सरकारले समयमै मल र बीउ उपलब्ध गराउन नसक्ने, किसानले सीमापारिबाट एक बोरा कृषि सामग्री ल्याउँदासमेत सुरक्षाकर्मीको दुर्व्यवहार सहनुपर्ने बाध्यता कहिले अन्त्य हुने ?
रौतहटसँग जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा देखिएको यो विरोधाभासले सीमा सुरक्षाको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
केही महिनाअघि किसानलाई मलखाद र बीउ ल्याउँदा अनावश्यक दुःख नदिन सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले सार्वजनिक रूपमै निर्देशन दिएका थिए।
किसानले भारतबाट एक बोरा मल ल्याउँदा अवरोध नगर्न सीमा सुरक्षा पोस्ट (बीओपी)हरूलाई निर्देशन दिइएको उनको भनाइ थियो। मल ल्याउने क्रममा किसानलाई दुःख दिएको जानकारी आए तत्काल कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो।
रौतहटको गढीमाई नगरपालिका–३ का चार किसानले भारतबाट एक–एक बोरा गहुँको बीउ ल्याउँदा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएको छ।
यस घटनाले माथिल्लो तहको निर्देशन सीमा क्षेत्रमा कार्यान्वयन भइरहेको छ कि छैन भन्ने प्रश्न उठाएको छ।
आइतबार रौतहटको सरमुजवा बीओपीअन्तर्गत पर्ने बंकुल नाकाको बसिर चोक हुँदै घर फर्किरहेका गढीमाई नगरपालिका–३, गम्हरियाका गंगा राउत, जादोलाल ठाकुर, बिन्देश्वर राउत र केदार राउतलाई सशस्त्र प्रहरीले रोकेको थियो। उनीहरू भारतको घोडासहनमा रहेका आफन्तको घरमा छठपूजाको प्रसाद पुर्याएर फर्किने क्रममा खेतमा छर्नका लागि एक–एक बोरा गहुँको बीउ खरिद गरेर ल्याउँदै थिए।
तर, खेतमा छर्नका लागि ल्याइएको बीउ उनीहरूको घरसम्म पुग्न पाएन। सशस्त्र प्रहरीले चारै जनाबाट चार बोरा गहुँको बीउ नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ।
‘आफन्तलाई छठको प्रसाद पुर्याएर फर्किँदा तस्करको आरोप खेप्नुपर्यो’
पीडित किसान केदार राउतका अनुसार आफन्तलाई छठको प्रसाद पुर्याएर फर्किने क्रममा कोशेलीका रूपमा गहुँको बीउ ल्याउँदा सीमामा खटिएका सशस्त्र प्रहरीले अपमानजनक शब्द प्रयोग गर्दै उनीहरूलाई तस्करको संज्ञा दिएर बीउ खोसेका हुन्।
‘मलखाद र बीउ ल्याउँदा सुरक्षाकर्मीले दुःख दिँदैनन् भन्ने सुनेका थियौँ। त्यसैले दिउँसै खुला नाकाबाट ल्याइरहेका थियौँ। हामीलाई तस्कर भन्दै अपमान गरियो र बीउसमेत खोसियो,’ अर्का पीडित किसान जादोलाल ठाकुरले दुःखेसो सुनाए।
भारतको घोडासहन बजारबाट पाँच कठ्ठा खेतमा छर्नका लागि गहुँको बीउ खरिद गरेर ल्याउँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले समेत कुनै अवरोध नगरेको अवस्थामा आफ्नै देशका सुरक्षाकर्मीबाट अपमानित हुनुपरेको गंगा राउतको गुनासो छ।
‘भारतीय पक्षले आफन्तको घरबाट फर्किंदा ल्याएको कोशेलीमा कुनै अवरोध गरेन। आफ्नै देशका सुरक्षाकर्मीले हामीलाई तस्करको आरोप लगाएर बीउ खोसे। खेतीका लागि ल्याएको बीउसमेत गुमाउनुपर्दा निकै दुःख लागेको छ,’ गंगाले भने।
बीओपी इन्चार्ज भन्छन्– तस्करी गरेर ल्याएको बीउ नियन्त्रणमा लियौँ
