इसिमोडसहितका संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको पहाडी क्षेत्रमा तापक्रम सरदरभन्दा बढी रहनेछ भने उच्च हिमाली भेगमा सरदरभन्दा कम रहने सम्भावना छ ।
काठमाडौँ — यसपालिको हिउँदमा नेपालभर सरदरभन्दा बढी वर्षा हुने र उत्तरी हिमाली क्षेत्रमा औसतभन्दा बढी हिउँ जम्ने प्रक्षेपण गरिएको छ । काठमाडौंस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सहितका संस्थाले सार्वजनिक गरेको हिउँदे मौसमको पूर्वानुमानअनुसार नेपालको मध्य क्षेत्रमा वर्षा बढी हुने संकेत देखिएको छ।
इसिमोड, बेइजिङ नर्मल विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको वायुमण्डलीय भौतिक विज्ञान संस्थानले तयार पारेको ‘ एचकेएच विन्टर आउटलुक २०२६ ’ ले नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रका अधिकांश देशमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको हो ।
यो पूर्वानुमान अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (नोआ) ले सन् २०२६ मा बलियोदेखि अति बलियो अवस्थाको एल निनो विकसित हुने र सन् १९५० यताकै शक्तिशाली बन्न सक्ने सम्भावना करिब ६० प्रतिशत रहेको बताइरहेका बेला सार्वजनिक भएको हो । इसिमोडका वैज्ञानिकहरूका अनुसार एल निनोको प्रभावले हिमालका फेदी तथा आसपासका क्षेत्रमा बढी वर्षा र उच्च उचाइमा बढी हिमपात हुन सक्छ ।
नेपालको उत्तरी क्षेत्रमा सरदरभन्दा बढी हिउँ जम्ने प्रक्षेपण गरिएको छ । बढी हिउँ जम्ने अनुमानले हिमाली नदीका जलप्रवाह, सिँचाइ र जलविद्युत् उत्पादनका लागि सकारात्मक सम्भावना देखाए पनि यसको प्रभाव मौसमी अवस्था र हिउँ पग्लिने समयसँग जोडिनेछ । तर बढी वर्षा र हिमपातको प्रक्षेपणसँगै हिमाली क्षेत्रमा बाढी, पहिरो र हिमपहिरोको जोखिम पनि उत्तिकै महत्त्वपूर्ण हुने प्रतिवेदनले औंल्याएको छ । विशेषगरी हिन्दुकुश हिमालयको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण स्थानीय स्तरमा बाढी, पहिरो र हिमपहिरो आउन सक्ने सम्भावना छ ।
हिउँदमा वर्षा बढी हुने अनुमान गरिए पनि नेपालमा वन डढेलोको जोखिम भने पूर्ण रूपमा हट्ने छैन । प्रतिवेदनअनुसार नेपालका अधिकांश वन तथा घाँसेमैदान क्षेत्रमा डढेलोको जोखिम अति न्यून रहनेछ । तर पश्चिमी र पूर्वी सीमान्त क्षेत्रका केही स्थानमा न्यूनदेखि मध्यम जोखिम हुन सक्छ ।
इसिमोडका अनुसार बढी वर्षा हुने प्रक्षेपण गरिए पनि हिन्दुकुश हिमालय क्षेत्रका सबै ठाउँमा मौसम एकनासको हुनेछैन । अफगानिस्तान, बंगलादेश, पाकिस्तान र चीनको सिजाङ क्षेत्रका अधिकांश भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । भारतको दक्षिणी क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने देखिएको छ । भुटानको उत्तरी क्षेत्रमा सरदरकै हाराहारीमा वर्षा हुने प्रक्षेपण छ ।
हिउँको अवस्था पनि देशअनुसार फरक रहनेछ । अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्र, पाकिस्तानको उत्तरी भाग, भारतको हिमाचल प्रदेश र नेपालको उत्तरी हिमाली क्षेत्रमा सरदरभन्दा बढी हिउँ जम्ने अनुमान छ । यसको विपरीत भुटानको पश्चिमी तथा उत्तरी क्षेत्र र चीनको पूर्वी सिजाङका केही भागमा सरदरभन्दा कम हिउँ जम्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
यसअघि सन् २०२६ को मनसुनमा नेपाल र भुटानसहित हिन्दुकुश हिमालय क्षेत्रका विभिन्न स्थानमा विनाशकारी प्राकृतिक विपद् निम्तिएका थिए । हिमाली क्षेत्रमा हिमनदी र पर्माफ्रस्टमा आएको परिवर्तनले यस्ता विपद्को जोखिम बढाएको थियो । गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो ।
प्रतिवेदनका प्रमुख लेखक सार्थक श्रेष्ठले मौसम प्रणाली र नदीले राष्ट्रिय सीमा नमान्ने भएकाले तिनको अध्ययन र पूर्वानुमानमा पनि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन् । उन्नत पूर्वानुमान विधि र क्षेत्रीय विज्ञताको संयोजनले हिन्दुकुश हिमालय क्षेत्रका आठवटै देशलाई आगामी मौसमको साझा चित्र उपलब्ध गराउने उनको भनाइ छ ।
इसिमोडका जलविज्ञानी मनिष श्रेष्ठले विपद्को पूर्वतयारी मनसुनमा मात्र सीमित गर्न नहुने बताए । वर्षा थप अनियमित र तीव्र हुँदै जाँदा स्थानीय तहले मौसमी पूर्वानुमानका आधारमा पूर्वतयारी गर्नुपर्ने र आवश्यक परेको बेला तत्काल निर्णय लिन छोटो अवधिका स्थानीय पूर्वानुमानसमेत उपयोग गर्नुपर्ने उनको सुझाव छ ।
इसिमोडले प्रतिवेदनका निष्कर्षबारे नोभेम्बर २५ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा छलफल गर्ने भएको छ ।