारमाथि पोखिएको उनको लाटो रिस फिल्म निर्माण टिमतर्फ सोझियो ।
उनले आफ्नै शैलीमा फिल्मलाई गाली गरे ।
गाली होस् वा ताली, फिल्मले खोजेको चर्चा थियो । एक कान दुई कान मैदान हुँदै यो चर्चाको उत्कर्षमा पुग्यो पनि ।
यद्यपि, चर्चाको उक्त चुलीमा गालीको वर्षा थियो । मान्छेहरू भनिरहेका थिए, ‘के यस्तो भद्दा मजाक गरेको ?’
फिल्मको ट्रेलर हेरेर त्यसको रचनात्मक पक्षबारे बहस भएन । बरु मान्छेहरूले मुखभरीको गाली गरे । यसरी पहिलो गाँसमै ढुंगा भनेजस्तै भएथ्यो, ‘ककाकिकी’ टिमलाई ।
त्यो गाली प्रिमियरको दिनमा भने हाँसोमा रूपान्तरित भयो । हँसाउनकै लागि बनाएको फिल्मले आगन्तुकको अनुहारलाई चन्द्राकार बनाइरह्यो ।
मंगलबार साँझ सिटी सेन्टरस्थित बिग मुभिजमा कलाकर्मीको सानोतिनो मेला नै लागेको थियो । त्यहाँ मदनकृष्ण श्रेष्ठदेखि शिव श्रेष्ठसम्म भिडमा देखिन्थे ।
भनिहालौँ, यो फिल्म कमेडीको जगबाट उठेका कलाकारहरूले बनाएका हुन् । यसका निर्देशक बिक्की अग्रवाल र श्रद्धा प्रसाईं हुन् । निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् ।
तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले अभिनय गरेका छन् ।
चलचित्र ‘ककाकिकी’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । योसँगै अब चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
हास्यप्रधान विषयवस्तुमा निर्माण भएको चलचित्रलाई परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न सक्नेछन् ।
‘ककाकिकी’ आउँदो शुक्रबार अर्थात् मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ ।