५९ ऐन संशोधनको तयारीबीच सरकारले संसद् बोलाउनुअघि अत्यावश्यक कानुन परिवर्तन गर्ने योजना बनाएपछि विपक्षीले संसदीय प्रक्रियामाथि प्रश्न उठाएका छन्।
काठमाडौँ — सरकारले अझै केही अध्यादेश ल्याएर मात्रै संघीय संसद्को हिउँदे (विधेयक) अधिवेशन बोलाउने तयारी गरेको छ । यही २३–२४ मंसिरमा काठमाडौंमा हुन लागेको पूर्वाधार सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश ल्याउन लागेको हो ।
संसद् अधिवेशन बोलाउनेबारे सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग परामर्श गरेका थिए । ‘सरकारले लगानी सम्मेलनका लागि केही अध्यादेश ल्याउनैपर्ने भएको जानकारी गराएको छ । त्यसलगत्तै संसद् अधिवेशन बोलाउने भन्ने छ,’ सभामुख अर्यालले कान्तिपुरसँग भने ।
‘ सरकारले लगानी सम्मेलनका लागि केही अध्यादेश ल्याउनैपर्ने भएको जानकारी गराएको छ । त्यसलगत्तै संसद् अधिवेशन बोलाउने भन्ने छ ,’ सभामुख डीपी अर्याल। कानुनमन्त्री गौतमले पूर्वाधार सम्मेलनलाई सहजीकरण गर्न अत्यावश्यक कानुन मात्र अध्यादेशमार्फत ल्याउन लागिएको बताइन् । ‘पूर्वाधार सम्मेलनमा सोकेस गर्ने आयोजना अगाडि बढाउन कति कानुनले बाधा पुर्याउँछ भनेर अध्ययन गरिरहेका छौं । त्यस्ता व्यवस्था अध्यादेशमार्फत संशोधन गर्छौं,’ मन्त्री गौतमले भनिन्, ‘त्यसपछि संसद् अधिवेशन बोलाउने सरकारको तयारी छ ।’
संघीय संसद्को बजेट अधिवेशन १६ असोजमा अन्त्य भएको थियो । त्यसयता सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ८ अध्यादेश सिफारिस गरेकामा पाँच वटा मात्र जारी भएका छन् । यसबीचमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएका छन् ।
सरकारले सिफारिस गरेका प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष विचाराधीन छ । मन्त्रिपरिषद्को ४ मंसिरको बैठकले सिफारिस गरेको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि राष्ट्रपति कार्यालयले जारी गरेको छैन ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले कानुन निर्माणका लागि नै संसद् भएकाले अधिवेशन बोलाएर अगाडि बढ्नुपर्ने बताए । संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे सरकारले विपक्षी दलहरूसँग छलफल नगरेको पनि उनको भनाइ छ । ‘सभामुखले १५–१६ मंसिरदेखि हिउँदे अधिवेशन सुरु हुन्छ भन्नुभएको थियो । त्यसपछि केही कुरा भएको छैन,’ आङ्देम्बेले भने, ‘अधिवेशन बोलाउने बेलामा सरकारले अध्यादेशको कुरा गर्नु हुँदैन । सरकार संसदीय प्रक्रियाबाट जानुभन्दा पनि अन्यत्र ढंगबाट जानु संसदीय मर्यादा र लोकतन्त्रका लागि राम्रो होइन ।’
पूर्वाधार सम्मेलनका लागि ५९ ऐन संशोधनको तयारी भइरहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए । कान्तिपुर मिडिया ग्रुपले गत शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व ः सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा वाग्लेले पूर्वाधार सम्मेलनका लागि आवश्यक कानुन संशोधनको तयारीमा सरकार रहेको बताएका हुन् ।
सरकारले लगानी सम्मेलन गर्न लागेको र त्यसका लागि अध्यादेश ल्याउनुपर्ने आवश्यकता रहेको भन्नेबारे प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै छलफल नगरेको नेता आङ्देम्बेले बताए । ‘संसदीय उच्चस्तरीय समिति गठन गरेर धेरै कुराको अनुसन्धान गर्नुपर्ने आवश्यकता छ, त्यसैले अधिवेशन चाँडो बोलाउनुपर्ने हुन्छ,’ उनले भने । रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले संसद् अधिवेशन ढिलो बोलाउनुपर्ने कारण नरहेको बताए । ‘अधिवेशन बोलाउने सन्दर्भमा पार्टीका तर्फबाट हालसम्म केही छलफल भएको छैन । सरकारले बोलाउनुपर्ने हो । सभामुखले पनि पहलकदमी लिइरहनुभएको होला,’ खरेलले भने ।
संसद् अधिवेशन बोलाएर न्यायालय शुद्धीकरणको प्रक्रिया अगाडि बढाउनुपर्ने कतिपय मन्त्री र रास्वपा नेताहरूको भनाइ छ । रास्वपाको १४ कात्तिकमा बसेको सचिवालय बैठकले न्यायालय शुद्धीकरणका लागि निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको थियो । ‘कतिपय न्यायाधीशहरू नै मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाहरूले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्न खडा गरेका
छन् । यसले न्यायालयको शुद्धीकरण र जवाफदेहिताका पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि उठाउँदै आएको एजेन्डालाई थप पुष्टि गरेको छ । न्यायालयभित्रका यी विकृतिलाई विधिसम्मत तवरले निरूपण गर्न संसद्बाटै निर्णायक कदम चाल्न र यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशित गरिन्छ,’ रास्वपा सचिवालयको निर्णय थियो ।
जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।