९ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका विकास निर्माणका कामदेखि सामाजिक सुरक्षा भत्ता वितरणसम्म प्रभावित भएको छ ।
असोज ५ गते भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलालाई खडक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्ने गरी सरुवा गरेको थियो ।
तर, प्रचलित कानुनी व्यवस्थाविपरीत सरुवा गरिएको दाबी गर्दै बर्तौला सरुवा बदरको मागसहित असोज १४ गते न्यायिक उपचारका लागि प्रशासकीय अदालत पुगेका थिए ।
उनको निवेदनमाथि सुनुवाइ गर्दै अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे र सदस्य नवलकिशोर यादवको इजलासले असोज १५ गते अन्तरकालीन आदेश जारी गरेको थियो ।
अदालतले दुवै पक्षबीच छलफल नभएसम्म मन्त्रालयको असोज ५ गतेको सरुवा निर्णय र त्यसअनुसार जारी गरिएको पत्र कार्यान्वयन नगर्न तथा यथास्थितिमा राख्न आदेश दिएको थियो । साथै बर्तौलालाई रमाना नदिन समेत आदेशमा उल्लेख थियो ।
२० कात्तिकमा उनको निवेदनमाथि सुनुवाइ गर्दै प्रशासकीय अदालतका सदस्य नवलकिशोर यादवको इजलासले यसअघिको आदेशलाई निरन्तरता दिएको छ ।
बर्तौला बुढानीलकण्ठ नगरपालिकामा काममा फर्किसकेका छन् ।
योसँगै खडक नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कहिले आउने भन्ने अन्योल थपिएको छ ।
मन्त्रालयले वैकल्पिक प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगर्दा नगरपालिकाको प्रशासनीक कार्य सबै ठप्पजस्तै बनेको नगर प्रमुख जयप्रकाश चौधरीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाले पाउने त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा तथा वितरण हुन सकेको छैन ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा र प्रोत्साहन भत्ता भुक्तानीसमेत रोकिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, चालु आर्थिक वर्षका विकास निर्माण योजनाको सम्झौता, बजेट अख्तियारी, निर्माण कार्यको बिल भुक्तानी तथा अत्यावश्यक सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको नगर प्रमुख चौधरीले बताए ।
यसअघि खडक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठको पनि मन्त्रालयले असोज ५ गते नै सरुवा गरेको थियो ।
श्रेष्ठ असोज १४ गते रमाना लिएर अन्यत्र गएपछि नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन सकेका छैनन् ।
त्यसयता उक्त पद रिक्त रहँदै आएको छ ।