वीरगन्जस्थित गुरुद्वारा साहेबमा भजन–कीर्तन, अखण्ड पाठ तथा लंगर प्रसाद वितरण गरी गुरु नानकको जन्मजयन्तीलाई प्रकाशोत्सवका रूपमा मनाइएको हो ।
पर्सा — वीरगन्जका सिख समुदायले सिख धर्मका प्रवर्तक तथा प्रथम गुरु गुरु नानकको ५५७औं जन्मजयन्ती मंगलबार मनाएका छन्। वीरगन्जस्थित गुरुद्वारा साहेबमा भजन–कीर्तन, अखण्ड पाठ तथा लंगर प्रसाद वितरण गरी गुरु नानकको जन्मजयन्तीलाई प्रकाशोत्सवका रूपमा मनाइएको हो।
जन्मजयन्तीका अवसरमा गुरुद्वारामा सिख समुदायका महिला, बालबालिका तथा पुरुषको उपस्थिति थियो। सिख समुदायका अतिरिक्त अन्य धर्म र समुदायका व्यक्तिहरू पनि गुरुद्वारामा पुगेर शुभकामना आदानप्रदान गरेका थिए। जात, धर्म र समुदायको विभेद नगरी एउटै पंक्तिमा बसेर भोजन गर्ने लंगर परम्पराले कार्यक्रममा धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएको थियो।
तीन दिनदेखि वीरगन्जका सिख समुदायले प्रभातफेरी निकाल्नुका साथै गुरुद्वारामा अखण्ड पाठ गरिरहेका थिए। मंगलबार साँझ गुरुद्वारा तथा समुदायका सदस्यका घरमा दीपावली गर्ने कार्यक्रमसमेत रहेको समुदायका अगुवा जसपाल सिंहले बताए।
गुरु नानकजीलाई बाबा नानक र नानकशाहलगायत नामले पनि सम्बोधन गरिन्छ। उनको जन्मजयन्तीलाई प्रकाशोत्सवका रूपमा मनाउने सिख समुदायले यस दिन उनको जीवन, दर्शन, योगदान र यात्राको स्मरण गर्दै शब्द–कीर्तन, धार्मिक प्रवचन तथा प्रार्थना गर्ने गर्छन्। मानवता, समानता र सेवाको सन्देश प्रवाह गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको सिंहले बताए।
गुरु नानकको जन्म सन् १४६९ अप्रिल १५ मा हाल पाकिस्तानको लाहोर नजिकैको तलवन्डीमा भएको थियो। उक्त स्थान अहिले ननकाना साहिबका नामले चिनिन्छ। पिता कल्याणचन्द दास बेदी र माता तृप्ताका सन्तानका रूपमा जन्मिएका गुरु नानकले जीवनभर सामाजिक विभेद, धार्मिक अन्धविश्वास र अन्यायविरुद्ध आवाज उठाउँदै मानव कल्याणको सन्देश दिएका थिए। त्यस क्रममा उनले लामो धार्मिक तथा आध्यात्मिक यात्रा गरेका थिए।
ती यात्राकै क्रममा गुरु नानक नेपालको राजधानी काठमाडौंसम्म आएको ऐतिहासिक प्रमाण रहेको सिंह बताउँछन्। सन् १५३९ सेप्टेम्बर २२ मा पाकिस्तानको हालको करतारपुरमा उनको देहावसान भएको थियो।
गुरु नानकका शिक्षाको मूल आधार एक ईश्वर, इमानदार श्रम र सामूहिक हित हो। उनको दर्शनमा रहेको ‘इक ओंकार’ले सम्पूर्ण सृष्टिको एकत्व र सबै मानिस समान रहेको सन्देश दिन्छ।
वीरगन्जमा सिख समुदायको बसोबास सुरु भएको करिब छ दशक भएको छ। नेपालमा यातायात क्षेत्रको व्यावसायिक जग बसाल्न भारतबाट आएका सिख समुदायको महत्त्वपूर्ण योगदान रहेको स्थानीय अगुवाहरू बताउँछन्। त्यसबेला नेपालका कठिन सडकमा यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन गरेर यो समुदायले यातायात क्षेत्रको विकासमा योगदान पुर्याएको थियो।
तर २०५० र २०६० को दशकमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेपछि यातायात व्यवसाय प्रभावित हुँदा सिख समुदायका कतिपय परिवार वीरगन्जबाट अन्यत्र पलायन भए। कुनै समय आदर्शनगर र पानीटंकी क्षेत्रमा बाक्लो उपस्थिति रहेको यो समुदायको जनसंख्या अहिले तुलनात्मक रूपमा घटेको छ।
नेपाल सरकारले गुरु नानक जयन्तीका अवसरमा सिख समुदायलाई बिदा दिने गरे पनि अन्य प्रमुख धार्मिक पर्वमा जस्तै राष्ट्रिय सार्वजनिक बिदा दिनुपर्ने माग समुदायले लामो समयदेखि गर्दै आएको छ। धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको यस पर्वलाई राष्ट्रिय मान्यता दिनुपर्ने समुदायको माग छ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।