काठमाण्डौ । वास्तुशास्त्रसम्बन्धी अध्ययन, विश्लेषण र परामर्शलाई प्रविधिसँग जोड्ने उद्देश्यले संस्कार एकेडेमीले ‘संस्कार वास्तु’ नामक सफ्टवेयर सार्वजनिक गरेको छ।
एकेडेमीले नेपालमै पहिलोपटक वास्तु विश्लेषणसम्बन्धी सफ्टवेयर विकास गरी सार्वजनिक गरेको दाबी गरेको हो।
काठमाण्डौको बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा मंसिर ४ गते आयोजित विशेष कार्यक्रममा सञ्चारकर्मीहरूको उपस्थितिमा सफ्टवेयर सार्वजनिक गरिएको एकेडेमीले जनाएको छ।
एकेडेमीका अनुसार उक्त सफ्टवेयरमार्फत वास्तुशास्त्रका विभिन्न पक्षको विश्लेषण गरी व्यावसायिक परामर्श प्रतिवेदन तयार गर्न सकिनेछ।
‘संस्कार वास्तु’ सफ्टवेयरमा वास्तुशास्त्रका १६ दिशात्मक क्षेत्र, ३२ प्रवेशद्वार, ४५ वास्तु देवता ऊर्जा क्षेत्र तथा मर्मस्थानको विश्लेषण गर्न सकिने सुविधा रहेको एकेडेमीले जनाएको छ।
त्यस्तै, दिशागत अवस्था र वास्तुशास्त्रीय मान्यताअनुसारका ऊर्जा क्षेत्रको मूल्यांकन गरी व्यावसायिक प्रतिवेदन तयार गर्न सकिने कम्पनीको भनाइ छ।
ब्राउजरमा आधारित यो सफ्टवेयर प्रयोग गर्न कम्प्युटरमा छुट्टै प्रोग्राम इन्स्टल गर्नुपर्ने छैन।
एकेडेमीले परम्परागत वास्तुशास्त्रीय अध्ययनलाई डिजिटल प्रणालीमार्फत थप व्यवस्थित, सहज र व्यावसायिक बनाउने उद्देश्यले सफ्टवेयर विकास गरिएको जनाएको छ।
यसैबीच संस्कार एकेडेमीले मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन गरेको तीनदिने आवासीय ‘वास्तु गुरु कार्यकारी पाठ्यक्रम’ सम्पन्न गरेको छ।
उक्त प्रशिक्षणमा सहभागी ७१ जनाले सफलतापूर्वक पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रशिक्षणका क्रममा आवासीय, व्यावसायिक तथा औद्योगिक भवनको वास्तु विश्लेषणसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
त्यस्तै, नेपालमा पहिलोपटक लेचर एन्टेना (Lecher Antenna) र औरा स्क्यानर (Aura Scanner) को प्रयोगसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको एकेडेमीको दाबी छ।
नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्य
संस्कार एकेडेमीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक आचार्य राजाबाबु शाहले नेपालमै वास्तु तथा अंकशास्त्रसम्बन्धी गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले संस्था सञ्चालन गरिएको बताए।
उनका अनुसार एकेडेमीको लक्ष्य नेपालमा यस क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुका साथै नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु हो।
नेपाली ज्ञान, सीप र क्षमतालाई विश्व बजारमा चिनाउने उद्देश्यसहित प्रशिक्षण र प्रविधिको विकासमा काम गरिरहेको शाहले बताए।
उनले आधुनिक प्रविधिको प्रयोगमार्फत वास्तु परामर्शलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सकिने विश्वास व्यक्त गरे।
संस्कार एकेडेमीले वास्तुशास्त्र तथा अंकशास्त्रसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण र व्यावसायिक परामर्शका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
एकेडेमीका अनुसार नयाँ सफ्टवेयर र प्रशिक्षण कार्यक्रमले वास्तु परामर्शसम्बन्धी सेवा विस्तार तथा यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।