प्रेस काउन्सिलसम्बन्धी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश करिब तीन सातादेखि राष्ट्रपति कार्यालयमा छ ।
काठमाडौँ — सरकारले सिफारिस गरेका दुई अध्यादेश करिब तीन सातादेखि राष्ट्रपति कार्यालयमा ‘होल्ड’ गरिएका छन् । मन्त्रिपरिषद्ले १७ कात्तिकको निर्णयबाट सिफारिस गरेका प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपतिले ‘होल्ड’ गरेका हुन् ।
मन्त्रिपरिषद्बाट निर्णय भएको तीन दिनपछि ती अध्यादेश शीतल निवास पठाइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेल निकट स्रोतका अनुसार दुवै अध्यादेश तत्काल जारी नगर्नुका पछाडि केही सैद्धान्तिक विषय छन् भने अध्यादेशमा समावेश कतिपय विषयमा चासो छ ।
संविधानको धारा ११४ को उपधारा १ मा ‘संघीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’ भनिएको छ । राष्ट्रपतिले कति समयसम्म जारी नगरी अध्यादेश राख्न मिल्छ भन्नेबारे संविधानमा उल्लेख छैन । दुई अध्यादेश ‘होल्ड’ भइरहेकै बेला सरकारले भने जेन–जी आन्दोलनबारे सहमति कार्यान्वयनसम्बन्धी अर्को अध्यादेश पनि ४ मंसिरमा सिफारिस गरेको छ ।
सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिबाट जारी नहुने भन्ने नै हुँदैन, लामो सार्वजनिक बिदा परेकाले वर्किङ डे पुगेको छैन होला, राष्ट्रपतिले अध्ययन गरिराख्नुभएको होला – सोविता गौतम , कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिबाट जारी नहुने भन्ने नै नरहेको बताउँछिन् । ‘अध्यादेश सिफारिस गरेपछि लामो सार्वजनिक बिदा परेकाले वर्किङ डे पुगेको छैन होला । राष्ट्रपतिले अध्ययन गरिराख्नुभएको छ होला । यस विषयमा थप जानकारी आएको छैन,’ उनले कान्तिपुरसँग भनिन् । राष्ट्रपतिका कानुनी सल्लाहकारसमेत रहेका वरिष्ठ अधिवक्ता बाबुराम कुँवर राष्ट्रपति कार्यालयले अध्यादेशको अध्ययन गर्न नै बाँकी रहेको बताउँछन् । ‘एक, दुई दिनभित्र हामी हेर्छौं, त्यसपछि नै यसमा के छ भन्नेबारेमा जानकारी हुन्छ,’ उनले भने ।
अध्यादेश ल्याउनुको औचित्य र त्यसमा समेटिएका विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर प्रस्ट पार्ने परम्परा नयाँ सरकार आएसँगै टुटेका कारण पनि समस्या उत्पन्न भएको राष्ट्रपति कार्यालयका अर्का एक अधिकारीले बताए । ‘यस्ता विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटेर कुराकानी हुन सकेको छैन । यसले पनि दुई निकायबीच असमझदारी रहेजस्तो देखिएको छ,’ उनले भने ।
सरकारले सिफारिस गरेको एक अध्यादेशमा पर्यटन तथा नागरिक उड्डयनमा पदाधिकारी नियुक्तिसँग सम्बन्धित विषय छ भने अर्को अध्यादेश प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँगको जोडिएको छ । राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्तो गम्भीर विषयमा अध्यादेशबाट कानुन ल्याउनु सैद्धान्तिक रूपमा पनि राम्रो अभ्यास नभएको बताउने गरेका छन् ।
पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघका पदाधिकारीले उक्त अध्यादेश जारी गर्न नहुने बताउँदै आएका छन् । २० कात्तिकमा महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा शीतल निवास गएको पत्रकार र सरोकारको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन पार्ने नियतबाट सिफारिस गरिएको तर्क गर्दै अध्यादेश जारी नगर्न राष्ट्रपति पौडेललाई आग्रह गरेका थिए । राष्ट्रपतिले संविधानविद्हरूसँग छलफल गरेर निर्णय लिने बताएका थिए ।
पत्रकार महासंघकी अध्यक्ष शर्माले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश ल्याउनुको उद्देश्य नै गलत रहेको टिप्पणी गरिन् । ‘यससम्बन्धी कानुनको मस्यौदामाथि सरोकारवालासँग छलफल चलिरहेको छ । त्यसलाई संसद् लगी बृहत् छलफल गराएर पारित गर्नुको साटो सबैलाई बाइपास गरेर अध्यादेश ल्याउनु पर्नाको कारण के हो ?,’ उनले भनिन्, ‘प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने नियतबाहेक यसमा अर्को उद्देश्य नभएकाले हामीले राष्ट्रपतिलाई रोक्न भनेका हौं ।’
