एक यात्रुवाहक भ्यान र विद्यार्थी बोकेको स्कुल बस चलाउने चालकलाई चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
रौतहट — रौतहटमा मादक पदार्थ सेवन गरी स्कुल बस र सवारी चलाएको अवस्थामा २ चालकलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । उनीहरूविरुद्ध सवारीसाधनको कागजात जाँच गर्न खोज्दा प्रहरीसँग विवाद र अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय गौरबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार अबेर म्याद थप गरिएको छ ।
जिल्ला ट्राफिक र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधनको कागजात जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारेपछि दुवैलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरीका अनुसार मंसिर ४ गते चन्द्रपुर नगरपालिका–४ जंगलटोलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ज ०१४८ नम्बरको यात्रुवाहक विद्युतीय भ्यानलाई प्रहरीले चेकजाँचका लागि रोकेको थियो ।
भ्यान चालक चन्द्रपुर नगरपालिका–६ मोतियाहीका चन्दु चौधरीले मादक पदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले सवारीसाधनको कागजात माग गर्दा ड्युटीमा खटिएका प्रहरीसँग विवाद र अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, मंसिर ६ गते बिहान चन्द्रपुर नगरपालिका–६ बजारटोलस्थित चन्द्रनिगाहपुर–गौर सडकखण्डमा सवारीसाधनको कागजात जाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको माउन्ट एभरेस्ट विद्यालय, चन्द्रनिगाहपुरको विद्यार्थी बोकेको बसलाई प्रहरीले रोकेको थियो । प्रदेश ०२–००१ क १४४६ नम्बरको उक्त बसका चालक गुजरा नगरपालिका–२ हरिहरपुरका मिलन जिम्बा थिए ।
उनले मादक पदार्थ सेवन गरेको अवस्थामा रहेकाले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । तर, प्रहरीको विज्ञप्तिमा दुवै घटनामा चालकले कागजात देखाउनुको सट्टा प्रहरी टोलीसँग विवाद गर्दै अशब्द प्रयोग गरेको र अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । दुवै घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौर, रौतहटबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।