वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सोमबार सम्पन्न अन्तरपालिका बैठकले सार्वजनिक यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पार्न समिति गठन गरेको हो ।
पर्सा — वीरगन्जसहित बारा र पर्साका आधा दर्जन पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । ग्रामीण बस्तीलाई मुख्य सडकसँग जोड्दै सर्वसाधारणको आवागमन सहज बनाउने उद्देश्यले अन्तरपालिका यातायात सेवा सञ्चालन गर्न लागिएको हो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सोमबार सम्पन्न अन्तरपालिका बैठकले सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पार्न समिति गठन गरेको छ ।
महानगरपालिकाको राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा गठित समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकरप्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादवसहित सम्बन्धित पालिकाका प्रतिनिधि सदस्य छन् । समितिले सम्भावित रुट, सवारी व्यवस्थापन, सञ्चालनको ढाँचा र आवश्यक स्रोतसाधनबारे अध्ययन गर्नेछ । यातायात सञ्चालनमा लाग्ने खर्च, इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, नियमित सर्भिसिङ, मर्मतसम्भार र पालिकाबीच खर्च बाँडफाँटको व्यवस्थाबारे पनि प्रतिवेदन तयार पार्नेछ ।
बैठकमा प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकासँग समन्वय गरी आगामी बैठकमा सहभागी गराउने विषयमा समेत छलफल भएको थियो ।
प्रस्तावित सेवाबाट मुख्य सडकबाट टाढा रहेका ग्रामीण बस्तीका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । सार्वजनिक यातायातको पहुँच विस्तार भएपछि निजी सवारीमा निर्भर हुनुपर्ने र गन्तव्यमा पुग्न पटकपटक सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ ।
बैठकमा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीलगायत सहभागी थिए । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा समेत सहभागी थिए ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।