पोटरले दुई गोल गरेपछि एभरटनका कप्तान जेम्स टारकोवस्की रातो कार्डमा बाहिरिए, जबकि जानेल्ट र काराभाल्होले गोल थप्दै ब्रेन्टफोर्डलाई ११ खेलमा १७ अंक दिलाए।
काठमाडौँ — केन लेविस–पोटरले गरेको दुई गोलको मदतले ब्रेन्टफोर्डले सोमबार दस खेलाडीमा सीमित एभरटनलाई ४–० ले हराएको छ र इंग्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लेको छ । पोटरको सुरुआती दुई गोलपछि एभरटनका कप्तान जेम्स टारकोवस्कीले रातो कार्डमा मैदान छाडे ।
त्यसपछि भिटाली जानेल्ट र फाबियो काराभाल्होले ब्रेन्टफोर्डका लागि एक एक गोल थपे । अब शनिबारको खेलमा ब्रेन्टफोर्ड खराव लयमा रहेको म्यानचेस्टर युनाइटेडको भ्रमणमा निस्कनेछ । अहिलेको जितले ब्रेन्टफोर्डको ११ खेलबाट १७ अंक भएको छ ।
एभरटन भने समान ११ खेलबाट १६ अंकमा नवौं स्थानमा छ । यो खेल जितेको भए एभरटनसामु पनि पाँचौं स्थानमा उक्लिने अवसर थियो । एभरटनले भने आइतबार हुने मर्सिसाइड डर्बीमा लिभरपुलको सामना गर्दैछ ।