प्रधानमन्त्री वालेन्द्र शाहले विराटनगर किंग्सका लागि बैजनाथपुर रंगशालालाई फ्लडलाइटसहित विकास गर्ने घोषणा गरेपछि २८ वर्षदेखि अधुरो परियोजनामा नयाँ आशा पलाएको छ।
विराटनगर — करिब २८ वर्षदेखि निर्माणाधीन विराटनगर महानगरपालिका-१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाले पूर्णता पाउने आशा फेरि जागेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)का क्लबलाई घरेलु मैदान उपलब्ध गराउने योजनासहित प्रधानमन्त्री वालेन्द्र शाहले बैजनाथपुरस्थित रंगशालालाई विराटनगर किंग्सको मैदानका रूपमा विकास गर्ने घोषणा गरेपछि अधुरो खेल पूर्वाधार निर्माणले गति लिने आशा देखिएको हो । प्रधानमन्त्रीले एनपीएल फाइनलका दिन सामाजिक सञ्जालमार्फत आठवटै एनपीएल क्लबका लागि फ्लडलाइटसहितका रंगशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाउने जनाएका छन् ।
२०५५ सालमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने लक्ष्यसहित जग्गा अधिग्रहण गरी सुरु गरिएको गिरिजाप्रसाद क्रिकेट रंगशाला अहिले पनि पूर्ण संरचनामा परिणत हुन सकेको छैन । १५ बिघा ५ कठ्ठा जग्गा खरिद गरेर अघि बढाइएको परियोजनामा सामान्य घेराबार, सानो दर्शक प्यारापिट र केही आधारभूत संरचना मात्रै बनेका छन् । बहुआयामिक खेल परिसर बनाउने योजना र चुनावी प्रतिबद्धता लामो समयदेखि दोहोरिए पनि मैदानले अपेक्षित स्वरूप पाउन सकेको छैन ।
प्रधानमन्त्री शाहको पछिल्लो घोषणाले रंगशालालाई एनपीएलको घरेलु मैदानका रूपमा विकास गर्ने योजनासँग जोडेको छ । विराटनगर किंग्सका लागि बैजनाथपुर रंगशाला तोकिएको छ । सरकारको योजनाअनुसार क्लबका घरेलु मैदानलाई फ्लडलाइटसहित विकास गरेर एनपीएलको छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने लक्ष्य छ । फाप्ला रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र बाँकी रंगशालाको प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाइने प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
विराटनगरका उद्यमी तथा विराटनगर किंग्सका सहमालिक सुयशराज प्याकुरेलले लामो समयदेखि निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि लागि प्रधानमन्त्रीले गरेको घोषणा सुखद् समाचार रहेको बताए । भने,‘प्रधानमन्त्रीले घोषणा गरिसकेपछि आशा पलाएको छ । हामी उत्साहित बनेका छौं।’
तर, बैजनाथपुरमा क्रिकेट प्रतियोगिता नियमित आयोजना गर्न सकिने पूर्वाधार तयार पार्न अझै ठूलो लगानी र निर्माण कार्य आवश्यक छ । मैदानको चारैतिर दर्शक प्यारापिट, पेभिलियन, खेलाडीका लागि आवश्यक भवन, प्रशासनिक सचिवालय र व्यवस्थित घेराबार निर्माण हुन बाँकी छ । निर्माण सुरु गरिएका कतिपय संरचना अधुरै छन् भने बनेका संरचना पनि संरक्षण तथा मर्मत अभावमा जीर्ण हुँदै गएका छन् ।
रंगशालाको निर्माण पूरा गर्ने विषय मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी राजनीतिमा पनि पटक–पटक उठ्दै आएको छ । कांग्रेसका तत्कालीन उम्मेदवार महेश आचार्यदेखि वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीसम्मले रंगशालालाई बहुआयामिक खेल परिसरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले समेत यसको स्तरोन्नति र निर्माण पूरा गर्ने विषयलाई चुनावी प्रतिबद्धतामा समेट्दै आएका छन् । तर, चुनावी घोषणामा प्राथमिकता पाएको रंगशालाको निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
रंगशालामा व्यवस्थापनका लागि छुट्टै कार्यालय छैन । नियमित हेरचाह गर्ने कर्मचारीसमेत छैनन् । स्थानीय सुकरेलाल सरदार र उनकी पत्नीले रंगशालाको सामान्य निगरानी गर्दै आएका छन् । रंगशालाभित्र विद्युत् सुविधा प्रभावकारी छैन । जडान गरिएका सोलार उपकरण संरक्षण अभावमा बिग्रिएका छन् । सरदार परिवार रंगशालाभित्रको अधुरो भवनमा टुकीको सहारामा बस्दै आएको छ ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले यो वर्ष रंगशालाको स्तरोन्नतिका लागि ५ करोड विनियोजन गरेको छ । प्रवक्ता सुशील बाँस्तोलाका अनुसार तर, संघ सरकारको गौरवको योजना रहेको यो रंगशालालाई प्रदेशलाई हस्तान्तरण नगरेसम्म उक्त वजेट खर्च गर्न मिल्दैन । रंगशालाको जग्गा समेत मोरङ जिल्ला खेलकुद विकास समितिको नाममा छ । ‘संघले हस्तान्तरण नगरेसम्म वजेट खर्च गर्नै मिल्दैन’, प्रवक्ता बाँस्तोला भन्छन् ।
प्रदेश खेलकुद वोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार प्रधानमन्त्री शाहले तीन वर्षभित्र फ्लडलाइटसहितको रंगशाला निर्माणको घोषणाले आशा पलाएको जनाए । भने,‘प्रधानमन्त्रीको घोषणाले आशा पलाएको छ । तर, यो आशा निरासामा नवदलियोस् ।’
विराटनगरको सहिद रंगशालाबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको बैजनाथपुर रंगशाला पर्याप्त जग्गा उपलब्ध हुँदाहुँदै पनि व्यवस्थित खेल पूर्वाधार बन्न नसकेको उदाहरण बनेको छ । २८ वर्षअघि सुरु भएको योजनाले अझै पूर्णता नपाउँदा सार्वजनिक लगानी, निर्माणको प्राथमिकता र खेल पूर्वाधार विकासमा सरकारी प्रतिबद्धताको कार्यान्वयनमाथि प्रश्न उठ्दै आएको छ । प्रधानमन्त्रीको पछिल्लो घोषणाले रंगशालाको निर्माण र स्तरोन्नतिका लागि नयाँ अवसर सिर्जना गरे पनि अब यसको प्रगति बजेट, निर्माण प्रक्रिया र कार्यान्वयनमा निर्भर हुने पूर्व क्रिकेटर रोशन बुढाथोकीले जनाए।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।
सुशीला पाठक कान्तिपुर टेलिभिजनमा कार्यरत छिन्