अध्यादेशमा मुख्य प्रश्न नियमनको दायरा र काउन्सिलको अधिकार विस्तारलाई लिएर छ । परम्परागत सञ्चारमाध्यममा काम गर्ने पत्रकारसँगै अनलाइन तथा सामाजिक सञ्जालमार्फत पत्रकारिता गर्ने कन्टेन्ट क्रिएटर, प्रस्तोता र इन्फ्लुएन्सरलाई समेत आचारसंहिताको दायरामा ल्याउन खोजिएको छ । सार्वजनिक रूपमा आएका सामग्रीमा आचारसंहिता उल्लंघन भएको देखिए उजुरी नपरे पनि काउन्सिलले आफैं छानबिन गर्न सक्ने, गल्ती गर्ने सञ्चारमाध्यमलाई भूलसुधार तथा क्षमायाचना गराउन सक्ने र सरकारी सुविधा रोक्न सिफारिस गर्न सक्ने अधिकारसमेत अध्यादेशमा प्रस्ताव गरिएको छ ।
अर्को अध्यादेशमा नेपाल वायुसेवा निगमको पदाधिकारी नियुक्ति प्रक्रियासम्बन्धी कानुन संशोधन गर्न खोजिएको छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा १२ मा रहेको अस्थायी नियुक्तिसम्बन्धी व्यवस्था छ । त्यसमा महाप्रबन्धक वा सञ्चालक बिरामी परी, बिदामा बसी वा अन्य कारणले केही समय निगमको काम गर्न नसक्ने अवस्थामा मात्रै सरकारले अस्थायी नियुक्ति गर्न सक्ने भनिएको छ । तर अध्यादेशमा पदाधिकारी बिरामी भएर अनुपस्थित भएको अवस्थामा मात्रै नभई पद नै रिक्त रहेको अवस्थामा पनि स्थायी नियुक्ति नहुँदासम्म सरकारले अस्थायी नियुक्ति गर्न सक्ने व्यवस्था राखिएको छ ।
सरकारले अध्यादेश ल्याउनुको कारणमा निगमको नेतृत्व र नियुक्तिसम्बन्धी पछिल्लो घटनाक्रम बुझ्नुपर्ने हुन्छ । निगमको महाप्रबन्धक नियुक्तिका लागि गत वर्ष खुला प्रतिस्पर्धाबाट प्रक्रिया अघि बढाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको संयोजकत्वमा गठित छनोट समितिले १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । निर्वाचन आचारसंहिता लागू भएको कारण नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले १५ माघ २०८२ मा प्रक्रिया रोक्न अन्तरिम आदेश दियो । त्यसपछि नियुक्ति प्रक्रिया टुंगिन सकेको छैन । सरकारले गत ३० असारमा महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको समेत काम गर्ने गरी नियुक्त गरेको थियो । ६५ वर्ष उमेर नाघेको आधारमा सर्वोच्च अदालतले गत ४ भदौमा श्रेष्ठको नियुक्ति बदर गरिदियो । त्यसपछि १९ भदौमा मन्त्रालयले जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको थियो ।
महाप्रबन्धक नियुक्तिका लागि २०८२ मा अघि बढाइएको प्रक्रियासम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै सरकारले अस्थायी पदपूर्ति गर्नकै लागि साविकको ऐनमा संशोधन गर्न खोजेको हो । निर्वाचनको आचारसंहिताका कारण पदपूर्ति रोकिए पनि कानुनअनुसार प्रक्रिया पुनः अघि बढाउन अवरोध छैन । यस्तो सामान्य विषयमा पनि अध्यादेश ल्याएर संविधानमा भएको व्यवस्थाको अवमूल्यन गर्न खोजिएको तर्क शीतल निवासको छ ।
संविधानले कार्यकारी प्रमुखलाई अध्यादेश ल्याउन सक्ने अधिकार दिए पनि त्यसलाई संसद् छल्ने माध्यम बनाउन नमिल्ने संविधानविद्को तर्क छ । तत्काल केही गर्न कानुन आवश्यक परे संविधानले अध्यादेश ल्याउन सुविधा दिएको चन्द्रकान्त ज्ञवाली बताउँछन् । अध्यादेश ल्याउँदा त्यसको औचित्य र आवश्यकता भने पुष्टि हुनुपर्ने उनको भनाइ छ । दीर्घकालीन प्रभाव पार्ने तथा नीतिगत महत्त्वका कानुन निर्माण संसद्बाटै हुनुपर्नेमा उनले जोड दिएका छन् ।
सरकारले सिफारिस गरिसकेपछि राष्ट्रपतिले अध्यादेश अनिश्चितकालसम्म रोकेर राख्न भने नमिल्ने ज्ञवालीको भनाइ छ । संविधानको गम्भीर उल्लंघन भएको देखिए राष्ट्रपतिले आवश्यक परामर्श भने लिन सक्ने उनले बताए । ‘राष्ट्रपतिले कार्यकारी अधिकार प्रयोग गर्ने होइन । राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्ने हो, कार्यकारीको जस/अपजसको भारी राष्ट्रपतिले बोक्ने होइन,’ उनले भने, ‘अध्यादेश जारी भएपछि त्यसलाई संसद्ले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्छ । संसद्बाट त्यसले वैधता नपाउन पनि सक्छ । त्यसबाहेक अध्यादेश संविधान र संविधानवादअनुकूल भए/नभएको विषयमा न्यायालयबाट पनि परीक्षण हुन सक्छ । त्यसैले राष्ट्रपतिले रोक्ने होइन ।’
दुईतिहाइ नजिकको बहुमत प्राप्त सरकारलाई संसद्बाटै कानुन ल्याउन कुनै समस्या छैन । तर शाहको नेतृत्वमा सरकार गठन भएयता १३ अध्यादेश जारी भइसकेका छन् । त्यसबाहेक तीन अध्यादेश सिफारिस गरिएका छन् ।
कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।