काठमाण्डौ । कुरियरमार्फत विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल भन्सार कार्यालयअन्तर्गत डिल्लीबजारस्थित वैदेशिक हुलाक शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कुरियर कम्पनीमार्फत विभिन्न सामान विदेश पठाउने क्रममा सेवाग्राहीसँग घुस माग्ने गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा आयोगको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
आयोगका अनुसार अनुसन्धानबाट न्यौपाने र पुडासैनीले आपसी मिलेमतो तथा पूर्वयोजनाअनुसार सेवाग्राहीलाई विभिन्न बहाना बनाएर रकमको मोलमोलाइ गरी ९ हजार ५०० रुपैयाँ घुस लिएको पुष्टि भएको छ।
आफ्नो पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गरी सेवाग्राहीबाट गैरकानुनी रकम असुलेको निष्कर्षसहित उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा दुवै जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।