विदेशी खेलाडीको आकर्षण, टिकटको उच्च माग र बढ्दो ब्रान्ड भ्यालुले प्रतियोगिताको व्यावसायिक सफलता देखाए पनि पिच, अम्पायरिङ, पूर्वाधार र व्यवस्थापनमा प्रश्न उठेका छन् । एनपीएलको तेस्रो सिजनका उपलब्धि, कमजोरी र सुधारका योजनाबारे पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं :
काठमाडौँ — तेस्रो सिजनमा नेपाल प्रिमियर लिग (एनपीएल) को आम्दानी डेढ अर्ब रुपैयाँ पुगेको क्यानको दाबी छ । विदेशी खेलाडीको आकर्षण, टिकटको उच्च माग र बढ्दो ब्रान्ड भ्यालुले प्रतियोगिताको व्यावसायिक सफलता देखाए पनि पिच, अम्पायरिङ, पूर्वाधार र व्यवस्थापनमा प्रश्न उठेका छन् । एनपीएलको तेस्रो सिजनका उपलब्धि, कमजोरी र सुधारका योजनाबारे हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं :
तेस्रो सिजनमा एनपीएलको आम्दानी कति बढ्यो ?
पहिलो सिजनमा नेपाल क्रिकेट संघ (क्यान) को आम्दानी २७ करोड थियो र दोस्रोमा ४७ करोड पुग्यो । तेस्रो सिजनमा क्यानले डेढ अर्ब आम्दानी भएको बताएको छ । प्रायः सबै खेलको टिकट सोल्ड आउट भयो र फाइनलका लागि मात्रै २ लाख मानिसले आवेदन दिएको दाबी छ । राम्रा विदेशी खेलाडी आएपछि प्रतियोगिताको ब्रान्ड भ्यालु पनि बढ्यो । आगामी सिजनमा मिडिया राइट यो सिजनको ३३ करोडभन्दा बढ्ने पक्का मानिएको छ ।
डिआरएस (डिजिटल रिभ्यू सिस्टम) ले खेलमा के फरक पार्यो ?
यो सिजनमै पहिलो पटक डिआरएस आयो र अम्पायरका धेरै निर्णय सच्चिए । लिगको पहिलो ४ दिनमा लिइएका २२ रिभ्युमध्ये ११ निर्णय उल्टिए । विराटनगरका लोकेश बमलाई एलबीडब्लू आउट दिइएकोमा रिभ्युपछि निर्णय उल्टियो र उनले ८७ रनको इनिङ्स खेले । सुरुका केही खेलमा समस्या देखिए पनि समग्रमा टिमहरूले यसको सही प्रयोग गरे । प्रविधिमाथि विश्वास कायम राख्न प्रविधि र त्यसको सञ्चालन दुवै भरपर्दो हुनुपर्छ भन्ने पाठ पनि यसले सिकायो ।
तीनवटा पिच प्रयोगमा आएका थिए र ती नवनिर्मित जस्तै थिए । टी-२० पिच तयार पार्न समय पुगेको थिएन । मौसमले पनि बाधा पुर्यायो । ३२ खेलमध्ये दुई सयभन्दा बढी स्कोर तीन पटक मात्र बन्यो र ९ खेलमा १२० भन्दा कम स्कोर भयो । ब्याटरले खुलेर रन बटुल्न सकेनन् र पावर-प्लेमा रनभन्दा विकेट बढी खसे । जेम्स निसम र चितवनका कप्तान सिकन्दर राजालगायतले आलोचना गरे । च्याम्पियन सुदूरपश्चिमका प्रशिक्षक मिसबह उल-हकले चाहिँ ब्याटरले नै राम्रो खेलेनन् भने ।
स्वदेशी र विदेशी खेलाडीमा कसले बढी प्रभाव पार्यो ?
ब्याटिङमा विदेशी खेलाडी हावी भए । युवराज सामरा, जर्ज मुन्सी र कामिल मिसराले शतक बनाए तर कुनै नेपालीले शतक बनाएनन् । कुशल भुर्तेलको ९९ रनको इनिङ्स भने सम्झनलायक रह्यो । सर्वाधिक रन युवराज (२९४) ले बनाए र लोकेश बम (२४२) दोस्रो भए । बलिङमा भने नेपाली खेलाडी अगाडि रहे । चितवनका रिजन ढकाल सबैभन्दा बढी विकेट लिने भए र कमल सिंह ऐरी तेस्रो भए । चितवन, पोखरा र जनकपुरले विदेशी खेलाडीलाई कप्तान बनाउनुलाई नेपाली खेलाडीको साख गुमेको संकेतका रूपमा हेरिएको छ ।
क्यानको व्यवस्थापनमा के समस्या देखियो र अब के सुधार हुँदैछ ?
टिकटको मागअनुसार रंगशालाको क्षमता पुगेन । ई-टिकटलाई फिजिकल बनाउने ठाउँ गेटभन्दा धेरै टाढा थियो । खानेकुरा (विशेषगरी शाकाहारी), पानी र शौचालयमा पानीको अभाव भयो। वर्षामा मैदान बाहिर हिलो भयो र बाहिर सामान बेच्न पनि दिइएन । विराटनगर र सुदूरपश्चिमको खेल राति ९ बजेपछि खेलाइँदा विवाद भयो र सुदूरपश्चिम खेल्न चाहँदैनथ्यो । सुधारका लागि छैटौँ सिजनदेखि होम एन्ड अवे प्रणाली ल्याउने तयारी छ। सरकारले आठवटै क्लबका लागि फ्लडलाइटसहितका रंगशाला बनाइदिने योजना बनाएको छ, जसमा फाप्लाको निर्माण अघि बढिसकेको छ ।
विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।