सशस्त्र प्रहरी बल बीओपी सरमुजवाका इन्चार्ज प्रहरी निरीक्षक अच्युत सुवेदीले तस्करी गरेर ल्याउँदै गरेको बीउ नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको बताए। दिउँसै चार जनाले गहुँको बीउ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले स्वीकार गरेका छन्।
खेती प्रयोजनका लागि एक–एक बोरा बीउ ल्याइरहेका किसानलाई तस्कर ठहर गर्ने आधार के थियो भन्ने विषयमा स्थानीयस्तरमा प्रश्न उठेको छ। एआईजीको सार्वजनिक निर्देशन र बीओपीको कामकारबाहीबीच देखिएको विरोधाभासले सशस्त्र प्रहरीको कार्यशैलीमाथि थप बहस सिर्जना गरेको छ।
राति तस्करी निर्वाध, दिउँसो किसानमाथि कडाइको आरोप
स्थानीय बासिन्दाका अनुसार रौतहट र सर्लाहीका विभिन्न सीमा नाकाबाट रातिको समयमा तस्करी हुने गरेको छ। खेतीपातीका लागि आवश्यक मल र बीउ ल्याउने सर्वसाधारण किसानले भने दिउँसै सास्ती खेप्नुपरेको उनीहरूको आरोप छ।
रौतहटका बंकुल, रामपुरखाप, जयनगर, लतमरी, मठिया, महुलिया, औरैया, बन्जरहा, महादेवपट्टी र बेलबिछवा नाकाबाट तस्करीका सामान भित्रिने गरेको स्थानीयको दाबी छ। सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेको आरोपसमेत स्थानीयले लगाउँदै आएका छन्।
त्यस्तै, सर्लाहीको बलरा, छनकी, मधुवनी, अर्नाहा, छतौना, बहादुरपुर, फेनहार, भाडसर, मलंगवा, त्रिभुवननगर, संग्रामपुर, पर्सा र नारायणपुर नाकाबाट समेत रातिको समयमा तस्करी हुने गरेको स्थानीयको भनाइ छ।
मल र बीउको अभावले किसान दोहोरो मारमा
नेपाल सरकारले खेतीपातीको समयमा पर्याप्त मल र बीउ उपलब्ध गराउन नसक्दा सीमावर्ती क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुन बाध्य छन्। तर, भारतबाट आवश्यक कृषि सामग्री खरिद गरेर ल्याउँदा सुरक्षाकर्मीबाट दुःख पाउने प्रवृत्तिले किसान थप निराश बनेका छन्।
गत जेठमा भारतबाट छ बोरा मल ल्याउने क्रममा सर्लाही बलराका नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरू करिब ३८ दिन जेल बसेर छुटेका थिए। उक्त घटनाले पनि सीमावर्ती किसानले भोग्नुपरेको जोखिम उजागर गरेको छ।
उखु किसान संघका अध्यक्ष अशोक यादवले सरकारले समयमै मल र बीउ उपलब्ध गराउन नसक्ने तर भारतबाट खरिद गरेर ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने प्रवृत्तिले किसानमा निराशा बढाएको बताए।
किसानका लागि एक बोरा बीउ केवल व्यापारिक सामान होइन, त्यो उसको खेत, परिवारको जीविका र वर्षभरिको श्रमसँग जोडिएको हुन्छ। खेती गर्ने उद्देश्यले ल्याइएको बीउलाई तस्करीको सामान ठहर गर्दै किसानलाई अपमानित गर्नुले सीमा सुरक्षा र नागरिकमैत्री व्यवहारबीचको सन्तुलनमाथि प्रश्न उठाएको छ।
सीमा सुरक्षाको नाममा वास्तविक तस्करी नियन्त्रण गर्नु राज्यको दायित्व हो। तर, तस्कर पहिचान गर्ने नाममा सर्वसाधारण किसानलाई नै प्रताडित गर्ने र अवैध कारोबार नियन्त्रणमा प्रभावकारी हुन नसक्ने हो भने सीमा सुरक्षाको औचित्यमाथि नै प्रश्न उठ्नेछ।
अब प्रश्न उठ्छ– एक बोरा गहुँको बीउ ल्याउने किसान तस्कर हुन् भने सीमावर्ती बजारसम्म रातारात पुग्ने तस्करीका सामानमाथि कारबाही कसले गर्ला ?
प्रकाशित: ७ मंसिर २०८३ १८:१५ सोमबार